शिक्षा, स्वास्थ्य र पूर्वाधारमा केन्द्रित बाणगंगाको नयाँ नीति तथा कार्यक्रम


पालिका पत्र

२८ जेष्ठ २०८३, बिहीबार ०६:४६ मा प्रकाशित

जेठ २८ ।

बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि “ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा” अभियानलाई केन्द्रमा राख्दै विकास, सुशासन र नागरिक सेवामा आधारित महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १९औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, डिजिटल सेवा तथा सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ।

नगर प्रमुख चक्रपाणि अर्यालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बुधबार सम्पन्न नगरसभाबाट पारित भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । अब नगरसभाको दोस्रो बैठक आगामी असार १० गते बस्नेछ, जसमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ ।

नगरपालिकाले आगामी वर्षलाई सामाजिक अभियान परिपूरण वर्ष तथा शिक्षामा आधुनिकीकरण वर्षका रूपमा मनाउने घोषणा गरेको छ। स्वास्थ्यतर्फ पिपरा अस्पताललाई २५ शय्यामा स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने, निःशुल्क एम्बुलेन्स सेवा, पाठेघर क्यान्सर स्क्रिनिङ, सिकलसेल परीक्षण तथा विभिन्न स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ।

शिक्षा क्षेत्रमा ई–लर्निङ, डिजिटल कक्षा, स्मार्ट विद्यालय, कृत्रिम बुद्धिमत्ता एआई आधारित सिकाइ प्रणाली तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा विशेष जोड दिइएको छ। भाषा, कला, संस्कृति तथा पुरातात्त्विक सम्पदाको संरक्षणका लागि अनुसन्धान र सांस्कृतिक सङ्ग्रहालय निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।

पूर्वाधारतर्फ अधुरा योजनालाई पहिलो प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, खानेपानी, ढल निकास, घर नम्बरिङ, फोहरमैला व्यवस्थापन, सार्वजनिक यातायात सुधार तथा हरित विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ। “एक घर एक धारा” अभियानलाई पूर्णता दिन र नगरका मुख्य चोकहरूमा डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

कृषि तथा आर्थिक विकासतर्फ ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी बनाउँदै कृषि उपज सङ्कलन केन्द्र निर्माण, कृषि यान्त्रिकीकरण, बीउ उत्पादन, किसान प्रोत्साहन तथा युवालाई कृषि उद्यममा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ। पर्यटन, उद्योग, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमार्फत रोजगारी सिर्जना र आय वृद्धि गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।

आगामी आर्थिक वर्षका लागि सङ्घ, प्रदेश, आन्तरिक स्रोत तथा सामाजिक सुरक्षा लगायतका शीर्षकबाट कुल १ अर्ब ८९ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको स्रोत परिचालन हुने अनुमान गरिएको छ।

नगर प्रमुख चक्रपाणि अर्यालले प्रस्तुत नीति तथा कार्यक्रम केवल विकासका योजना नभई बाणगंगाको समृद्ध भविष्य निर्माणको साझा मार्गचित्र भएको बताए। उनले “ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा” अभियानलाई व्यवहारमा उतार्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा गुणात्मक परिवर्तन ल्याइने उल्लेख गरे।

मेयर अर्यालले भने, “हामीले तयार गरेको नीति तथा कार्यक्रम नागरिकको आवश्यकता र सुझावका आधारमा निर्माण गरेका छौं। सुशासन, पारदर्शिता, डिजिटल प्रशासन, सामाजिक समावेशीकरण र वातावरण संरक्षणलाई केन्द्रमा राख्दै समृद्ध, आत्मनिर्भर र नागरिकमैत्री बाणगंगा निर्माणमा सबै पक्षको सहकार्य आवश्यक छ। विकासको प्रतिफल प्रत्येक नागरिकको घरदैलोमा पुर्‍याउने हाम्रो प्रतिबद्धता छ।”

उनले आगामी वर्षलाई परिणाममुखी कार्यान्वयनको वर्षका रूपमा अघि बढाइने र नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्