एमालेको माधव नेपाल पक्षले देउवालाई विश्वासको मत दिने, यस्तो छ अङ्कगणित


appharu

३ श्रावण २०७८, आईतवार १२:२६ मा प्रकाशित

पालिका पत्र, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । संसदलाई ५ वर्ष पुरै अवधि टिकाउनुपर्छ भनेर यस अघि प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिएको माधव नेपाल पक्षका सांसदहरुले बताएका छन् । सांसदहरु विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झांक्री लगायतले देउवालाई विश्वासको मत नदिने हो भने फेरि पनि संसद विघटन हुने र आफूहरुले ओली प्रवृत्तिविरुद्ध गर्दै आएको संघर्ष र राख्दै आएको अडान औचित्यहीन हुने भएकाले संसदलाई बचाउन विश्वासको मत दिने बताएका छन् । ‘हामी देउवालाई विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’ सांसद चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।
यस्तो छ अंक गणित
प्रतिनिधिसभा नेपाली काँग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । जसपाका ३४ मध्ये उपेन्द्र यादवको पक्षमा १७ सांसद उभिएका छन् । राष्ट्रिय जनमोर्चाकी एक सांसद पनि प्रधानमन्त्री देउवाको गठबन्धनमा छिन् । यी सबै जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ ।

प्रतिनिधिसभामा हाल कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवाले १३६ मत ल्याउनुपर्ने हुन्छ । यो हिसाबले उनलाई थप ८ मतका लागि या त माधव नेपाल समूहले मत हाल्नुपर्ने हुन्छ, या महन्थ ठाकुर पक्षले मत दिनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा राप्रपा र नेपाल मजदुर किसान पार्टीका एक एक सिट छन् । राप्रपा सांसद राजेन्द्र लिङ्देन यसबारे पार्टीले निर्णय गरिनसकेको बताउँछन् । नेमकिपाले देउवालाई विश्वासको मत नदिने सो पार्टीका सांसद प्रेम सुवालले बताए ।
सर्वोच्च अदालतमा परेको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । सर्वोच्चमा बुझाइएको रिटमा बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले त्यो मत सदनमा पनि देउवाले पाउने सत्ता पक्षको दाबी छ ।

एमालेका कुल १२१ सांसदमध्ये २३ जना माधव नेपालको पक्षमा रहेकाले ओलीको पक्षमा ९८ सांसदमात्र छन् । यीमध्ये पनि केही सांसदले फ्लोर क्रस गरेर देउवालाई सघाउने भित्री वचन दिएको काँग्रेस स्रोतको दाबी छ ।

संविधानको धारा ७६९५० अनुसार सरकार बन्ने प्रयोजनका लागि मत दिएबापत् सांसदहरूलाई कारबाही नगर्नू भनेर सर्वोच्च अदालतले ह्वीप नलाग्ने निर्णय गरिसकेको अवस्था रहेकाले देउवाको पक्षमा क्रस भोटिङ हुने र सरकारले विश्वासको मत पाउने सत्ता पक्षको दाबी छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा २३२ सांसद उपस्थित रहेकोमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत खसेको थियो । १५ जना भने तटस्थ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्