सबैभन्दा धेरै प्रति शेयर आम्दानी गर्ने बैंकमा शाइन रेसुंगा पहिलो


appharu

१२ कार्तिक २०७९, शनिबार १८:४१ मा प्रकाशित

टोपराज शर्मा

बुटवल,१२ कात्तिक । राष्ट्रियस्तरका विकास बैंकहरू मध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको प्रति शेयर आम्दानी सबैभन्दा धेरै रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार देशभरका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरु मध्ये शाइन रेसुंगाको प्रतिशेयर आम्दानी ४ रूपैयाँ ८३ पैसाले बढेर २२ रूपैयाँ १२ पैसा पुगेको हो ।

शाइन रेसुंगाबाहेक अरु सबै बैंकको प्रति शेयर आम्दानी घटेको छ । बैंकहरूको खुद नाफा घटेसँगै प्रति शेयर आम्दानी पनि प्रभावित भएको हो । आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमासिकमा शाइन रेसुंगाको प्रति शेयर आम्दानी १७.२९ रुपैयां रहेकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २२.१२ रुपैयां पुगेको हो ।

कामना सेवा विकास बैंकको प्रति शेयर आम्दानी सबैभन्दा धेरै २१.२२ रुपैयां ले घटेको छ भने लुम्बिनी विकास बैंकको २०.६९ रुपैयांले र महालक्ष्मी विकास बैंकको १५.६९ रुपैयांले शेयर आम्दानी घटेको छ । यस्तै ज्योति विकास बैंकको १३.२८ रुपैयांले, मुक्तिनाथ विकास बैंकको ६.९९ रुपैयांले,गरिमा विकास बैंकको ३.२३ रुपैयांले र सांग्रिला विकास बैंको ०.६१ रुपैयांले प्रति शेयर आम्दानी घटेको छ ।

तीन महिनामा पौने ५ अर्ब रूपैयाँ कमाई

राष्ट्रियस्तरका विकास बैंकहरूले ब्याज आम्दानीबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पौने ५ अर्ब रूपैयाँ कमाएका छन् । गत वर्षको यसै अवधिको तुलनामा बैंकहरूको ब्याज आम्दानी २५ प्रतिशतले बढेको हो । गत वर्ष ३ अर्ब ९० करोड ५७ लाख रूपैयाँ कमाएका थिए । यसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ब्याजबाट आम्दानी गरेको छ । यसले तीन महिनामा १ अर्ब बढी ब्याज आम्दानी गरेको छ । अहिले मुक्तिनाथ विकास बैंकले साधारण बचतमा १० प्रतिशतसम्म ब्याज दिइरहेको छ भने मुद्दती निक्षेपमा १३ प्रतिशत छ ।

दोस्रोमा गरिमा विकास बैंकको ब्याज आम्दानी ७९ करोड ६२ लाख रूपैयाँभन्दा बढी छ । यस अवधिमा अरु ७ वटै बैंकको खुद ब्याज आम्दानी बढेको छ ।

चुक्ता पुँजीको हिसाबमा मुक्तिनाथ विकास बैक पहिलो नम्बरमा रहेको छ । अहिले यस बैंकको चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख छ । गत वर्षको यसै अवधिको तुलनामा चुक्तापुँजी १७.५८ प्रतिशतले बढेको हो । ८ वटै बैंकको चुक्तापुँजी समग्रमा १५.९५ प्रतिशतले बढेको हो । गरिमा विकास बैंकको साढे ४ अर्ब बढी पुँजी पुगेको छ भने ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको पनि ४ अर्बमाथि पुँजी छ ।

प्रतिक्रिया दिनुहोस्