अमृते सामुदायिक वनको १७औँ साधारणसभा सम्पन्न, ६ करोड ८६ लाखको बजेट पारित


पालिका पत्र

20 September, 2026 9:28 pm मा प्रकाशित

कपिलवस्तु, ४ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–९, भर्तापुरस्थित अमृते सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले सामुदायिक वनको संरक्षण, दिगो उपयोग, उपभोक्ताको आयआर्जन तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न नीति तथा कार्यक्रम पारित गरेको छ।

समूहका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८२/०८३ को कार्यप्रगति समीक्षा गर्दै आगामी वर्षका नीति, कार्यक्रम तथा प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा सामुदायिक वनलाई काठ–दाउरा उत्पादनको स्रोतमा मात्र सीमित नराखी वातावरण संरक्षण, जैविक विविधता, रोजगारी, आयआर्जन र सामाजिक विकासको आधारका रूपमा विकास गर्ने विषयमा जोड दिइएको थियो।

समूहकी सचिव मिना सिंजापतिले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार अमृते सामुदायिक वनमा ३१३ घरधुरीका १ हजार ४२७ उपभोक्ता आबद्ध छन्। गत आर्थिक वर्षमा वन क्षेत्रका विभिन्न प्लटमा सरसफाइ, गोडमेल तथा सुधार कटानका काम गरिएको थियो। वन डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्नुका साथै जोखिमयुक्त क्षेत्रमा निगरानीलाई प्राथमिकता दिइएको समूहले जनाएको छ।

आगामी आर्थिक वर्षमा गरिब तथा विपन्न उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्ने नीति समूहले लिएको छ। उपभोक्ताको मागअनुसार सीप विकास तालिम, उद्यमशीलता प्रवद्र्धन तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए।

कृषि तथा वनसँग जोडिएका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै उन्नत जातका फलफूलका बिरुवा वितरण, बाँस तथा विभिन्न प्रजातिका वृक्षरोपण र पुनरुत्पादन कटान भएका क्षेत्रमा पुनःरोपण गर्ने कार्यक्रम अघि सारिएको उनले बताए।

कोषाध्यक्ष सीता शर्मा भुसालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार समूहले गत आर्थिक वर्षमा वन विकास तथा संरक्षणसँगै सामुदायिक विकासका विभिन्न क्षेत्रमा बजेट खर्च गरेको छ। समूहले आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न योजनागत शीर्षकमा ६ करोड ८६ लाख ६५ हजार रुपैयाँको बजेट प्रस्ताव गरी पारित गरेको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका सिनियर डिभिजनल वन अधिकृत प्रभात सापकोटाले सामुदायिक वन सरकारकै एक अंगका रूपमा रहेर सामुदायिक विकासमा उल्लेख्य योगदान पुर्‍याइरहेको बताए। अमृते सामुदायिक वनको बजेट तथा प्रतिवेदन अध्ययन गर्दा प्रतिपरिवार वार्षिक करिब २ लाख रुपैयाँका दरले लगानी भइरहेको देखिएको उल्लेख गर्दै उनले वन ऐन तथा नियमावलीको अधीनमा रही समूहका गतिविधि पारदर्शी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनहरूले वडाका विभिन्न योजनामा लागत साझेदारीमार्फत काम गरिरहेको बताए। स्थानीय विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा स्तरवृद्धिका लागि पनि सामुदायिक वनले योजना बनाएर सहयोग गर्नुपर्ने उनको भनाइ थियो। विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए।

समाजसेवी नारायण खनालले संस्थागत सुशासनबिना समृद्धि सम्भव नहुने भन्दै सामुदायिक वनको व्यवस्थापनमा यस विषयलाई प्राथमिकता दिनुपर्ने बताए। आपसी सहकार्य र सद्भावको भावना विकास गर्दै संस्थागत निर्णयका आधारमा योजना कार्यान्वयन गर्नुपर्ने उनले बताए।

समूहका सल्लाहकार गोपाल गिरीले उपभोक्ता सदस्यको क्षमता विकास तथा संस्कारयुक्त शिक्षाका लागि पनि आगामी दिनमा योजना बनाउनुपर्नेमा जोड दिए। स्थापना कालदेखि हालसम्म आइपुग्दा अमृते सामुदायिक वनले बजेटको आकारसँगै संस्थागत विकासमा समेत उल्लेख्य प्रगति गरेको भन्दै यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए।

अमृते सामुदायिक वनले वन संरक्षणसँगै समुदायको सामाजिक विकासमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ। उपभोक्ताको सिँचाइ सुविधाका लागि करिब १ हजार ८२० मिटर नहर निर्माण गरिएको, विभिन्न स्थानमा खानेपानीको पाइप विस्तार गरिएको तथा वन डढेलो नियन्त्रणका लागि पानीको पहुँच विस्तार गरिएको समूहले जनाएको छ।

साधारणसभाको अवसरमा भर्तापुर आधारभूत विद्यालय र शुद्धोधन जनजीवन माध्यमिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। साथै सामुदायिक वन उपभोक्ता सदस्य परिवारका ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको थियो। उत्कृष्ट कृषक तथा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको समूहले जनाएको छ।

सभाले वन ऐन तथा नियमावली, सामाजिक तथा लैङ्गिक समानता र वित्तीय साक्षरतासम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने नीति अघि सारेको छ। त्यस्तै गरिब तथा विपन्न समुदायका लागि सीपमूलक कार्यक्रम, खानेपानी तथा सरसफाइ, वन डढेलो नियन्त्रण, जैविक विविधता संरक्षण तथा नदी–खोला कटान नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

लेखा समिति संयोजक विनोद पुनले प्रस्तुत गरेको लेखा प्रतिवेदनमा वनको आर्थिक प्रणालीलाई थप प्रभावकारी बनाउन सफ्टवेयर प्रणालीको प्रयोग तथा दोहोरो लेखा प्रणाली लागू गर्न सुझाव दिइएको छ। बजेटको आकार बढ्दै गएकाले लेखा कर्मचारीमार्फत आर्थिक प्रणालीलाई थप चुस्त र दुरुस्त बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सामुदायिक वन क्षेत्रभित्रका सिमसार तथा पानीका स्रोत संरक्षण गर्दै पर्यापर्यटन प्रवद्र्धन गर्ने, विभिन्न स्थानमा पोखरी निर्माण गर्ने, वन क्षेत्रमा तारबार तथा अग्निरेखा निर्माण गर्ने र वन अतिक्रमण तथा चोरी–शिकार नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि समूहले अघि सारेको छ।

साधारणसभामा सामुदायिक वनलाई स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय समृद्धिको माध्यम बनाउँदै वन संरक्षणमा उपभोक्ताको सहभागितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा सचिव मिना सिंजापतिको सञ्चालन रहेको थियो। कार्यक्रममा वडा नम्बर ९ भित्रका विभिन्न सामुदायिक वन समूहका अध्यक्ष, सञ्चारकर्मी, सामाजिक अगुवा तथा सबडिभिजन वन कार्यालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्