मायादेवीमा हुने प्रथम प्रर्दशनी मेलाको तयारी पुरा

मेलाको उद्घाटन भोली हुने


पालिका पत्र

१८ बैशाख २०८०, सोमबार १९:१८ मा प्रकाशित

बैशाख १८ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा आयोजना हुने ‘प्रथम मायादेवी कृषि ब्यवसाय प्रवद्र्धन प्रर्दशनी मेला’को तयारी पुरा भएको आयोजकले जनाएको छ । गाउँपालिकाको मुख्यबजार पकडिमा आयोजना हुने मेलाको पुर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी तथा सञ्चालनका बारेमा जानकारी दिइएको हो ।

बैशाख १८ गतेदेखि ३० गतेसम्म पालिकाको केन्द्र पकडिमा आयोजना हुने महोत्सवको तयारी पुरा भएको आयोजक मायादेवी गाउँपालिकाले जनाएको छ । मेलाको उद्घाटन भने भोली हुने गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए ।

महोत्सव मूल आयोजक समितिका संयोजक मुसलमानले प्रथम संस्करणको महोत्सवको तयारी पुरा भएको बताए । ‘महोत्सव दिउँसो ३ बजेदेखि राती १० बजेसम्म संचालन गरिनेछ, मेलाको आयोजना निकै कठिनाईका बाबजुद सञ्चालन गर्न लागिएको छ, उनले भने ।

महोत्सवमा करिब ५० लाख बढीको कारोबार हुने लक्ष्य राखिएको उनले बताए । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, कृषि, पर्यटन, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापार प्रर्बद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष मुसलमानले बताए ।

२० हजार बढी दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवको मुख्य आकर्षणको रुपमा कपिलवस्तु लगायत आसपासका पर्यटकिय तथा ऐतिहासिक क्षेत्रहरुको प्रदर्शनी, बाल उद्यानका साधन, आधुनिक झुलाहरु, स्थानिय कृषि कला तथा संस्कृतिको संरक्षण, प्रबद्र्धनको लागि विभिन्न कार्यक्रमहरु, सांस्कृतिक झाँकी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिले जानकारी गराएको छ ।

चुनौतीका बावजुद पनि मेलाको सञ्चालन गर्न लागिएकाले मौषमको चुनौती प्रमुखता रहेको प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद मधुशरण चौधरी, पुर्वसांसद तथा मन्त्री सहसराम यादव, गाउँपालिकाका सल्लाहाकार, पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्