विद्यार्थी भर्ना अभियान शुरू, शिक्षामन्त्री श्रेष्ठले गरे आह्वान


appharu

१ असार २०७८, मंगलवार १५:४२ मा प्रकाशित

काठमाडौं ।
सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आज मंगलवारदेखि शुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलवारदेखि यस वर्षको शैक्षिक सत्र शुरू गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गरे ।

मंगलवार शिक्षक संगठनसँग भएको भर्चुअल छलफलमा उनले भर्ना अभियानलाई सफल पार्न सबैमा आह्वान गरेका हुन् ।

मन्त्रालयले शिक्षा तथा मानव विकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान शुरू गर्न निर्देशन दिएका थियो । कोभिड–१९ संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो ।

सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन पूरा गरी नतिजा प्रकाशन गरेर १० कक्षासम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरू गर्न भर्ना अभियान सञ्चालन गरेको हो ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले मंगलवारदेखि देशभर भर्ना अभियान शुरूआत भएको जानकारी दिए । केन्द्रले अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट मंगलवारदेखि विद्यार्थीका कक्षामा अभिलेखीकरण शुरू गरी असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

विद्यालयले विद्यार्थीको अभिलेखीकरण पूरा गरी आफ्नो नजिकको बिक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा वैकल्पिक विधि अनलाइन, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनु पर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिकरुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् ।

कोरोनाका कारण विद्यार्थी समेत गाउँ गएकाले भर्ना अभियान विगतका वर्षमा जस्तो प्रभावकारी हुनेमा आशंका पैदा भएको छ । विक्रम संवत् २०७६ सम्ममा सरकारले वैशाख १ गतेदेखि १५ गतेसम्म भव्यरूपमा विभिन्न कार्यक्रम गर्दै भर्ना अभियान सञ्चालन गर्दै आएको थियो ।

विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्दै भव्यरूपमा भर्ना अभियान सञ्चालन गर्ने र घरदैलो अभियान गर्ने गर्दै आएको थियो ।

विक्रम संवत् २०७७ सालदेखि भने कोरोना भाइरसको महामारीका कारण भर्ना अभियान प्रभावकारी हुन सकेको थिएन । गत वर्ष शैक्षिक सत्र कहिलेबाट सञ्चालन गर्ने भन्दै अन्योल भयो भने साउनदेखि वैकल्पिक विधिबाट पठनपाठन शुरू भएको थियो । यस वर्ष भने सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र निर्धारण गरेको हो ।

वैकल्पिक विधिबाट पठनपाठन हुने भएपछि गत वर्ष धेरै विद्यार्थीले पढाइ छाडेको आँकलन गरेपनि गत वर्ष कति विद्यार्थी भर्ना भए र यस वर्ष कति विद्यार्थी भर्ना हुन्छन् भन्ने तथ्यांक समेत केन्द्रले राख्न सकेको छैन ।

११ कक्षाको पठनपाठन भने भदौबाट गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यालयले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको असार मसान्तसम्म आन्तरिक मूल्यांकन गरिसक्ने अगामी साउन दोस्रो हप्तासम्म एसईईको अन्तिम नतिजा प्रकाशित गरि आगामी भदौबाट ११ कक्षाको पठनपाठन शुरू गरिने छ । – रमेश गिरी/रासस

प्रतिक्रिया दिनुहोस्