बजेटप्रति असन्तुष्टि जनाउँदै घोराही उपमहानगरका वडाध्यक्षले दिए राजीनामा


पालिका पत्र

१४ असार २०८०, बिहीबार ११:१२ मा प्रकाशित

घोराही, असार १४ । घोराही उपमहानगरपालिका–८ का अध्यक्ष जितेन्द्र शाहले बजेटप्रति असन्तुष्टि जनाउँदै राजनीनामा दिएका छन्। आफूले उपमहानगरमा पठाएका २६ मध्ये एउटा पनि योजना नपरेको भन्दै उनले राजीनामा दिएका हुन्।

एमालेबाट वडाध्यक्ष निर्वाचित उनले उपमहानगरको मेयरमा आफ्नै पार्टीको हुँदा पनि विकास बजेटमा वास्ता नगरेका कारण राजीनमा दिएको उनले बताए । उनले भने,‘ कांग्रेस वा माओवादीको मेयर भएको भएपनि प्रतिपक्षलाई त्यही अनुसार गरेर भन्ने हुन्थ्यो । तर, एमालेको मेयर हुँदा पनि २६ वटा योजनामा एउटा नपर्नु भनेको के हो ? यसरी गर्दा मैले जनताको काम गर्न सक्दिनँ। त्यसैले राजीनामा दिएको हुँ।’

उनले गत वर्षभन्दा १५ करोड मात्र अहिले बजेट घटेर आएको र विकासको लागि भन्दा पनि अहिलेको बजेट धेरै तालिम गोष्ठीको लागि छुट्टाएकोमा आपत्ति जनाए । गत वर्ष प्रत्येक वडाका २–३ करोडको बजेट गएको भन्दै उनले अहिले २०–२५ लाख मात्र दिएर सबै आफ्नो कब्जामा राखेको समेत बताए । यस्तै उनले अहिलेको बजेट कर्मचारीहरुले आ–आफ्नो सेटिङमा बनाएको जस्तो रहेको आरोप लगाए ।

उपमहानगरले ल्याएको बजेटप्रति अन्य वडाले पनि असहमति जनाएका छन्। वडाले गरेको माग अनुसार बजेट विनियोजन नगरेको भन्दै उनीहरुले असहमती जनाएका छन् । वडा नं १५ ले बजेटप्रति असन्तुष्ट जनाउँदै विरोधका कार्यक्रम समेत गर्दै आएको छ। वडाध्यक्ष, वडा सदस्य तथा टोलविकास संस्थाका अध्यक्षहरूसहित उपमहानगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाउँदै आफुहरुको माग सम्बोधन गर्न समेत माग गरेका छन्। वडाध्यक्ष रमेशकुमार पाण्डेले उपप्रमुख हुमाकुमारी डिसीलाई ज्ञापन पत्र बुझाएका छन्।

‘हामीले वडाका सबै टोलका अध्यक्ष तथा प्रतिनिधिसँग बसेर यहाँको ढल निकास र सडक निर्माणको लागि न्युनतम साझा कार्यक्रम बनाएको थियौँ’, उनले भने, ‘ढल निकास र सडकको स्तरोन्नतिलाई प्राथामिकता राखेर पटक पटक उपमहानगरसँग माग गरेका थियौँ । तर, अहिलेको बजेटले वडाको विकास नहुने भएकाले हामी यसमा सहमत छैनौँ।’

प्रतिक्रिया दिनुहोस्