दाङमा पाटे बाघको अध्ययन सुरु


पालिका पत्र

८ चैत्र २०७९, बुधबार १८:०६ मा प्रकाशित

दाङको बस्ती पसेर बाघले घरपालुवा जनावर मार्ने क्रम बढेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन थालिएको छ ।

दाङमा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अवस्था पत्ता लगाउन सरकारीस्तरबाट अध्ययन सुरु गरिएको हो ।

दाङ देउखुरीको दक्षिण चुरे क्षेत्रको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गर्ने गरेको स्थानीयले बताए पनि यसको औपचारिक पुष्टि हुन नसकेकाले बाघको अवस्था पत्ता लगाउन अध्ययन थालिएको बताइएको छ ।

बाघको अवस्था, उसलाई चाहिने आहारा, बासस्थानलगायत अन्य वन्यजन्तुको समेत अवस्था पत्ता लगाउन राजपुर गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा पर्ने चुरे क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको छ । झन्डै दुई सय क्यामरा जडान गरिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।

देउखुरी क्षेत्रको वनमा बाघ रहेको कुरा बाख्रा मारिएको घटनाले पुष्टि भएको र यसको आधिकारिक पुष्टिका लागि सर्भे थालिएको जनाइएको छ । दाङमा वन नजिकका बस्तीमा बाघ, चितुवा लगायतका वन्यजन्तु पस्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्