विपद्को सूचना पाएपछि ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न मातहतलाई निर्देशन


12 July, 2026 7:32 pm मा प्रकाशित

कपिलवस्तु, २८ असार । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवस्रोत विभागका विभागीय प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनीकुमार पोखरेलले अन्तर्राष्ट्रिय सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व चुहावट रोक्न सरकारको ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

लुम्बिनी प्रदेशका विभिन्न सीमा नाकाहरूको स्थलगत अनुगमनका क्रममा आइतबार कपिलवस्तुस्थित कृष्णनगर, खुनुवा र चाकरचौडा भन्सार क्षेत्रको निरीक्षण गर्दै एआईजी पोखरेलले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ निरन्तर निगरानी तथा सुरक्षा व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन्।

उनले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, तस्करी तथा राजस्व चुहावट नियन्त्रणमा कुनै प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट पार्दै सीमा सुरक्षालाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सबै युनिटले समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिए।

अनुगमनका क्रममा एआईजी पोखरेलले सीमा क्षेत्रका स्थानीय नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सीमा सुरक्षासम्बन्धी उनीहरूको सुझाव तथा गुनासा पनि सुनेका थिए। उनले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा शान्ति सुरक्षाजस्ता विषयमा स्थानीय समुदाय र सशस्त्र प्रहरीबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने उल्लेख गर्दै जनसहभागिताबाट मात्रै सीमा व्यवस्थापन प्रभावकारी बन्न सक्ने विश्वास व्यक्त गरे।

उनले सीमा क्षेत्रमा खटिएका प्रत्येक सशस्त्र प्रहरी कर्मचारी २४सै घण्टा उच्च सतर्कताका साथ ड्युटीमा रहनुपर्ने बताउँदै कुनै पनि अवैध गतिविधि हुन नदिन निरन्तर निगरानी बढाउन निर्देशन दिए।

यसैबीच, मनसुन सक्रिय भएसँगै बाढी, डुबान, कटान तथा अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै एआईजी पोखरेलले विपद् व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले सम्भावित विपद्को सूचना प्राप्त भएको ६ मिनेटभित्र आवश्यक उद्धार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण र जनशक्तिसहित उद्धार टोली घटनास्थलतर्फ परिचालन हुन सक्ने क्षमतामा रहन मातहतका सबै युनिटलाई निर्देशन दिएका छन्।

”नागरिकको जीउधनको सुरक्षा सशस्त्र प्रहरीको पहिलो दायित्व हो,” उनले भने, ”विपद्को समयमा एक मिनेटको ढिलाइले पनि ठूलो क्षति हुन सक्छ, त्यसैले प्रत्येक टोली २४सै घण्टा पूर्ण तयारी अवस्थामा रहनुपर्छ।”

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमा सुरक्षालाई थप सुदृढ, प्रभावकारी र पारदर्शी बनाउन देशव्यापी रूपमा अनुगमन टोली परिचालन गरिरहेको जनाएको छ । सोही अभियानअन्तर्गत कपिलवस्तुस्थित सशस्त्र प्रहरी बल नम्बर २८ गण हेडक्वार्टर तथा मातहतका विभिन्न सीमा सुरक्षा युनिटहरूको निरीक्षण गरिएको हो ।

अनुगमन भ्रमणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक अधिकारीको पनि सहभागिता रहेको थियो ।

कपिलवस्तुको अनुगमन सम्पन्न गरेपछि एआईजी पोखरेल नेतृत्वको टोलीले रुपन्देही र नवलपरासीका प्रमुख सीमा नाकाहरूको समेत निरीक्षण तथा अनुगमन गर्ने कार्यक्रम रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्