डा. दामोदर भुसाल
हाम्रो लोकतन्त्रले राजनितिक दलको भूमिकालाई उच्च स्थानमा राखेको छ । नेपालले अभ्यास गरेको लोकतन्त्र वेस्ट मिनिस्टेरियल पार्लियामेन्टरी सिस्टम अर्थात बेलायतको संसदीय प्रणालीको मिल्दो जुल्दो संसदीय प्रणालीको स्वरुप हो । जहाँ, मुलुकको प्रधानमन्त्री हुनका लागि दलको नेताहुनुपर्दछ । राजनैतिक दलका गतिविधि व्यवस्थित गर्न संविधानमै वार्षिक लेखापरीक्षण देखि नेतृत्व छनौटमा आवधिक निर्वाचनको वाध्यकारी व्यवस्था रहेको छ । दलको आन्तरिक जीवनले नै राष्ट्रको जीवनको दिशानिर्देश गर्ने गर्दछ । अवसरको समान वितरण, पछाडि परेको वर्ग र समुदायलाई राजनैतिक मुलप्रवाहमा ल्याउने समवेशी र समानुपातिक प्रणाली जस्ता अभ्यासहरु दलहरुले आफ्नो आन्तरिक जीवनमा पनि कार्यान्वयन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । राजनैतिक दलहरुले देशलाई सवल र सक्षम सरकार कसरी दिनसक्छन् भन्ने कुराको प्रत्याभुति दलहरु भित्रको लोकतान्त्रिक अभ्यासले प्रतिविम्वित गर्दछ । जुन दलमा आन्तरिक लोकतन्त्र मजबुत छ त्यो दलले मात्र सरकार निर्माणमा नागरिकको विश्वास प्राप्त गर्न सक्छ, सथै त्यस्तो पार्टीले मात्र सवल र सक्षम सरकार दिनसक्छ । विगतमा नेपालले जसरी राजनैतिक अस्थिरताको सामना गर्नु पर्यो त्यो सब दलहरुले आन्तरिक लोकतन्त्रको राम्रोसँग अभ्यास नगर्नुको परिणाम हो । तसर्थ एक प्रमुख राजनीतिक पार्टिमा देखिएको अलोकतान्त्रिक अभ्यास अरु पार्टिमा देखिदै जानु र राजनीतिक दलहरुका केही निश्चित नेताहरुको तजविजमा आफ्नो राजनीतिक भविष्यसँग सिंगो पार्टी र यसका कार्यकर्ताहरुको भविष्यलाई गठवन्धनको नाममा खेलवाड गर्नु लोकतन्त्रको लागि लडेका दलहरुका लागि सुहाउने कुरा होइन ।
लामो संघर्ष र वलिदानीको जगमा स्थापना गरिएको नेपालको लोकतान्त्रिक व्यवस्था र सोको सञ्चालनका लागि दुई दुई पटक संविधान सभाको निर्वाचन गरेर, निकै लामो समय र पूँजीको लागानीमा निर्माण गरिएको वर्तमान नेपालको संविधानको पुर्ण कार्यान्वयन नगर्दै यसको विकल्पका पक्षमा वहस हुन थालेका छन् । यो अवस्थाको सिर्जना हुनु नै नेपालका प्रमुख राजनैतिक दलकालागि प्रमुख चुनौति हो । विगतमा राजनैतिक दलले तत्कालिन राजनैतिक प्रणालीनै समग्र समस्याको जड रहेको निष्कर्ष निकाल्दै नागरिकलाई आन्दोलनका लागि तयार गरे । यतिमात्र होईन नागरिकमा नयाँ नेपाल निर्माणको सपना देखाएर अभिमत लिन सफल भए पनि प्राप्त अवसरलाई सदुपयोग गरेर नेपाली जनतालाई सुशासन दिन नसक्दा नागरिकमा वर्तमान राजनैतिक प्रणाली र प्रमुख राजनैतिक दलहरु प्रति चरम असन्तुष्टि प्रकट गरेका छन् । स्वतन्त्र व्यक्तिका रुपमा नागरिकले निर्वाचन जित्नु एवम् वैकल्पिक शक्तिको खोजी हुनु यसको पछिल्लो उदाहरण हो । दलहरुले लोकतन्त्रको साश्वत सिद्धान्त तथा आफैले निर्माण गरेको संविधानको व्यवस्था र भावनालाई आत्मसात गर्न नसक्नु नै नेपालको राजनैतिक अस्थिरताको प्रमुख कारण हो भन्न सकिन्छ । यसका साथै विकासमा देखिएको पछौटेपनको दोष राजनितिक दलहरुले कर्मचारी प्रशासन र कर्मचारीले राजनितिक दलहरुमा तेर्सायर नागरिकको विकासप्रतिको अभिलाषालाई लामो समयसम्म आश्वासनमा सिमित राख्नु र आफ्ना घोषणापत्रमा उल्लिखित प्रतिवद्धताहरु आफैले तिलान्जली दिएका कारण नागरिकहरुमा दलहरुको विकल्पमा स्वतन्त्र उमेदवारहरुको लहर आएको देखिन्छ ।
नेपालका प्रमुख राजनैतिक दलहरु अहिले पनि सत्ता राजनिती भन्दा पर गएर परिस्थितिको आंकलन गर्ने एवम् आफ्ना कर्मको स्वतन्त्र मुल्याङ्कनका लागि तयार देखिएका छैनन् भन्ने कुराको प्रमाण, यहि मंसिर ४ गते हुने निर्वाचनलाई लिएर दलहरुभित्र उम्मेदवार छनौटको क्रममा बढेको गर्मा–गर्मि तथा दलको आन्तरिक छलफलमा भएका असहमतिका स्वरहरू छताछुल्ल भएर सतहमा पोखिनुलाई लिन सकिन्छ । दलको आन्तरिक जीवनलाई लोकतान्त्रिकिकरण गर्नुको विकल्प छैन । यसका लगि लामो समयसम्म निरन्तर अभ्यासको जरुरी हुन्छ । सोका लागि दलका नेताले लोकतन्त्रलाई व्याक्तिगत एवम् पर्टीको जीवन पद्दतिका रूपमा अभ्यास गर्नुपर्छ ।
दलहरुले टिकटका आकांक्षीहरुको बढ्दो दवावलाई यथोचित व्यवस्थापन गर्न सकेनन् भने खास गरी कांग्रेस र अन्य दलहरुमा विद्रोह हुने तथा दल बिभाजन हुने सम्मको खतरा देखिन्छ । यसो हुदा दलमात्र कम्जोर हुने छैनन् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भबिष्य प्रति पनि प्रश्नचिन्ह खडा हुने निश्चित छ । यतिखेर वर्तमान राजनैतिक प्रणालीका सर्जक एवम् नेपालको संविधान २०७२ का निर्माता प्रमुख राजनीतिक दल एवम् मुख्य नेताहरुसामु यूगीन चुनौतिहरु र अवसरहरु उपस्थित भएका छन् । नेता त्यस्तो व्याक्ति हो जस्ले अरुले नदेख्ने बिषय देख्छ, वर्तमानको क्षणिक र व्यक्तिगत लाभभन्दा माथि उठेर देश र नागरिककोसाथै आफु सम्वद्ध संस्थाको वृहत्तर हितको हुने गरि निर्णय लिन सक्छ । हामी एकांकि भएर अमुक व्याक्तिमा त्यो विषिष्ट क्षमता हुनैपर्छ भन्दै गर्दा आफ्नै प्रति प्रश्नचिन्ह खडा हुनु हाम्रो विडम्वना हो । यतिखेर हामिसँग भविश्य देख्न सक्ने व्याक्तिगत स्वार्थ माथि उठको नेतृत्व सायदै छन् । यदि उपलव्ध सुचना र तथ्यको विष्लेषण गर्ने प्रयत्न गर्दा अधिकतम रुपमा सहि निर्णय सम्पादन गर्न सहज हुन्छ । दलहरुले टिकट वितरणको पुर्व सन्ध्यामा दलका कार्यालय, नेताका घरहरुमा भिडभाड देखिएको छ । त्यस्तै समानुपातिक निर्वाचनका लागि प्रस्तावित गरिएका व्यक्तिको नाम हेर्दा लाग्छ दलले परिवर्तित सन्दर्भ र अवस्थालाई राम्ररी विष्लेषण गर्न सकेको देखिदैन । सबैभन्दा समस्या कांग्रेसभित्रै देखिन्छ । पार्टीहरुले आसन्न निर्वाचनका लागि उम्मेवार चयनको निर्णय गर्दा जिम्मेवारीमा रहेका सिमित व्यक्तिले विवेक पु¥याएको देखिदैन । दलका सामु निर्वाचन जित्ने चुनौति त छदै छ यसका साथै निर्वाचन पछि आत्मनिर्भर नेपाली समृद्ध नेपालको लक्ष्य हाँसिल गर्नु छ। यसका लागि सक्षम, अनुभवी,ईमान्दार र सिर्जनशील व्यक्तिको चयन गर्नु पनि त्यत्तिकै आवश्यक छ । आजका मतदाताहरु नागरिकहरु आफ्नै जीवनकालमा समृद्ध र विकसित भएको नेपाल हेर्न चाहन्छन् । लोकतन्त्रको करिव ३४ वर्षसम्म दलहरुले गरेका प्रयासहरुले नागरिकहरुलाई विश्वस्त पार्न सकेको देखिदैन । यसर्थ दलहरुले उम्मेदवार चयन गर्दा खुल्ला दिमाग र वृहत हृदयका साथ स्पष्ट मापदण्ड निर्माण गर्न जरुरी छ । मापदण्ड निर्माण गर्दा मेरो साधारण दिमागले देखेको एउट विकल्प प्रस्तु गर्नका लागि यो आलेख तयार गरिएको छ ।
प्रमुख दलका बीचमा, चुनाव लक्षित गठवन्धन आफैमा लोकतान्त्रिक मान्यताको प्रतिकूल हो । यदि गठवन्धनले विशिष्ट परिस्थितिको सामना गर्न दलका वीचमा सहकार्य गर्नु नै पर्ने वाध्यता महसुस ग¥यो भने सोको आधारहरु आम नागरिकले बुझ्ने गरि प्रस्तुत गर्नु पर्छ । यसो हुदाँ लोकतान्त्रिक प्रणाली र नेपालको संविधानलाई केन्द्रमा राखेर यसको स्थायीत्व प्रधान विषय हो भने नागरिकको सहयोग गठवन्धनलाई प्राप्त हुन सक्छ । तर यसको अनुभुति दलहरुले गर्ने निर्णय र कार्यशैलीमा मुखरित हुनु पर्दछ ।
नेपालका प्रमुख दलहरु,यस्को पछाडि सचेत एवम् अनुभवि कार्यकर्ताहरुको विशाल पंक्ति रहेको छ, उक्त जागरूक कार्यकर्ताको पंक्ति सम्मानजनक व्यवस्थापनको पर्खाइमा रहेको छ। यो हरेक दलका लागि आफैमा चुनौतीपुर्ण छ,सबैभन्दा बढी कांग्रेसमा ।
यसका लागि कांग्रेस र अन्य पार्टीले पार्टीलाई आन्तरिक कलहको भुमरीबाट बचाउने हो भने यो पटक दुई पटक सांसद भएका वा दुई पटक निर्वाचनमा परिक्षण भई उपविजेता भएका सवै नेतालाई ‘पावर होलीडे’मा राखेर यूवा,अवसर नपाएका, ईमान्दार, उच्च नैतिक र शैक्षिक योग्यता भएका, सृजनशिल व्यक्तिलाई उम्मेदवार प्रस्तावित गर्ने हो भने दलभित्रको असन्तुष्टि पनि व्यवस्थापन हुन्छ । दलहरुका प्रति नागरिकको आशा तथा भरोसा पनि जीवित हुन्छ र दलहरुको भविष्य सुरक्षित हुन्छ । यसका लागि नयाँ पुस्तालाई सहयोग र साथ दिन ५–७ प्रतिशत सिनियर सक्षम व्यक्तिहरुलाई पनि लिन सकिन्छ । टिकटका लागि देखिएको लुछाचुडी र मारामार रोक्न यो व्यवस्था गर्नु अनिवार्य छ । अन्यथा पुरना राजनैतिक दलहरुसँगै शिशु गणतन्त्रको भविष्य समेत संकटमा पर्ने निश्चित छ । बच्चा जन्माउने र स्याहार गर्ने आमाहरुका वीचमा छोरोको दावा प्रस्तुत गर्दा वास्तविक आमाको पहिचानमा न्यायाधिसले गरेको घोषणासंगै वास्तविक आमाले छोरा आफुसँग नहुदा पनि जीउंदो देख्न जुन त्याग गरिन त्यस्तै त्याग नगर्ने हो भने दलहरुको भविष्य रहला नरहला . शिशु गणतन्त्र अलपत्र पर्ने निश्चित छ । तथ्यलाई दृष्टिगत गरि राजनैतिक दलहरुले निर्णय लिनु पर्ने हुन्छ । आफू सत्तामा रहँदासम्म र यसको लाभ लिँदासम्म लोकतन्त्र र वर्तमान संवैधानिक व्यवस्थाको वकालत गर्ने र सत्ता वाहिर रहँदा वर्तमान राजनितिक प्रणालीलाई दोषी देख्नु प्रमुख राजनितिक दलहरुको गम्भिर विचलन र बेइमानी हो । देशका वर्तमान र भविष्यका चुनौतिहरुको सामना गर्न एउटै घोषणापत्रमार्फत न्यूनतम साझा कार्यक्रम र पाँच वर्षको योजना लिएर सक्षम कार्यकर्तालाई उम्मेदवार बनाई नागरिकहरुको घरदैलोमा नलाने हो भने आगामी चुनावमा गठवन्धन गर्दैमा वहुमत आउँछ र सरकारको वागडोर आफ्नै हातमा रहन्छ भन्ने सोच लिनु दलहरुको गम्भिर भुल हुनेछ । शिक्षित नागरिकहरुमा दलहरुप्रति विश्वास कम हुनु लोकतन्त्रको लागि घातक छ । सबैलाई चेतना भया ।
(लेखक नेपाली कांग्रेसका नेता, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य एवं कांग्रेसबाट गुल्मी २ मा उम्मेदवार सिफारिस हुन् । )