चोरी गरी अवैध डम्पिङ गरिएको नदीजन्य पदार्थ शिवराज नगरपालिकाद्धारा जफत

नदीजन्य पदार्थ चोर्ने जो कोहिलाई बाँकी नराख्ने नगर प्रमुख थापाको चेतावनी


पालिका पत्र

१९ असार २०८०, मंगलवार १९:४४ मा प्रकाशित


शिवराज, असार १९ ।
कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नदीजन्य पदार्थको चोरी गर्नेमाथि कठोर कदम चालेका छन् ।
सोमबार मात्र नदीजन्य पदार्थ चोरी गरी अवैध रुपमा डम्पिङ गरी राखिएको सामग्री नगर प्रमुख थापाको सक्रियतामा जफत गरिएको छ ।

बर्खा लागेसँगै शिवराज भित्र नदीजन्य पदार्थ चोर्ने गिरोह सक्रिय हुँदै आएको छ । हिउँदभरी ठेक्का मार्फत नदीजन्य पदार्थ निकाल्ने गरेपनि बर्खामा ठेक्का लागेको हुँदैन् । यसैको मौका छोपेर बर्खामा नदीजन्य पदार्थको चोरी हुने गरेको छ ।

नगर प्रमुख थापाले नदीजन्य पदार्थ चोर्ने जो कोहिलाई बाँकी नराख्ने चेतावनी दिदैं आएका छन् । उनले अब नदीजन्य चोरी गर्नेमाथि जरिवान तोकेरै अगाडी बढ्ने बताएका छन् ।

नगर प्रमुख थापाका अनुसार नदीजन्य पदार्थ चोर्नेलाई प्रति ट्याक्टर ५० हजार, प्रति टिप्पर एक लाख, प्रति जेसिबी एक लाख ५० हजार जरिवान तिराईनेछ ।

यस्तै दोस्रो पटक पनि चोरी गरेको पाइए सिधै दुई लाख जरिवाना तिराइने छ भने तेस्रो पटक भेटिए साधन नै लिलामीको प्रक्रियामा लैजाने उनले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्