नयाँ बुटवल–लमही ४०० केभी विद्युत प्रसारण

२६ अर्ब ४० करोडको बजेटमा दुई सय मेगावाट विद्युत बोक्ने क्षमता


पालिका पत्र

११ जेष्ठ २०८०, बिहीबार १४:५३ मा प्रकाशित

कपिलवस्तु, जेठ ११ ।
नेपाल विद्युत प्राधिकरणले लुम्बिनी प्रदेशमा १ सय ६० किलोमिटर लामो ४ सय केभी डबल सर्किट भएको प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । अन्तरदेशीय बिद्युत प्रसारण लाइन बिस्तार गर्ने र भविष्यमा विद्युत आपूर्ति सहज बनाउने उद्देश्यले नयाँ बुटवल–लमही ४०० केभी विद्युत प्रसारण लाइन तथा सवस्टेशन आयोजना कार्यान्वयन हुने भएको हो ।

२६ अर्ब ४० करोडको प्रस्तावित बजेटमा दुई सय मेगावाट विद्युत बोक्ने क्षमताको विद्युत प्रसारण लाइन तथा सवस्टेशन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश भित्र नयाँ विद्युत प्रसारण लाइन तथा सवस्टेसन बन्ने र यसबाट उज्यालो नेपाल अभियान कार्यान्वयनलाई थप योगदान पुग्ने नेपाल विद्युत प्राधिकरण चार सय केभी प्रसारण लाइन आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले बताए ।
प्रसारण लाइन नवलपरासी (पश्चिम) जिल्लामा रहेको नयाँ बुटवल सबस्टेशन (भूमही)बाट सुरु भई रुपन्देही, कपिलवस्तुको मोतिपुर सबस्टेशन, अर्घाखाँची हुँदै दाङको लमही सबस्टेशनमा पुगेर टुङ्गिने आयोजनाले जनाएको छ ।

यस्तै, नवलपरासी (पश्चिम)को सुनवल नगरपालिकाको ४, ६, ७, ११ र १३ नम्बर वडा, रुपन्देहीको देवदह नगरपालिकाको ५, ६, ७, ९ र १० नम्बर वडा, बुटवल उपमहानगरपालिकाको १, २, ३, ४, ६, ७, १२ र १३ नम्बर वडा, सैनामैना नगरपालिकाको १, २, ३, ५, ६, ९ र १० नम्बर वडा, कपिलवस्तुको बाणगंगा नगरपालिकाको २, ७, ८ र ९ नम्बर वडा, बुद्धभुमी नगरपालिकाको १, ३ र ९ नम्बर वडा, शिवराज नगरपालिकाको १, ३ र ९ नम्बर वडा भएर टावर निर्माणमार्फत बिद्युत प्रसारण हुने छ । यस्तै, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र दाङको गढवा गाउँपालिकाको वडा नम्बर १, राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ८ र लमही नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८ र ९ भएर प्रसारण हुनेछ ।

तोकिएको आयोजना स्थलमा कुल चार सय ४३ वटा टावरहरु निर्माण गरिनेछ । जसमध्ये २१३ डिए, १३५ डिबी, २६ डिसी, ४९ डीडी र १३ क्यु डिडी प्रकारका टावरहरु हुने छन् । सबैभन्दा अग्लो टावर ९० मिटर र सबैभन्दा होचो टावर ६४ मिटरको हुनेछ । अधिकांश टावरको उचाई औषतमा ७० मिटरको हुनेछ ।

भूमहीदेखि रिहारसम्मको बिद्युत प्रसारण लाइन बन्दै गर्दा दुईस्थानमा सबस्टेशन निर्माण हुनेछन् । कपिलवस्तुको बाणगंगा नगरपालिका, ७ मोतीपुरमा नयाँ विद्युत प्रसारण लाइनको सव स्टेशन निर्माण हुनेछ । जुन सवस्टेशन ९.९ हेक्टर क्षेत्रफलमा फैलिने छ । यस्तै, लमही नगरपालिका–९ रिहारमा पनि नयाँ विद्युत प्रसारण लाइनको सव स्टेशन निर्माण हुनेछ । जुन सवस्टेशन ११ हेक्टर क्षेत्रफलमा फैलिने छ । यसले विद्युतको आपूर्ति धान्न नसक्ने अवस्थामा चार सय केभी नयाँ प्रसारण लाइन आयोजना आवश्यक परेको जनाइएको छ ।

देशमा विद्युतको माग पूरा गर्न नयाँ प्रसारण लाइन आवश्यक परेको विद्युत प्राधिकरणले जनाएको छ । ‘यो आयोजना कार्यान्वयनमा आयो भने लो भोल्टेजको समस्या समाधान हुन्छ, नयाँ उद्योगहरुलाई सहज रुपमा विद्युत पु¥याउन सकिन्छ’– आयोजना प्रमुख झाले भने– ‘यति मात्रै होइन, यो प्रसारण लाइन मार्फत अन्तरदेशीय विद्युत व्यापार समेत गर्न सकिन्छ, भारतमा विद्युतको माग धेरै हुँदा त्यहाँ बिक्री गर्न सकिन्छ ।’

पूर्व–पश्चिम नयाँ प्रसारण लाइन राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । एशियाली विकास बैंकको लगानीमा आयोजना सञ्चालनको तयारी छ । विद्युत प्राधिकरणबाट लाइन निर्माणको लागि सहमति प्राप्त भएको छ । ‘विद्युतको माग पश्चिम क्षेत्रमा बढ्दो छ, १३२ केभी प्रसारण लाइनले १०० मेगावाट विद्युत धान्न सक्दैन’– आयोजना प्रमुख झाले भने– ‘स्थानीय माग बढ्दो छ, त्यसमा पनि ठूला उद्योगहरु बन्ने क्रममा रहेकाले विद्युतको माग बढ्दो छ, यही मागलाई पूरा गर्न नयाँ प्रसारण लाइन आवश्यक परेको हो ।’

अहिलेसम्म सर्भेको काम सकिएको छ । प्रसारण लाइनको टावर बस्ने स्थानहरुको निर्धारण गर्ने काम भएको छ । माटो परीक्षण, टावर तथा टावरको फाउण्डेशन डिजाइन गर्ने, लाइडर सम्वन्धी ठेक्कापट्टाको कामहरु शुरु भएको छ । बोलपत्रको कागजातहरु तयार पार्ने काम शुरु भएको र प्रारम्भिक अधिकृत तोक्नको लागि मन्त्रालयमा पत्र पठाइएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्