लुम्बिनीको वन मन्त्रालयद्वारा खादा र प्लाष्टिकजन्य सामग्री निषेध,तीन सामुदायिक वन र ४ वनकर्मी पुरस्कृत


appharu

३० असार २०७९, बिहीबार १८:०५ मा प्रकाशित

पालिकापत्र,बुटवल । लुम्बिनी प्रदेशको बन वातावरण तथा भू–संरक्षण मन्त्रालयले एक वडा : एक पोखरी कार्यक्रम र बनसँग सेलिब्रिटी कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीबार मन्त्रालयले बुटवलमा पत्रकार भेटघाट गर्दै बन क्षेत्रसँगै पर्यावरणको संरक्षणको लागि एक वडा एक पोखरी कार्यक्रम अब आउने आर्थिक वर्षबाट सञ्चालन गरिने जानकारी दिएको हो । यस्तै कम खर्चिलो भूसंरक्षण कार्यक्रम तथा एक पालिका एक बन नर्सरी निर्माण गर्ने योजना बनाएको मन्त्रालयका सचिब दुर्गा बहादुर कार्कीले जानकारी दिए ।
मन्त्रालयले जगदिशपुर तालको दिगो संरक्षण र ब्यवस्थापनको लागि जगदिशपुर बर्ड स्याङचुरी कार्यक्रम घोषणा गर्ने भएको छ । यही साउन ३२ गते घोषणा कार्यक्रमको आयोजना गरिएको र यसबाट तालको संरक्षणसँगै स्थानीयको आयआर्जनमा थप टेवा मिल्ने उहाँले बताए ।
यस्तै मन्त्रालयले आगामी आर्थिक वर्षमा ठुला रुख स्थानान्तरणका लागि ट्री स्पेड ट्रक खरिद तथा नरम प्रजाती विशेषको गुणस्तर प्रवद्र्धन प्रविधि भित्राउने विकास सहयोग र बन क्षेत्रको खोला खोल्सी ब्यवस्थापन कार्यक्रम गर्ने भएको छ । प्रदेश मन्त्रालयले फ्रन्टलाईनमा खटिने वन रक्षक दुर्घटना बीमा कार्यक्रम तथा बन कर्मचारीहरुको शारिरीक तन्दुरुस्तीका लागि खुला जिम निर्माण गर्ने योजना बनाएको जनाएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ७८.२१ प्रतिशत वित्तिय प्रगती गरेको छ भने ४० करोड बजेट फ्रिज भएको जनाएको छ । बन पैदावारहरुको विक्रि वितरणबाट प्रदेश सरकारले ११ करोड बढी रकम आम्दानी गरेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै पिडितसँग प्रदेश सरकार कार्यक्रम मार्फत बर्दियामा हात्ति छेकबार निर्माण लगायतका काम भईरहेको र बन्यजन्तुको क्षतिको राहात स्वरुप २५ लाख रकम वितरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेशचन्द्र आचार्यले जानकारी दिए । यस्तै प्रदेश सरकारले २९ वटा रिचार्ज पोखरी निर्माण भएको २५ वटा सिमसार क्षेत्रहरुमा ब्यवस्थापनका काम भएको जनाएको छ ।
लुम्बिनी प्रदेशको वन वातावरण तथा भू संरक्षण मन्त्रालयले आफू मातहतका निकायमा खादा र प्लाष्टिक जन्य सामग्रीहरु पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले विहीबार सञ्चारकर्मीसँग गरेको छलफलमा मन्त्रालयको बिहीबारै बसेको बैठकले खादा र प्लाष्टिकजन्य माला, ब्याच तथा अन्य सामग्रीहरुलाई निषेध गर्ने निर्णय भएको जानकारी दिएको हो ।
मन्त्री सुरेन्द्र हमालले वातावरणको संरक्षण र स्वदेशकै वनस्पतिजन्य सामग्रीहरुको प्रयोग बढाउन मन्त्रालय र मातहतका सबै निकायमा खादा र प्लाष्टिकजन्य सामाग्री प्रयोग नगर्न परिपत्र गरेको बताए ।
प्रदेश बन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालको उपस्थितिमा भएको कार्यक्रममा मन्त्रालयले गौतमबुद्ध बृक्ष संरक्षण प्रबल पुरस्कार ३ वटा सामुदायिक वन र उत्कृष्ट वनकर्मीबाट ४ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । ५१ हजार १ सय पुरस्कार राशीबाट रुपन्देहीको चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल १२, पाखुरे सामुदायिक वन तथा उपभोक्ता समूह रैनादेवी छहरा पाल्पा र बैजलपुर सामुदायिक वन तथा उपभोक्ता समूह बाणगंगा कपिलबस्तु पुरस्कृत भएका छन् । यस्तै २३ हजार राशीको पुरस्कारबाट डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत उप्रेन्द्र अर्याल, डिभिजन वन कार्यालय रोल्पाका वनरक्षक गगनसिंह गोसाई, कपिलबस्तु गौतमबुद्ध सामुदायिक वनका जमदार पर्शुराम थारु उत्कृष्ट वनकर्मी र मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्का पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्