पालिकापत्र, बुटवल । नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पहिचान बनाएको बुटवलको कालिका मानवज्ञान माविले हालै सार्वजिक माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीमा सामुदायिक विद्यालय तर्फबाट एक मात्रै ४ जिपीए ल्याउने विवेक न्यौपाने सहित ६ सय ६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कोरोना महामारी लगाएत विभिन्न समस्या र चूनौतीका बीच विद्यार्थी र शिक्षकको अथक मेहनतले विद्यालयले
सर्वोत्कृष्ट नतिजा र गुणस्तरलाई निरन्तरता दिन सफल भएको बताए । जिल्लामै सामुदायिक विद्यालयतर्फ कालिका मानवज्ञानका विद्यार्थीले मात्रै जीपीए ४ ल्याउन सफल हुनु गौरवको विषय भएको थापाले बताए । पूर्व प्रअ घनश्याम पाठकले सामुदायिक विद्यालयका शिक्षकहरु दक्ष हुँदैनन् र विद्यार्थीहरु उत्कृष्ट हुँदैनन् भन्ने गलत सोँचलाई कालिका मानव ज्ञानले परिवर्तन ल्याएको बताए ।
बुटवल–१० का वडाध्यक्ष बल बहादुर पुनले मुलुककै उत्कृष्ट विद्यालय वडाले पाएको बताउँदै वडाले विद्यालयलाइृ सक्दो सहयोग गर्ने बताए ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष होम बहादुर गलामीले विद्यार्थीले प्राप्त गरेको सफलताले नै विद्यालय सफल भएको बताए ।
एसईई परीक्षामा ६०६ जना विद्यार्थी सहभागी मध्ये १ जनाले जीपीए ४, ६७ जनाले ३.६ देखि जिपिए ४ सम्म,१४६ जनाले ३.२ देखि ३.६,२०८ जनाले २.८ देखि ३.२, १४४ जनाले २.४ देखि २.८,३९ जनाले २.० देखि २.४ र १ जनाले २ जीपीए प्राप्त गरेको कक्षा १० संयोजक सुदर्शन रेग्मीले बताए ।
विद्यालयले एसईईमा उत्कृष्टलाई ५० हजार र कक्षा १२ मा उत्कृष्टलाई ९० हजार नगद सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रअ दिनेश थापाले बताए ।