खेलकुद विकास समिति रुपन्देहीका पदाधिकारीले लिए सपथ, छिट्टै परिवर्तन देखाउने अध्यक्ष हरि क्षेत्रीको प्रतिवद्धता


appharu

३१ असार २०७९, शुक्रबार १८:४२ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देही जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीले शुक्रबार सपथ लिएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषदले असार १८ गते प्रदेश खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम १ अनुसार अध्यक्षमा भुपेन्द्रबहादुर क्षेत्री (हरि) लाई अध्यक्षमा नियुक्त गरेको थियो । जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रांगणमा अध्यक्ष क्षेत्री सहित उपाध्यक्ष जयबहादुर सुनार,कोषाध्यक्ष परागदास गोर्खाली र सदस्यहरु पशुपति उपाध्याय, रामबहादुर थापा,अर्जुन क्षेत्री,रमेश थापा,राधिका चौधरी र रिता पाण्डे खत्रीले सपथ लिएका हुन् । उनीहरुलाई प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले सपथ ग्रहण गराउनुभएको थियो ।
सपथ लिएपछि अध्यक्ष हरि क्षेत्रीले आफु खेलाडी हुंदै पदाधिकारीमा आइपुगेकाले खेलकुद क्षेत्रको मर्म र समस्याहरु नजिकबाट बुझेको बताउंदै छिट्टै खेल क्षेत्रमा परिवर्तन गरेर देखाउने बताए । उनले खेलकुद विकास समितिको कार्यालय भवन लगायत पुर्वाधारमा सुधार गर्दै सबै खेललाई समानरुपले व्यवहार गर्ने बताए । उनले सबै खेल सम्बद्ध संस्थाहरुलाई खेलकुद विकास समितिमा आवद्ध हुन आग्रह गर्दै आवद्ध नहुनेलाई सुहयोग गर्न नसकिने स्पष्ट पारे । अध्यक्ष क्षेत्रीले विभिन्न खेलकुदको विकासका लागि छिटो योजना ल्याउन सरोकारवालालाई आग्रह गर्दै सोही योजनाका आधारमा आफुले सम्बन्धित मन्त्रालयमा वजेटका लागि पहल गर्ने बताए ।
खेलकुदमा राजनीति गर्न नहुने भन्दै उनले आफू जुन पार्टीबाट सिफारिस भएर नियुक्त भएपनि त्यसलाई बिर्सेर सबैको साझा भएर काम गर्ने बताए ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुद क्षेत्रलाई फराकिलो दृष्टिले हेर्नुपर्ने आग्रह गर्दै यसले पर्यटन प्रवद्र्धन, राष्ट्रिय एकता, अनुशासन, मेलमिलाप र सद्भाव बढाउने बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ,माधव घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्