असार १५, कपिलवस्तु ।
हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर दही–चिउरा खाँदै र हिलोमा धान रोपेर मनाइँदै छ। खेतमा काम गरेर थकित भएका किसानले शक्ति प्राप्ति र शरीरमा शीतलता मिल्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ।
असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ। खेतीपातीमा संलग्न किसान मात्र होइन, अन्य पेसा र व्यवसायमा आबद्ध नेपालीले पनि आज दही–चिउरा खाएर यो पर्व मनाउने गर्छन्।
नेपाल सरकारले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवस का रूपमा मनाउन थालेको हो। कृषिप्रधान देश नेपालमा अधिकांश नागरिकको मुख्य पेसा कृषि भएकाले असार महिना किसानका लागि अत्यन्त व्यस्त समय मानिन्छ।
यस दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोप्ने परम्परा छ। असारमा कम्तीमा एकपटक हिलोमा पस्नुपर्ने सांस्कृतिक मान्यता पनि नेपाली समाजमा रहिआएको छ।
तर, यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै स्थानमा पर्याप्त वर्षा नहुँदा अपेक्षित रूपमा धान रोपाइँ हुन सकेको छैन। केही क्षेत्रमा रासायनिक मलको अभावको समस्या पनि देखिएको छ।
यद्यपि, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले देशभरका लागि आवश्यक रासायनिक मल पर्याप्त मौज्दात रहेको जनाएको छ।


