भोटेकोशीको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशका कुन जिल्लाका कति सम्पर्क विहीन ?


पालिका पत्र

4 September, 2026 7:05 pm मा प्रकाशित

कपिलवस्तु १९ भदौ । भोटेकोशीको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशमा अझै २५८ जना सम्पर्कविहीन छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा सम्पर्कविहीन भएका, मृत्यु भएका तथा सनाखत भई परिवारले शव बुझिसकेकाहरूको विवरण उल्लेख छ ।

जिल्लागत रूपमा सबैभन्दा धेरै बर्दियाका ९१ जना अझै सम्पर्कविहीन छन् । त्यसपछि रुपन्देहीका ४२ जना, दाङका ३५, रोल्पाका २७, बाँकेका २१, रुकुमपूर्वका १४, पाल्पाका ११, प्युठानका १०, अर्घाखाँचीका नौ, गुल्मीका आठ, पश्चिम नवलपरासीका छ र कपिलवस्तुका चार जना सम्पर्कविहीन छन् ।

मन्त्रालयका अनुसार नारायणी नदी किनारमा १६३ वटा शव तथा मानव अङ्ग फेला परेका छन् । तीमध्ये १२० वटा पूर्ण शव र ४३ वटा मानव अङ्ग रहेका छन् । घटनास्थलमा रहेका ६९ शवमध्ये ५४ वटा पूर्ण शव र १५ वटा मानव अङ्ग रहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी लुम्बिनी प्रदेशका विभिन्न अस्पतालमा रहेका शवको विवरण अनुसार जिल्ला अस्पताल नवलपरासीमा ४० जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३१, पिपरा अस्पताल कपिलवस्तुमा छ, भैरहवास्थित मेडिकल कलेजमा छ जनाको शव रहेको छ । त्यसै गरी भीम अस्पताल भैरहवामा तीन तथा पाल्पा अस्पताल, मिसन अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज पाल्पामा आठ वटा शव रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म ४५ जनाको शव व्यवस्थापन गरी गाडिएका छन् । तीमध्ये १९ वटा पूर्ण शव र २६ वटा मानव अङ्ग मात्र रहेका छन् । त्यसै गरी गोरखा, धादिङ र काभ्रेका तीन जनाको शव यहाँ सनाखत भई परिवारलाई बुझाइएको मन्त्रालयले जनाएको छ ।

बेपत्ता नागरिकको खोजी तथा राहत र उद्धारका विषयमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको प्रदेश मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले बेवारिसे अवस्थामा फेला परेका शवको उचित तरिकाले व्यवस्थापन गर्न निर्देशन दिइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्