जनताको हित र देश विकास गर्न एमालेको जित अपरिहार्य : छविलाल/दधिराम


appharu

२३ कार्तिक २०७९, बुधबार १८:०१ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले जनताको हित र देशको विकासका लागि एमालेको जित अपरिहार्य भएका बताएका छन् । रुपन्देही क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले आम जनताको हित, देशको विकास र राष्ट्रियताको रक्षाका लागि एमालेसंग मात्रै स्पष्ट भिजन र एजेण्डा रहेकाले एमालेलाई जिताउन अपील गरेका छन् ।
बुधबार तिलोत्तमा वडा नं ७ र ९ का विभिन्न स्थानमा घरदैलो र कोणसभामा बोल्दै नेता विश्वकर्माले एमाले जनताको भावना अनुसार काम गर्ने पार्टी भएको समेत बताए ।
उम्मेदवार विश्वकर्माले क्षेत्र नं १ लाई सडक,शिक्षा,स्वास्थ्य पर्यटन र कृषिमा नमूना बनाउने गरी एमालेले योजना अघि सारेको बताए । अव्यवस्थित बसोबासी, सुकुम्बासी र गाउं ब्लकका जनतालाई लालपुर्जा र किसानलाई सिंचाई सुविधा दिने बताए । अहिले गठबन्धन सरकारका कारण महंगी र भ्रष्टाचार बढेको भन्दै यसलाई रोक्न एमाले,राप्रपा र जसपाको गठबन्धनलाई जिताउन आग्रह गरे ।
प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले नेतृत्वको सरकारमा अघि सारेका विकास योजनाहरु पूरा गर्न आफू उम्मेदवार भएको भन्दै तिनलाई पूरा गरेरै छाड्ने बताए ।
घरदैलोका क्रममा जसपा नेता ब्यासमुन चौधरी र राप्रपाका नेताहरुको पनि सहभागिता रहेको एमाले क्षेत्रीय संयोजक हिमाल पाण्डेले बताए । घरदैलोका क्रममा मतदाताले एमाले नै आफूहरुको रोजाईको पार्टी हो भन्दै उम्मेदवारलाई आशिर्वाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्