कपिलवस्तुको चुरे क्षेत्र दोहनकर्ताको चंगुलमा, भूमिगत जलश्रोत संरक्षणमा स्थानीय सरकार मुखदर्शक !

दर्जनौं गाउँ काकाकुल बन्दै


२ असार २०८०, शनिबार १९:५८ मा प्रकाशित

कपिलवस्तु, असार २ । खानेपानीका लागि तराई-मधेशको सजिलो साधन हो, चापाकल (ट्युबवेल) अर्थात नल्की । चापाकल जडान गर्न सुरुमा ठाउँ छनोट ग¥यो, मिस्त्री बोलायो । पाइप ल्याएपछि जडानको काम झन्झटिलो छैन् । त्यसैले तराईका जिल्लामा धाराको सट्टा ट्युबवेल प्रभावकारी देखिन्छ ।

सरल र सजिलो खानेपानीको माध्यम बनेको चापाकलमा पछिल्लो समय पानीको सतह क्रमिक रुपमा घट्दै गएको छ । भूमिगत पानीको मुहान सुकेपछि कपिलवस्तुका दर्जनौँ गाउँबस्ती काकाकुल बनेका छन् । चुरेको अनियन्त्रित उत्खनन् तथा अत्यधिक दोहनले जिल्लाका अधिकांश स्थानमा रहेका भूमिगत जलका स्रोतहरू सुक्न थालेपछि खानेपानीको हाहाकार भएको हो ।

पछिल्लो समय चुरे क्षेत्रसँग जोडिएका जिल्लाको बाणगंगा, बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा समस्या देखिएको हो । तराईको भू–जलाधारको प्रमुख श्रोत नै चुरे क्षेत्र हो । बस्ती नजिकका खोला नालादेखि चुरे क्षेत्रमा हुने अत्यधिक दोहनको असर जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाले भोग्न बाध्य छन् ।

चुरे जलाधार क्षेत्रको संरक्षण तथा ब्यवस्थापनको अभावमा प्रशस्त जलश्रोत भएपनि तराई–मधेशमा खानेपानीको अभाव देखिएको छ । बढ्दो उष्णतासँगै कपिलवस्तुका बाणगंगा, बोडगाउँ, पिपरा, नन्दनगर, बनगाई, मोतीपुर, भलवाड, भर्लाबास, भर्तापुर, महेन्द्रकोट, बिरपुर, गोरुसिंगे, खरेन्द्रपुर, शिवपुर लगायतका क्षेत्रमा गहिरो गरी गाडिएका चापाकल (नल) बाट समेत पानी आउन छाडेको छ ।

बाणगंगा ९ को भर्लाबास, भर्तापुर क्षेत्रमा चापाकल गाडेको तीनदशक पछि यसपाली भने पानी सुकेको भलवाडवासी बताउँछन् । पानीको मूल सुक्दै जान थालेकाले भर्लाबास र भर्तापुर गाउँलाई खानेपानी समस्याले चर्को रूपमा गाँजेको छ । कोइली र घिरी खोलाको उत्तरवर्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको स्थानीयले बताएका छन् । बाटो निर्माण गर्दा धारा मर्मतमा ध्यान नदिएको र खोलाको अत्यधिक दोहनले गर्दा भूमिगत पानीका श्रोत सुक्दै गएको उनीहरु बताउँछन् ।

बाणगंगा– ८ मधुवन, बोडगाउँ लगायत बाणगंगा नदी किनारका बस्तीका जनता पनि खानेपानीको चरम अभाव खेप्न बाध्य छन् । ‘केहि समय अघिसम्म धाराबाट पानी प्रशस्त आउने गथ्र्योे,’ स्थानीय रबिना कँडेल भन्छिन्, ‘यसपाली त धाराबाट समेत पानी निक्कै सानो आउन थाल्यो,।’ बैरियाकी कोपिला पोख्रेलको पनि समस्या उस्तै छ । उनले धारामा पानीको प्रेसर निक्कै कम भएको गुनासो गर्छिन् ।

बुद्धभूमि नगरपालिकाका जनता पनि काकाकुल बन्न पुगेका छन् । चुरे नजिकैको पथ्थरकोट, महेन्द्रकोट, बीरपुर लगायतका अधिकांश क्षेत्रका बासिन्दा पानीको चर्को अभाव बेहोर्न बाध्य छन् । पानीको मुहान तलतल गएपछि यहाँका स्थानीयलाई खानेपानीको समस्या झन्झन् चुलिँदै गएको स्थानीय रामप्रसाद भूसाल बताउँछन् । “नुहाउन कपडा धुन त परै जावोस्, खाना बनाउन समेत पानीको अभाब भैसक्यो” गोरुसिंगेकी संगीता पौडेलको दुःखेसो छ ।

चुरे फेदीमा अवस्थित शिवराज नगरपालिकामा पनि खानेपानीको चर्को संकट छ । उत्तरको चुरेमा वन फँडानी र ढुंगा उत्खननका कारण खानेपानीका स्रोतका रूपमा रहेका बस्तीबस्तीका धारा, चापाकल, इनार सुकेका छन् । शिवराजको मुख्य बजार चन्द्रौटा क्षेत्रमै खानेपानीको समस्या रहेको स्थानीय गोपाल बन्जाडे बताउँछन् ।

खानेपानीको समस्या जिल्लाको उत्तरवर्ती क्षेत्रबाट फैलिँदै बिस्तारै दक्षिणवर्ती क्षेत्रमा समेत सुरु भइसकेको छ । पाँच वर्षअघिसम्म जिल्लाका बाणगंगा, कपिलवस्तु, बुद्धभूमि, शिवराज, कृष्णनगर क्षेत्रमा ट्युबवेल जडान गर्दा ४० फिट गहिराइमा भेटिने पानीको सतह पाउन अहिले १०० फिट भन्दा तल जानुपर्छ । उक्त स्थानमा रहेका भूमिगत जलका स्रोतका रूपमा रहेका धारा र आर्टिजन बोरिङ सुक्ने क्रम बढेको छ ।

खानेपानीको समस्या आउनु भनेकै तराईमा खानेपानीको संकट बढ्नुको संकेत हो । असारको पहिलो सातामा समेत मनसुन सक्रिय नहुने र खडेरी लम्बिँदै जाने हो भने तराईमा खानेपानीको संकट बढ्न सक्ने देखिएको छ । पश्चिम तराईको खानेपानीको मुख्य स्रोत चापाकल नै हो । जमिनमुनिको पानी चापाकल मार्फत निकालेर पिउने पानीको रूपमा वर्षौंदेखि प्रयोग गरिँदै आएको छ ।

चुरेमा भइरहेको अवैध उत्खनन र विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तनका कारण भूमिगत पानीको स्रोत सुक्दै गएको वातावरण क्षेत्रका जानकारहरूको तर्क छ । यता, तराईमा गैरकानुनी रूपमा पानी तान्ने क्रम पनि बढ्दो छ । खानेपानी कार्यालय र स्थानीय सरकारको अनुमति लिएर बोरिङ लगाउनुपर्ने प्रावधान छ, यस्तै व्यापारिक प्रयोजनका लागि डिप ट्युबवेल राख्न खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार लाइसेन्स पनि लिनुपर्ने हुन्छ ।

तर तराईमा उद्योगधन्दा, कलकारखाना, ठूला–ठूला होटल र सुपरमार्केटहरूले आफु खुसी पानी निकालिरहेका छन् । सर्वसाधारणले बढीमा दुई इन्च सम्मको पानी निकाल्ने गरेकोमा उद्योगधन्दा, कलकारखाना, ठूला–ठूला होटल र सुपरमार्केटहरूले चार इन्च सम्मको पानी निकालिरहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्