‘यो गर, त्यो नगर, यस्तो हुनुपर्छ, उस्तो हुनुहुँदैन, यसरी गर्नुपर्छ, त्यसरी गर्नुहुँदैन ।’ हामी कति कुरा सिकाइरहेका हुन्छौं बालबच्चालाई । सामान्य जीवनयापनका कुरादेखि नैतिकताका अनेक पाठ सिकाइरहेका हुन्छौं । जीवन र जगतका बारेमा अर्ती-उपदेश दिइरहेका हुन्छौं ।
किनभने हामीलाई लाग्छ, बालबच्चा केही जान्दैनन् । उनीहरुभन्दा हामी जान्ने-बुझ्ने छौं । त्यसैले बालबच्चालाई हेरेर कुनै कुरा सिक्नुपर्छ भन्ने हामीलाई लाग्दैन । जबकि हरेक बालबच्चा आफैंमा खुला पाठशाला हुन्, जसबाट जीवनका अनमोल कुरा सिक्न सकिन्छ ।
१) सबैप्रति समान व्यवहार र दृष्टि
मान्छेको मूल स्वभाव होइन, अरु कसैलाई विभेद गर्ने । तर जब जब हामी हुर्कंदै जान्छौं हामीलाई कोही कालो लाग्न थाल्छ, कोही गोरो । कोही दुब्लो लाग्छ, कोही पुड्को । कोही फलानो जातको, कोही फलानो ठाउँको । कोही गरिब, कोही धनी । कोही नजिकका, कोही टाढाका । हामी मान्छेअनुसार फरक व्यवहार गर्न थाल्छौं ।
तर बालबच्चाले हरेकलाई समान दृष्टिले हेर्छन् । चाहे त्यो गरिब होस् वा धनी, पराइ होस् वा आफन्त । उनीहरुले सबैलाई गर्ने व्यवहार समान हुन्छ । मान्छेलाई मात्र होइन, जगतका सम्पूर्ण प्राणीलाई पनि उनीहरु विभेद गर्दैनन् । बालबच्चाको यो गुण एकदमै अनुकरणीय हुन्छ ।
२) सधैं सत्य
हामी जति जति हुर्कंदै गयौं उत्ति नै छलकपट गर्न, झुट बोल्न, सत्यभन्दा बढी भ्रम छर्न सिक्यौं । हामीले सही र सत्य छुट्याउन सक्छौं । तर बोली र व्यवहारमा त्यो प्रकट गर्न सक्दैनांैं ।
हाम्रो यस्तै बोली व्यवहारले कतिपय अवस्थामा फन्दामा पनि पार्ने गर्छ । बालबच्चा भने यस्ता हुँदैनन् । उनीहरु आफूलाई राम्रो देखाउन वा बनाउनका लागि झुटको सहारा लिंदैनन् । जे देख्यो, जे बुझ्यो, जे भोग्यो त्यो नै भन्छन् । बालबच्चाको यो स्वभाव पनि हाम्रो लागि अनुकरण गर्न योग्य छ ।
३) जहिले उत्सुक हुने
हामी कुनैपनि कुरामा त्यति धेरै उत्सुक हुँदैनौं, जति बालबच्चा हुन्छन् । उनीहरु चरा देखेपछि कसरी त्यो उड्न सक्यो होला भनेर सोच्न थाल्छन्, फूल देखेर त्यो कसरी रंगीविरंगी भयो होला भनेर सोध्न थाल्छन्, कुनै खेलौना देखेर त्यसभित्र के छ होला भनी खोजतलास गर्न थाल्छन् ।
तर हामीमा भने यस्तो उत्सुकता हुँदैन । घर–व्यवहार, साथी सम्बन्ध, करिअर–पैसा आदिको चक्करमा परेर हामी आफ्नो उत्सुकतालाई मारिरहेका हुन्छौं । त्यसैले हामीसँग प्रश्नभन्दा बढी उत्तर हुन्छ ।
हामीलाई धेरै कुरा जान्ने छु भन्ने लाग्छ । यसैले गर्दा नयाँ नयाँ कुरा सिक्ने जाँगर देखाउँदैनौं । बजारमा आएको नयाँ फेसन, मोबाइलको नयाँ फिचर, संसारमा भइरहेका आविष्कारबारे हामी बेखबर हुन्छौं । त्यसैले बालबच्चामा जुन किसिमको उत्सुकता, प्रश्न हुन्छ त्यो हामीले सधैं कायम राख्नु जरुरी हुन्छ ।
४) सानो कुराबाट पनि खुसी हुनु
बालबच्चालाई खुसी हुनका लागि ठूलै कुरा चाहिंदैन । सानो सानो कुरामा पनि उनीहरु उमंगित हुन्छन् । बालबच्चाको यो प्रवृत्ति हाम्रो लागि एकदमै अनुकरणीय छ ।
तपाईं बच्चालाई ‘स्याबास्’ भन्नुहोस् वा एउटा चकलेट मात्र प्रेमपूर्वक दिनुहोस्, उनीहरु कति खुसी हुन्छन् । तर हामीलाई त त्यसरी खुसी हुन ठूलै कुरा पाउनुपर्ने हुन्छ । सानोतिनो कुरामा पनि खुसी हुने प्रवृत्ति हामीले गुमाइसकेका हुन्छौं । वास्तवमा बालबच्चा जसरी सानोतिनो कुरामा खुसी हुन जरुरी छ र त्यसलाई जीवनभर कायम राख्नुपर्छ ।
५) कुण्ठा र इख नराख्ने
बालबच्चाहरु झगडा गर्छन् तर त्यसकै कारण लामो समय पिरोलिंदैनन् । एकछिन झगडा गर्छन् र क्षणभरमै शान्त हुन्छन् । उनीहरुमा द्वेष, कुष्ठा, इख हुँदैन । त्यसैले केही समयअघि झगडा गरेका दौंतरीसँग मिलेर खेल्न थाल्छन् । रमाउन थाल्छन् ।
उनीहरु चित्त नबुझेको कुरामा विरोध जनाइहाल्छन् । खुसी हुनुपर्ने कुरामा पनि निर्धक्क खुसी भइहाल्छन् । मनमा कुण्ठा हुँदैन ।
तर हामी भने सानोतिनो कुरामा पनि कुण्ठा, द्वेष, इख पालेर बस्छौं, जसले हाम्रा मित्रभन्दा बढी शत्रु हुन्छन् । खासमा त यो मनोविकार हो, जसले हामीलाई भित्रभित्रै रोगी पनि बनाइरहेको हुन्छ । बालबच्चाबाट सिक्न सकिने महत्वपूर्ण कुरा हो, कसैसँग द्वेष, कुण्ठा नराख्नु ।
६) आत्मविश्वास
बालबच्चामा आत्मविश्वासको स्तर गज्जबको हुन्छ । उनीहरु अरुले के भन्छन्, के सोच्छन् भनेर डराउँदैनन् । आफूलाई बढी विश्वास गर्छन् । त्यसैले जे पनि गर्न पछि हट्दैनन् । उनीहरुलाई नाच्न लगाए भने नाचिदिन्छन्, अभिनय गर्न लगाए अभिनय गरिदिन्छन् ।
बालबच्चामा जुन किसिमको आत्मविश्वास हुन्छ, त्यो वास्तवमै जीवनभर कायम राख्न जरुरी हुन्छ ।