बुटवलको झुम्सा खानेपानी २८ वर्षदेखि अलपत्र, नेताले सपना बाँडिरहे, जनता काकाकुल बनिरहे


appharu

२८ जेष्ठ २०७९, शनिबार ०९:२७ मा प्रकाशित

बिमल क्षेत्री पुरी /पालिकापत्र
“बिहान चार बजे उठ्नै पर्र्छ , नउठे पानी खान पाईदैन” बरबराउँदै पानी भर्दै थिए बुटवल दिपनगरका, विक्की थापा ।

उनी भन्छन् ,“ पानी बिहानको चार बजे आउँछ । त्यो पनि कहिले सफा आउँछ त कहिले फोहोरो । चार बजे उठिएन भने जारको पानी किन्नुपर्ने हुन्छ ” बिहान चार बजे उठ्नै पर्ने बाध्यता छ , थापालाई ।

पर्यटन व्यवसायीमा आवद्ध २९ बर्षे विक्की थापा राती अबेर सम्म आफ्नो व्यवसायमा ब्यस्त हुन्छन् तर जती ढिला भएपनि पानीको बाध्यताले उनलाई विहान छिटै उठाईदिन्छ । कहिलेकाँही त राती दुई बजे नै आउने पानीले उनलाई निद्रबाट जगाउँछ । थापा जस्तै बुटवल उपमहानगरका वडा नम्बर ७ र ८ का सुख्खानगर र दिपनगर क्षेत्रका नगरवासीले अझै पनि प्रयाप्त पानी पाउँन सकेका छैनन् ।

दिपनगरकै मिना गिरीले पनि पानी बिहान चार बजे एक घण्टा मात्र आउने बताउँछिन् । आएको पानी सफा नहुँदा , खान र भान्सामा जारकै पानी किन्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । बुटवलका कतिपय स्थानमा पानीको अभाव छ भने कतै आएको पानी पनि सफा छैन ।

बुटवल ८ सुख्खानगरमा पन्ध्र बर्ष देखि बस्दै आएका अग्रज पत्रकार दामोदर खनालले पनि सफा पानी घरको धारामा नआउँदा बुटवल ९ तिनकुनेमा रहेको बोरिङ्गबाट पानी बोकेर ल्याउने गरेको बताउछन् । खनाल भन्छन् ,“पानी एक दिन बिराएर आउँछ । त्यो पनि धमिलो । म बुटवल बस्न थाले देखी बोेकेरै पानी खाने गरेको छु ।” खनालले बुटवलको खानेपानीको दीर्घकालीन समाधान गर्न झुम्सा खानेपानी आयोजनालाई छिटो सम्पन्न गर्नुपर्ने सुझाव दिन्छन् । खानेपानीको वितरण प्रणालीलाई पनि व्यवस्थित बनाउने हो भने बुटवलको तिर्खा मेट्न सकिने खनालको भनाई छ ।

बुटवलमा पानीको अभाव हुन थालेको दशकौँ भैसकेको छ । बुटवलबासीले तिर्खा मेट्न सपना नदेखेको पनि होईन तर विडम्वना भनौँ ,२८ वर्ष पुरानो तिर्खा मेट्ने सपना अझैँ पुरा हुन सकेको छैन । त्यो हो, बुटवलको मेलम्ची ‘झुम्सा खानेपानी आयोजना’ ।

२०५२ सालमा बुटवलमा खानेपानी ल्याउने गरि पाल्पाको झुम्सा खोलामा ‘इन्टेक’ निर्माण र पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, झुम्साबाट पानी आएन । बरु नेताहरुले प्रत्येक निर्वाचनमा खानेपानी आयोजनाको सपना बाडिरहेँका छन् ।

नेताले सपना बाँडिरहे, जनता पर्खिरहे

लुम्बिनी प्रदेशको आर्थिक राजधानी बुटवलमा खानेपानीको अभाव प्रत्येक बर्ष बढ्दै गएको छ । बुटवलमा खानेपानीको संकट चुलिएपनि सपनाको आयोजना भने अझै पूरा भएको छैन । देशमा राजनीतिक परिवर्तन भयो । तर, एउटा आयोजना पूरा गर्न दल र तिनका नेताहरु सधै असफल भएका छन् । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेल, पटक–पटक यो मुद्धालाई पूरा गर्ने सपना देखाउने मध्येका एक नेता हुन् । गृहमन्त्री तथा नेपाली काँग्रेसका प्रभावसाली नेता बालकृष्ण खाँण, पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक, पूर्वमन्त्री सोमप्रसाद पाण्डे, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ,लिला गिरी ,बुटवल उपमहानगरपालिकाका पुर्व मेयर शिवराज सुवेदी र नवनिर्वाचित मेयर खेलराज पाण्डे पनि सपना देखाउने नेतामा पर्छन ।

तर, २८ बर्षदेखि उहि पूरानै समस्यामा रुमलिन बाध्य छन् ,बुटवलवासी । बुटवल दीपनगर र सुख्खानगरका बासिन्दा खानेपानीकै लागि बर्षोदेखि रातभर जाग्राम बस्नुपर्ने बाध्यताको अन्त्य अभैm हुन सकिरहेको छैन । सरकारले पाल्पाबाट खानेपानी ल्याएर खुवाउने सपना पूरा नभएपछि समुदाय तहबाट खानेपानीको जोहो गरिएको छ । त्यँही पुरानो आयोजना सम्पन्न हुने आशमा रहेको सरकार आफैले ल्याउने भनेको खानेपानी आयोजना भने ‘मेलम्ची’ जस्तै बनेको छ । बुटवलका स्थानिय भरत खड्काले झुम्सा खानेपानी आयोजना सम्पन्न होला र बुटवलमा पानीको समास्या सधैका लागि समाधान होला भन्ने कुरा सपना जस्तै भएको बताउँछन् । उनले निर्वाचनको समयमा नेताहरुले यो मुद्धालाई जोडतोडले उठाउने गरेको भएपनि चुनाव पश्चात यसमा कसैले चासो नदिँदा बुटवलबासीको तिर्खा मेट्ने चाहाना अधुरै रहेको बताए ।

माग धेरै आपुर्ति कम
आयोजना सम्पन्न नभएपछि बुटवलको बढ्दै गएको खानेपानीको माग धान्न समुदाय तहबाट पानीको मागलाई पुर्ति गर्न खोजिएको छ । बुटवलको जनसंख्या दुई लाख पचास हजार हाराहारीमा छ । बुटवलमा जनसंख्या वृद्धिसँगै वर्षेनी ६ सयदेखि ७ सयसम्म नयाँ धारा वितरण हुने गरेका छन् । अहिले बुटवलमा झण्डै चारलाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने ढाइ देखी तिन करोड लिटरसम्म हुने गरेको छ । हाल दैनिक करिब १ करोड लिटर पानी अपूग छ । अभाव दिन प्रतिदिन चुलिदै गएपनि खानेपानी संस्थानले समस्यालाई स्थायी रुपमा समाधान गर्न सकिरहेको छैन ।
आयोजनाको पुन शिलान्यास
८ बर्ष अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको झुम्सा खानेपानी आयोजना असफल भएपछि दुई वर्ष अघि पुन आयोजना शिलान्यास गरिएको हो । बुटवलमा ल्याउने खानेपानीका लागि तत्कालिन संघीय सरकारका अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले आयोजनाको दोश्रो पटक शिलान्यास गरेका हुन् । झुम्सा खोलामा आएको बाढिले यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु गरेको नेपाल खानेपानी संस्था बुटवलले जनाएको छ ।
बुटवल झुम्सा खानेपानी आयोजनाका लागि पहिलो र दोस्रो चरणमा गरेर करिब १५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । झुम्सा खोलाबाट मेनलाइनको पाइप बिच्छाउने र मुहान डयाम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने संस्थानका प्रमुख मोहनदत्त भट्टले बताए । यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने क्रम जारी रहेको छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ ।
एडिविको खानेपानी योजना फेल
झुम्सा खानेपानी समयमा नबनेको भएपनि बुटवलको खानपानी समस्या समाधान गर्न एसियाली विकास बैंकसँग ऋण अनुदानमा शुरु गर्न लागेको २२ करोडको खानेपानी परियोजना पनि विचमै तुहियो ।बुटवलको वडा नम्बर ७ र ८को खानेपानी समस्या समाधान गर्ने उद्देश्य सहित सञ्चालन गरिएको यो योजना फेल हुनमा खरिद गरिएको पाईपको गुणस्तरमा उपभोक्तालाई चित्त नबुझ्नु , समिति बनाउने विषयमा विवाद उत्पन्न हुनु , उपभोक्ता संग पैसा उठाउने विषयमा पनि मतभेद हुनु लगाएतका राजनीतिक कारण र बुटवल उपमहानगरपालिकाको उदासिनतलो यो योजना अलपत्र परेको हो । यसै आयोजनाका लागि खरिद गरिएका पाईपहरु गणस्तिर हिन भएको भन्दै अख्तियारमा मुद्धा समेत परेको थियो । बुटवलको दिपनगरको जंगलमा अझैपनि पाईपहरु भेटिन्छन् । पछि एडिविले यो योजना सहित अन्य दुई ओटा योजना बुटवलबाट फिर्ता लगेको थियो ।
खानेपानी गुरुयोजना
बुटवल उपमहानगरपालिकाले खानेपानी संस्थान संगको सहकार्यमा खानेपानीको गुरुयोजना बनाएको छ । बुटवललाई अबको पाँच दशकसम्मको जनसंख्यालाई सोचेर खानेपानीको गुरुयोजना बनाइएको हो । हरियाली प्रतिशतको मुल्याङ्कन गर्दा बुटवल मुलुकमा धेरै हरियाली भएको नगरपालिकाको रुपमा रहेको छ । तर, विडम्बना यहाँ पानीको प्राकृत्तिक स्रोत भने एकदमै न्यून छ । हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ । अहिले बुटवलका लागि पानीका स्रोत भनेको पाल्पाका सिस्नेखोला र झुम्साखोला हुन् । प्राकृत्तिक हिसाबले माथिल्लो तटको प्राकृत्तिक सम्पदामा तल्लो तटसम्मैका उपभोक्ताको हक हुन्छ । त्यहीँको खानेपानीलाई व्यवस्थित पाइपलाइनमार्फत बुटवलमा ल्याउने र बुटवलमा ट्रिटमेन्ट (शुद्धिकरण) गरेर वितरण गरिने छ । बुटवलका १९ वटै वडालाई एउटै सञ्जालमा जोड्ने र समुदायस्तरबाट सञ्चालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उपमहानगरको योजना छ । तयार भइरहेको गुरुयोजनामा १९ वडाका सबै बस्ती र आउँदो ५० वर्षपछिको जनसंख्याको चाँपको अनुमान गर्दै काम गरिएको बुटवल उपमहानगरका योजना शाखा प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।
अब एक वर्षमा बुटवलमा पानी ?
२८ वर्ष सम्म योेजना सम्पन्न नभएको झुम्सा खानेपानी आयोजना निर्माण अब अन्तिम चरणमा पुगेको खानेपानी संस्थान बुटवलले जनाएको छ । झुम्सा खानेपानीको ड्याम्म निर्माणको काम सकिएको छ भने पाईपलाईन विस्तारको काम भैरहेको कार्यालय प्रमुख मोहनदत्त भट्टले बताए । उनका अनुसार एक वर्ष भित्र बुटवलमा झुम्साको पानी आईपुग्ने र त्यसपछि बल्ल वितरण प्रणालीलाई सुधार गरेर पानी बुटवलवासीको घरघरमा पुराउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्