कपिलवस्तु, असार २७ । चालु आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश सरकारले ७१.७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आ.व.मा लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेटमध्ये असार २४ गते रातिसम्म ३० अर्ब ५७ करोड ७४ हजार ४५४ मात्रै खर्च गरेको हो । यो कुल बजेटमा खर्च भएको ७१ दशमलव ७० प्रतिशत हो ।
विभिन्न मन्त्रालय, निकाय, कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ ७०.६५ प्रतिशत अर्थात १२ अर्ब ८२ करोड ९३ लाख ८९ हजार ५२७ तथा पुँजीगत अर्थात बिकास खर्चतर्फ ७२.४८ प्रतिशत अर्थात १७ अर्ब ७४ करोड ६ लाख ८५ हजार २२५ रुपैया खर्च भएको प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार चालु आ.व. मा मन्त्रालयतर्फ सबैभन्दा बढी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले ७७.२७ प्रतिशत र सबैभन्दा कम आर्थिक मामिला मन्त्रालयले ३१.५२ प्रतिशत मात्र खर्च गरेको छ ।
सरकारी निकायतर्फ प्रदेश सभाले ६५.१६ प्रतिशत, प्रदेश लोक सेवा आयोगले १७६.७१ प्रतिशत, मुख्यन्यायाधिवक्ता कार्यालयले ८१.०९, प्रदेश योजना आयोगले ५३.५३ प्रतिशत बजेट खर्च गरेका छन् ।
मन्त्रालयतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६९.५८, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले ६३.३६, कृषि तथा भूमि ब्यवस्था मन्त्रालयले ५९.१८, आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले ६५.८२ प्रतिशत खर्च गरेको छ ।
त्यसैगरि, वन तथा वातावरण मन्त्रालयले ७६.१९, भौतिक पूर्वाधार विकास मन्त्रालयले ७६.०२, सामाजिक बिकास मन्त्रालयले ६८.३२, स्वास्थ्य मन्त्रालयले ६५.४० र स्थानीय तहलाई शसर्त अनुदानतर्फ ९१.११ प्रतिशत बजेट सरकारले खर्च गरेको लेखा नियन्त्रक ज्ञवालीले जानकारी दिएका छन् ।
यता, चालू बजेटको जम्मा खर्चको यो प्रतिशत पुराउन पनि पछिल्लो ४ दिनमा कुल बजेटको ११ दशमलव ८ प्रतिशत बजेट अर्थात् ४ अर्ब ७२ करोड ४० लाख बजेट खर्च गरिएको छ ।
आर्थिक वर्षको अन्तिम ४ दिन असारको २० गतेदेखि २४ गतेसम्मको अवधिमा यो बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष शुरुवातको ४ महिना अर्थात् कात्तिकसम्म जम्मा ३ अर्ब ७६ करोड बजेट मात्रै खर्च गरेको थियो । त्यो चार महिनाको खर्चभन्दा अहिले ४ दिनमा बढी खर्च भएको हो ।
असार ७ गतेदेखि २४ गतेसम्म मात्रै ७ अर्ब ३५ करोड ४६ लाख बजेट खर्च भएको कोलेनिकाले जनाएको छ । जुन कुल बजेटको १७ दशमलव २५ प्रतिशत बजेट हो । सरकारले असार ७ गतेसम्म चालू र पूँजीगत खर्च गरी ५३ दशमलव ४५ प्रतिशत अर्थात् २२ अर्ब ७९ करोड २ लाख २८ हजार रुपैयाँ बजेट खर्च गरेको थियो । जसमा चालुतर्फ ५७ दशमलव ९५ प्रतिशत र पूँजीगत खर्चतर्फ ५० दशमलव १२ प्रतिशत बजेट खर्च गरेको थियो ।
सरकारले असार महिनाको १७ दिनमा खर्च बढाएर कुल बजेटको ७१.७० प्रतिशत बजेट खर्च गरेको छ । जसमा चालुतर्फ ७०.६५ प्रतिशत र पूँजीगततर्फ ७२.४८ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक ज्ञवालीले आर्थिक वर्षको अन्तिममा खर्च हुनु प्रभावकारी नदेखिने बताउँछन् । तर खर्च भएको सबै रकम अन्तिममा काम सम्पन्न भएपश्चात भुक्तानी भएकाले पनि धेरै देखिएको उनको तर्क छ ।