जानु पाण्डे कपिलवस्तु, भदौ २६ गते । कपिलवस्तुको नयाँ टोल हुँदै बजारतर्फ जाने सडकमा राखिएका डिजिटल स्क्रिनमा यति बेला बुद्धसँग जोडिएका ऐतिहासिक सम्पदाका दृश्य देखिन्छन् ।
सडक किनारमा राखिएका स्क्रिनमा कहिले तिलौराकोटका भग्नावशेष देखिन्छन्, कहिले जगदीशपुर तालका मनमोहक दृश्य । त्यति मात्र होइन, कपिलवस्तुको धार्मिक तथा पुरातात्त्विक महत्त्व झल्काउने वृत्तचित्र र जानकारीसमेत प्रसारण भइरहेका छन् ।
पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसारलाई डिजिटल प्रविधिसँग जोड्दै कपिलवस्तु नगरपालिकाले बजार क्षेत्रमा २३ वटा डिजिटल एलईडी स्क्रिन जडान गरेको हो ।
नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि नयाँ टोल क्षेत्रका सडकमा जडान गरेका ती स्क्रिनबाट कपिलवस्तुका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको प्रचार गर्न थालेको छ ।
प्रत्येक स्क्रिन २ फिट चौडाइ र ३ फिट लम्बाइका छन् । ती स्क्रिनमा गौतम बुद्धसँग सम्बन्धित तिलौराकोट, कुदान, अरौराकोट, ताम्रेश्वर महादेव मन्दिरलगायतका स्थलका दृश्य तथा जानकारी प्रसारण भइरहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तुको पर्यटनलाई आधुनिक प्रविधिमार्फत देश–विदेशसम्म पुर्याउने उद्देश्यले डिजिटल स्क्रिन प्रयोग गरिएको बताउनुभयो ।
गौतम बुद्धसँग जोडिएका पुरातात्त्विक स्थलसँगै विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर ताललाई समेत पर्यटन प्रवर्द्धनको प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
कपिलवस्तु बुद्धसँग मात्र नभई प्राचीन बौद्ध इतिहाससँग जोडिएका अन्य महत्त्वपूर्ण स्थलका कारण पनि पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धसँग सम्बन्धित स्थलको प्रचारप्रसारसमेत डिजिटल माध्यमबाट गरिने नगर प्रमुख पौडेलले बताउनुभयो ।
नयाँ टोलमा जडान गरिएका २३ वटा डिजिटल स्क्रिनमा ३१ लाख ९६ हजार ७ सय ४४ रुपियाँ खर्च भएको नगरपालिकाका वरिष्ठ इन्जिनियर राजेशकुमार शैनीले जानकारी दिनुभयो ।
नगरपालिकाले बजार क्षेत्रका २३ वटा स्क्रिनसँगै दुई स्थानमा ठुला एलईडी प्यानलसमेत राखेको छ । ६ फिट उचाइ र १० फिट लम्बाइका ती प्यानल प्राचीन ताम्रेश्वर मन्दिर र मुख्य चोक गौडी चोकमा जडान गरिएका छन् । दुई वटा ठुला प्यानल जडानमा करिब २० लाख रुपियाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
एलईडी स्क्रिन पर्यटन प्रवर्द्धनमा मात्र सीमित छैनन् । नगरपालिकाले निर्माण गरेका वृत्तचित्र, जनचेतनामूलक सूचना तथा नेपालले खेल्ने महत्त्वपूर्ण खेलसमेत स्क्रिनमा प्रदर्शन हुँदै आएका छन् । यसले सार्वजनिक स्थानमा डिजिटल सूचना प्रवाह गर्ने माध्यमका रूपमा समेत काम गरेको नगरपालिकाको भनाइ छ ।
पर्यटकीय सम्भावना धेरै भए पनि प्रचारप्रसारको अभावमा कपिलवस्तुका धेरै ऐतिहासिक स्थल ओझेलमा परेको स्थानीयको गुनासो रहँदै आएको छ ।
नगरपालिकाले भने सडक र बजारमा पुग्ने सर्वसाधारण तथा बाह्य आगन्तुकलाई डिजिटल स्क्रिनमार्फत कपिलवस्तुका पर्यटकीय गन्तव्यबारे जानकारी गराउने अपेक्षा गरेको छ ।
नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत प्रभाकर सिंह चौधरीका अनुसार यसै वर्ष जगदीशपुर ताल क्षेत्रमा थप तीन वटा एलईडी स्क्रिन जडान गर्ने तयारी भइरहेको छ ।
बजारका स्क्रिनमा चल्ने बुद्धसँग जोडिएका सम्पदाका दृश्यले स्थानीयलाई आफ्नो इतिहास सम्झाउने मात्र होइन, बजार हुँदै आवतजावत गर्ने आगन्तुकलाई पनि कपिलवस्तुका पर्यटकीय गन्तव्यतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

