रुपन्देही १ मा घनश्यामलाई मुस्किल, एमाले–राप्रपा–जसपा गठबन्धन १२ हजार मतले अगाडि


appharu

२३ आश्विन २०७९, आईतवार २३:४९ मा प्रकाशित

पालिकापत्र,देवदह । प्रतिनिधिसभा सदस्य पदमा टिकट नपाउने अवस्था देखेपछि नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल पार्टी परित्याग गरी रुपन्देही–१ मा सत्ता गठबन्धनको उम्मेदवार बन्न पुगेका छन् ।

अब भुसालको प्रतिस्पर्धा उनकै पुर्व सहकर्मी एमाले सचिव छविलाल विश्वकर्मासंग हुने छ । विश्वकर्मा २०७४ को निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाकलई पराजित गर्दै निर्वाचित भएका थिए ।
भुसालले रुपन्देही १ जित्ने सम्भावना भएकाले रोजेको बताए पनि भनेजस्तो उनका लागि यो क्षेत्र त्यति सहज भने छैन ।
सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको थियो ।

माओवादी केन्द्रले आफ्नो उम्मेदवार नदिएर भुसाललाई समर्थन गरेपछि माओवादीभित्रै असन्तुष्टी बढेको छ । माओवादीबाट युवा नेता लेखनाथ न्यौपाने,मकसुद अली,शिव धवल लगायत आकांक्षी थिए । तर पार्टी नेतृत्वले माओवादीमा उम्मेदवारै नभएजस्तो गरी घनश्यामलाई उम्मेदवार बनाउने निर्णय गरेपछि आफूहरुलाई भुसालको पक्षमा भोट माग्ने जांगर हराएको माओवादी नेता शिव धवलले बताए ।
घनश्यामकै छिमेकी जगन्नाथ पन्थ पनि रुपन्देही १ मा भुसालले जित्न नसक्ने ठोकुवा गर्छन् । ‘म उहांको छिमेकी हो, उहांलाई भेटेर पनि भनेको छु अहिलेसम्मको इज्जत जोगाउन छ भने यो क्षेत्रमा उम्मेदवार नबन्नुस्’–उनले भने–‘टिकट नपाएपछि पार्टी छाड्ने अनि सत्ता गठबन्धनको उम्मेदवार बन्ने कुराले उहांलाई मतदाताले विश्वास गर्दैनन् ।’
भुसालकै निकट तिलोत्तमाका एक कार्यकर्ताले ओलीकै विश्वासपात्रहरु धेरैले टिकट नपाएको उदाहरण दिंदै भुसालले टिकट नपाउंदैमा पार्टी छाडेर सत्ता गठबन्धनको उम्मेदवार बन्नु गलत भएको टिप्पणी गर्छन् । ‘नेतृत्वले गल्ती गरे होला तर उहां जत्तिको आदर्शका कुरा गर्ने नेता एकपटक टिकट नपाउंदैमा पार्टी छाड्न हुन्थेन,चुनावी नतिजा कुरेर अन्तिमपटक वैचारिक लडाई लड्नुपथ्र्यो ।’
देवदह ९ का मतदाता यज्ञमुर्ति पौडेल पनि भुसालमा सिद्धान्त र विचारको विज्ञता भएपनि चुनावी राजनीतिमा आफ्नो क्षेत्रका मतदाता र जनताको माझमा गइरहने नेता नै सफल हुने बताउंछन् । ‘उहां विचार र सिद्धान्तमा विज्ञ होला तर टिकट पाए नेतृत्व ठीक नपाए बेठीक भनेर पार्टी छाड्ने कुराले उहांलाई राम्रो गर्दैन’–पौडेलले भने–‘सधैं भनेको बेला मीठो भान्सा कहां पाइन्छ र कहिलेकांही कुर्नपनि पर्छ ।’
मतदाताले भने जस्तै स्थानीय तह चुनावमा वडाअध्यक्षहरुले पाएको मत परिणाम हेर्दा पनि भुसाललाई रुपन्देही १ मा जित्न कठीन देखिन्छ । यहां कांग्रेसले ३२९९९, एमालेले ३०३९४, राप्रपाले १४५५२, जसपाले ६६९५, माओवादीले ४२०२, नेकपा एसले १२४३, लोसपाले ३२५ मत पाएका थिए । यस आधारमा एमाले राप्रपा जसपा गठबन्धनको मत ५१ हजार ६ सय ४१ हुन्छ भने सत्ता गठबन्धनको मत ३८ हजार ७ सय ६९ मत हुन आउंछ । यस हिसाबले पनि घनश्याम १२ हजार बढी मतले पछाडि देखिन्छन् । तर यसबीचमा एमाले देवदह नगर अध्यक्ष टिकाराम चापागाई पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएकाले एमालेको केही मत उनले काट्ने छन् । तर सत्ता गठबन्धनको सबै मत घनश्यामलाई आउंछ भन्ने पनि कुनै ग्यारेन्टी नभएकाले उनलाई निकै कठीन देखिन्छ ।
एमाले उम्मेदवार छविलाल विश्वकर्मा एमाले राप्रपा र जसपा गठबन्धनको जितमा कुनै शंका नभएको दावी गर्छन् । ‘स्थानीय तहको मत परिणामले नै हाम्रो जित निश्चित छ, त्यसयता पनि अरु पार्टी छाडेर एमाले प्रवेश गर्ने लहर छ, त्यसैले यहां कसैसंग प्रतिस्पर्धा छैन’– प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपाने (एमएस) ले भने–‘हामीले मतदातामाथि विश्वास गछौं, हाम्रो जित सुनिश्चित भइसकेको छ अबको समय भनेको कति धेरै अन्तरले जित्ने भन्ने मात्रै हो ।’
घनश्याम भुसालले आफ्नो लागि रुपन्देही १ नै बढी सम्भावनाको क्षेत्र भएको र सत्ता गठबन्धनको समर्थन रहेकाले जित्ने बताउंछन् ।
रूपन्देही क्षेत्र नम्बर १ मा देवदह नगरपालिकाका १२ वटै वडा, तिलोत्तमा नगरका वडा नम्बर ७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छन् ।

प्रतिक्रिया दिनुहोस्