समाचारको विषयमा एमाले जिल्ला अध्यक्षले पत्रकारलाई दिए धम्की (अडिओ)


appharu

३१ आश्विन २०७९, सोमबार ०९:५३ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्माले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएका छन् । पालिकापत्रले कपिलवस्तुको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार एमालेका बलराम अधिकारी र सत्ता गठबन्धनका तर्फबाट चक्रपाणी खनाल (बलदेव)को विषयलाई लिएर समाचार प्रकाशन गरेको थियो ।

बलदेव भर्सेज बलरामः असफल जनप्रतिनिधि, अन्यौलमा मतदाता शीर्षकमा पत्रकार चन्द्रकान्त न्यौपानेले बाइनेम समाचार लेखेका थिए ।

यस्तो थियो समाचार

सोही समाचारकै कारण शनिबार साँझ फोन गरी जिल्ला अध्यक्ष शर्माले धम्क्याएका हुन् । उक्त समाचार आचारसंहिता विपरित भएको भन्दै अध्यक्ष शर्माले धम्कीपूर्ण भाषामा तुरुन्त हटाउन भनेका थिए । उनको आग्रहलाई पत्रकार न्यौपानेले नकार्दै समाचार आचारसंहिता विपरित नभएको भन्दै प्रेस काउन्सिलमा उजुरी दिनपछि शर्मा कड्किएका छन् ।

फोन संवादमा न्यौपानेलाई आफ्नो घमण्ड प्रस्तुत नगर्न चेतावनी दिँदै तुरुन्तै समाचार सच्याउन शर्माले उर्दी जारी गरेको अडिओमा सुन्न सकिन्छ । उनले भनेका छन् ‘तपाई ढिपी नगर्नुस्, पत्रकारको हैसियतमा बस्नुस् । पत्रकार न्यौपाने नरमशैलीमा प्रस्तुत हुँदा अध्यक्ष शर्मा भने कड्कँदै गएका छन् । उनले कपिलवस्तुको वातावरण अनुसार समाचार लेख्न आग्रह गर्दै आचारसंहिता पढाउन खोजेको बुझिन्छ ।’

पत्रकार न्यौपानेले आफूले आचारसंहिता पालना गरेको, समाचारमा लेखिएको सामग्री सत्य भएको भन्दै नहटाउने बताएका छन् । यद्यपी यही शीर्षकको समाचारमा अर्का उम्मेदवार बलदेवको कमजोरीको विषयमा पनि लेखिएको छ । यो विषय बलदेवले थाहा पाए पनि सार्वजनिक पद धारण गरेको ब्यक्तिले आरोप, प्रसंसा सबै खेप्नु पर्ने भएकाले आपत्ति जनाउनै पर्ने खालको समाचार नभएको बताए ।

यो विषय सार्वजनिक गर्नु विषय नभएको भए पनि शर्माले दम्भ प्रस्तुत गरेपछि सार्वजनिक गरिएको न्यौपानेको भनाई छ । समाजका विकृति, विसंगति र खराबप्रवृत्ति विरुद्ध खबरदारी गर्नु र जनतालाई सचेत गराउनु पत्रकारको दायित्व रहेको न्यौपानेले बताए । यस विषयमा अन्य पत्रकारले पनि अध्यक्ष शर्माको अभिब्यक्तिमा आपत्ति जनाएका छन् ।

आफूलाई चित्त नबुझेको समाचार भए प्रेस काउन्सिलमा उजुरी हाल्ने ठाउँ हुँदा हुँदै पत्रकारलाई नै धम्काउनु शर्माको कमजोरी भएको पत्रकारहरु बताउँछन् । पत्रकार धम्क्याउने शर्मा पनि जिल्लाको कुनै संचार गृहमा आवद्ध छन् ।

के भनेका थिए शर्माले सुनौँ ।

प्रतिक्रिया दिनुहोस्