होली पर्वलाई मर्यादित बनाउन कपिलवस्तु प्रहरीद्धारा कडा सुरक्षा


पालिका पत्र

२० फाल्गुन २०७९, शनिबार १५:०० मा प्रकाशित

कपिलवस्तु, २० फागुन । कपिलवस्तु प्रहरीले होलीमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो । होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रेम वस्नेतले जानकारी दिए ।

उनले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।

होली पर्वलाई लक्षित गर्दै ठाउँ ठाउँमा प्रहरी खटाएको छ । सुरक्षा व्यवस्थाका लागि आवश्यकता अनुसार चेक प्वइन्टहरु थप्दै जाने र उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको उपरिक्षक वस्नेतको भनाई छ ।

जिल्लाभारका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई पनि गस्ती गर्न निर्देशन दिइएको उनले बताए ।
होलीमा मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले फागु पूर्णिमाको अवसरमा सभ्य र मर्यादित ढङ्गले सुरक्षित रूपमा घर परिवार, साथीभाइमै होली पर्व मनाउन आग्रह गर्दै कहीँ कतै अमानवीय गतिविधि भएमा सय नम्बरमा सम्पर्क गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्