कपिलवस्तुका सांसद आचार्य मन्त्रीमा नियुक्त


पालिका पत्र

२४ बैशाख २०८०, आईतवार १०:५३ मा प्रकाशित

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफनौं ९ औं पटक मन्त्रीपरिषद विस्तार गरेका थिए । जसअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू रहेका छन् ।

नवनियुक्त  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्  । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ  गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्