
बाणगङ्गा – १६ असार ।
बाणगङ्गा नगरपालिका–८ स्थित बाणगङ्गा माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा ऐतिहासिक सफलता हात पार्दै सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।
सोमबार विद्यालय प्रांगणमा आयोजित विशेष समारोहमा २०९ जना सफल विद्यार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार प्रदान गरिएको थियो । विद्यालयबाट परीक्षा दिएका मध्ये ३ जनाले सर्वोत्कृष्ट GPA ४.०० प्राप्त गर्न सफल भएका छन् भने ३.६ भन्दा माथि GPA ल्याउने विद्यार्थीको संख्या ३९ रहेको छ। यस्तै ३.२ भन्दा माथि GPA ल्याउने ६७ जना, २.८ भन्दा माथि ६८ जना, २.४ भन्दा माथि ३० जना र २.० भन्दा माथि GPA ल्याउने २ जना रहेका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु पन्थीले भने, ”सफलताले विद्यार्थीहरूलाई मात्र होइन, सम्पूर्ण बाणगङ्गा क्षेत्रलाई गर्व गराएको छ। यो सफलता भविष्य निर्माणको दिशामा प्रेरणा बन्नेछ।”
बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले विद्यालयको निरन्तर प्रगति प्रति खुशी व्यक्त गर्दै भने, ”शिक्षा नै समृद्धिको आधार हो। बाणगङ्गा माविको यो उपलब्धि नगरपालिकाको गौरव हो। नगरपालिका सधैं शिक्षा क्षेत्रको सशक्त समर्थनमा रहनेछ।”
त्यसैगरी, वडा अध्यक्ष बाबुराम अर्यालले भने, ”शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालयको सशक्त सहकार्यले यस्तो नतिजा सम्भव भएको हो । आगामी दिनहरूमा झन उत्कृष्ट नतिजाको अपेक्षा राख्दछु।”
विद्यालय प्रशासनका अनुसार, यो सफलता विद्यार्थीहरूको कठिन परिश्रम, शिक्षकहरूको समर्पण, व्यवस्थापनको कुशलता र अभिभावकहरूको निरन्तर समर्थनको परिणाम हो । विद्यालय परिवारले सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
शिक्षा शाखा प्रमुख खिमबहादुर जि.सी.ले भने, “बाणगङ्गा माविले देखाएको उत्कृष्ट नतिजाले सावित गरेको छ । उनले विद्यालयको प्रतिबद्धता, पारदर्शिता र श्रमका साथ गरिने शिक्षण–अध्ययनले सरकारी विद्यालयमा पनि असाधारण सफलता ल्याउन सकिन्छ भन्ने उदाहरण पेस भएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलराज पौडेलले विद्यालयको नतिजा विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन टिमको सामूहिक प्रयासको नतिजा भएको बताउँदै आगामी वर्षहरूमा अझ उत्कृष्टता कायम राख्ने अठोट व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमनाथ पौडेलले विद्यालयको विकासमा समुदायको साथ र विश्वास नै प्रेरणा भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले विद्यालयमा गुणस्तरीय शिक्षा दिन आवश्यक पूर्वाधार विस्तार र स्रोत साधनको व्यवस्थाका लागि पनि प्रयास जारी राख्ने बताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघ, स्थानीय सामाजिक अगुवा, पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।