दाङमा बढ्यो कांग्रेसको चुनावी सरगर्मी, धमाधम उम्मेद्वारी घोषणा गर्दै नेताहरु


appharu

१४ असार २०७८, सोमबार ०९:२२ मा प्रकाशित

पालिका पत्र / दाङ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा दाङमा सो पार्टीको चुनावी सरगर्मी बढेको छ । कुनै बेलाका कांग्रेसका प्रभाबशाली नेता स्व.खुमबहादुर खड्काको गृहजिल्ला रहेको दाङमा कांग्रेसको राजनीतिलाई केन्द्रमा समेत अर्थपुर्ण रुपमा लिइन्थ्यो ।

खुमबहादुरको निधनपछि त्यो शक्ति जिल्लामा कमजोर रहेको आंकलन समेत गरिन थालेको छ । बिगतमा खुमबहादुरसंग लागेका धेरैजसो नेताहरु संस्थापन समूह पार्टी सभापती देउवाको पछि लागेपछि बिगतमा छुट्टै बलियो समूहमा रहेको जिल्लामा कमजोर बनेको बताइन्छ । तर, त्यो समूह छिन्न भिन्न नभइ सामूहिक नेतृत्वमा गएमा जिल्लाको राजनीतिक उथलपुथलमा बलियो बनेर आउने पनि त्यतिकै सम्भाबना छ ।
खुमबहादुर जिवित रहदासम्म यहाँ आफ्नो अनुकुलको सभापती बनाएर छाड्थे । अघिल्लो कांग्रेसको जिल्लाको चुनावमा खुमबहादुर आफै शक्तिमा रहेपनि गृह जिल्ला दाङमा देउवा समूहबाट कमलकिशोर घिमिरे र आफ्नो समूहबाट किर्तीबहादुर खड्का बीच भएको चुनाबमा सबै शक्ति लगाएर कीर्तिबहादुरलाई जिताइ छाडेका थिए ।

खुमबहादुरको निधन भएपछि उनको समूहको जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रमा नहुँदा उनको समूह कमजोर देखीएको हो । अहिले जिल्लाको राजनितिमा कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी हाबी भएका छन । केन्द्रमा कांग्रेस महामन्त्री शशांक कोइराला निकट रहेका गिरीको केन्द्रीय राजनीतिमा सिधै पहुँच देखिए पछि उनी खुमबहादुर पछिको दाङको र केन्द्रीय र राजनीतिमा आफुलाई बलियो बनाउन लागि परेका छन ।

गिरीको गृह जिल्ला दाङमा खुमबहादुर जस्तै जबरजस्त जिल्लाको नेतृत्व तहमा आउने चुनावमा आफ्नो पक्षको ल्याउन पुरै दबाव परेको छ । यद्यपी, गिरीले अधिवेशनको चर्चा चलिरहेको बेला जिल्लाको राजनितिमा मुख खोलेका छैनन् । केन्द्रको पार्टी राजनीतिमा नेता, कार्यकर्ताबाट पार्टीको सह–महामन्त्रीमा उठ्न सुझाव सल्लाह आएपनि आफुले सबैसंग सल्लाह गरेर नै उम्मेद्वारी टुङ्ग्याउने केही समय पहिले बताएका थिए ।

चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दाबी गर्न सुरु गरेका छन् । पार्टीका दाङ क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती भुपबहादुर डाँगीले सुरुमै आउने अधिबेशनमा आफ्नो जिल्ला सभापतिमा दाबी गरेका छन । पत्रकार सम्मेलनमा नै क्षेत्रिय सभापति डाँगीले नेपाली कांग्रेसको जिल्ला सभापति र घोराही उपमहानगरको मेयरमा फेरी पनि उठ्ने बताएका थिए ।

कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफु नै जिल्ला सभापतिका लागि उपयुक्त पात्र भएको जिकिर गर्दै जिल्ला सभापति पदमा सबैको सहयोगको अपेक्षा गरेको बताए । यस अघि दुई कार्यकाल क्षेत्रिय सभापति भएर निष्ठापूर्वक जिम्मेवारी वहन गरेको सबैलाई जगजाहेर भएको तर्क गर्दै अब जिल्ला सभापतिमा उठ्नु पर्ने बेला आएको उल्लेख गरे ।

गाउँ वडा तहसम्म पुगेर सबै नागरिकको मन विचार र उनीहरुको चाहना बुझेर नै आफु सभापतिका लागि उठ्न चाहेको बताए । यस्तै, यस अघि भएको स्थानीय तहको मेयर पदमा पनि उम्मेदवारी दिएका सभापति डाँगीले आउने स्थानीय तहको चुनावमा पार्टीले जिम्मेवारी दिए पुनः मेयर पदमा उठ्ने घोषणा गरे ।

अवको स्थानीय चुनावमा फेरी पनि तपाईको उम्मेदवारी रहन्छ की के हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले आफु नै नेपाली कांग्रेसका भरपर्दो र जिम्मेवार उम्मेदवार भएकाले आफु फेरी मेयर पदमा उठ्ने बताए ।

त्यस्तै नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दै नेतृत्व कसकोे काँधमा जाला भन्ने चर्चा हुनु स्वभाविक कुरा हो । केन्द्र नेतृत्वको चर्चासँगै दाङ काँग्रेसको नेतृत्व कसले आफ्नो पोल्टामा पार्न सक्ने हो भन्ने चर्चा हुनु अस्वभाविक छैन् ।

सक्रिय सदस्यता वितरण गरिरहेका बेला काँग्रेस दाङको नेतृत्वमा काङ्ग्रेस महासमिति सदस्य जानकीलाल बस्नेतले आफू दाङ काङ्ग्रेस को नेतृत्व लिन तयार रहेको बताएका छन ।

‘काँग्रेस दाङको नेतृत्व हाक्न तयार छु मेरो उम्मेदवारी अनौठो मान्नु पर्दैन् । कांग्रेसलाई सशक्त रुपमा अघि बढाउदै जिल्लामा काङ्ग्रेसलाई बलियो बनाउदै कसरी अगाडि बढन सकिन्छ त्यो मलाइ राम्रोसंग थाहा छ’–बस्नेतले भने ।

काँग्रेसको विरासत धान्नमा लामो समय अघिल्लो पुस्ताले योगदान दिएको र दोस्रो पुस्तामा फरक छवि बनाएका जानकी लालले आफ्नो काँधमा नेतृत्व ल्याउने ईच्छा ब्यक्त गरे उमेरले ५५ नाघेपनि आफुसंग पार्टी र संगठनप्रति दृढ संकल्प रहेको बस्नेतले बताए ।

बस्नेत २०४८ सालमा नेबि संघ जिल्लाको राजनीति गरेर पार्टी राजनितिमा सकृय छ । त्यसैगरेर उम्मेद्वारी घोषणा नगरेपनि कांग्रेसका पुराना नेता खगराज पाण्डे, भोजराज पाण्डे, पार्टीका जिल्ला सचिब शंकर डागि, उपसभापती कमानसिंह भारती, नेता भरतबहादुर न्यौपाने, यसअघि जिल्ला सभापतिमा लडेका कमलकिशोर घिमिरे, गेहेन्द्र गिरि नेतृत्वको लागि चर्चमा छन । पार्टी सभापतिका लागि महाधिबेसन प्रतिनिधी हुनुपर्ने भएकाले पार्टी राजनितिमा कांग्रेस भित्र हराउने खेल हुने भएकाले धेरैले सार्बजनिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन्। नेता गिरिको पक्षबाट नेताहरुको जिल्ला सभापतिमा आकांक्षी बढेकाले नेतृत्व छानेर उम्मेद्वार बनाउन ठुलै सकस छ ।

पार्टीमा लामो अनुभव प्राप्त गरिसकेका धेरैजसो पुराना कांग्रेसी नेताका रुपमा परिचितहरु नै गिरीको समूहबाट आकांक्षी देखिएका छन ।
कांग्रेसका केन्द्रीय सदस्य गिरी निकट जिल्ला तहका नेताहरु कार्यकर्तासँग भेटघाट र बैठकलाई तीव्रता दिइरहेका छन् । उनीहरुको सक्रियता पार्टीको केन्द्रीय महाधिवेशन तथा प्रदेश, जिल्ला र स्थानीय तहका अधिवेशनतर्फ केन्द्रित रहेको छ। कोरोना महामारीका कारण पार्टीको जिल्लाका नेताहरुले नेता गिरीले ’भर्चुअल’ बैठक पटक–पटक सञ्चालन गरिसकेको छ । बैठकमा महामारीले सिर्जना गरेको अप्ठ्याराकाबीच कसरी महाधिवेशन र अधिवेशन गर्ने भन्ने विषयमा छलफल हुने गरेको छ ।

करिब १२ हजार क्रियाशील सदस्य रहेको दाङमा कांग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पार्टीको जिल्ला अधिवेशन आगामी साउन २६ गते हुनुपर्नेछ । कोभिड–१९ को महामारी नियन्त्रण नभइसकेको हुँदा कुन प्रक्रियाबाट जिल्ला अधिवेशन गर्ने भन्ने विषयमा छलफल जिल्ला तहमा चलिरहेको छ । प्रत्यक्षरुपमा भौतिक उपस्थितिभन्दा पनि प्रविधिको प्रयोग गर्दै अधिवेशन गर्ने कि भनेर विकल्पको खोजी भइरहेको कांग्रेस नेताहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्