प्रदेश प्रमुखले दोस्रोपटक पनि फिर्ता गरिदिए दुईओटा विधेयक


appharu

१ श्रावण २०७८, शुक्रबार ०७:२३ मा प्रकाशित

जनकपुरधाम ।
प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले दोस्रोपटक दुई विधेयक फिर्ता गरिदिएका छन् । बिहीबार प्रदेश प्रमुख झाले स्वास्थ्य सम्बन्धी र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः फिर्ता पठाएका हुन् ।

यसअघि उनले गत फागुन २६ गते सोही विधेयक सुझावसहित फिर्ता पठाएका थिए । स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयकमा १३ बुँदे र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमासमेत ११ बुँदे सुझावसहित प्रदेशसभालाई विधेयक फिर्ता पठाइएको थियो । प्रदेश प्रमुखको सचिवालय अनुसार स्वास्थ्य सम्बन्धी विधेयकमा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने धेरै विषयवस्तु छुटेको भन्दै उनले फिर्ता पठाएका थियो । तर, परिमार्जन नगरेको भन्दै पुनः फिर्ता पठाएका हुन् ।

विधेयकमा मातृत्व सुरक्षा लगायतका महत्वपूर्ण विषय नसमेटिएकाले सो विधेयक फिर्ता पठाएको बुझिएको छ । यस्तै, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई प्रदेश सरकारले पदकबाट सम्मानित गर्ने व्यवस्था गरिएको छ । तर कृषि कर्म गर्ने किसानलाई सम्मान गर्ने व्यवस्था नराखिएको हुनाले विधेयक प्रमाणीकरण नगरी दोस्रोपटक फिर्ता पठाएको छ ।

प्रदेश प्रमुख झाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम अन्य दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन् । ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्