शिवराज नगरपालिकाको वित्तीय प्रगति ८४ प्रतिशत


पालिका पत्र

२८ असार २०८०, बिहीबार १९:४६ मा प्रकाशित

असार २८ । कपिलवस्तुको शिवराज नगरपालिकाले समग्रमा ८४ प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले चालुतर्फ ८७ दशमलव ४० प्रतिशत र पूँजिगत तर्फ ७४ दशमलव ८७ प्रतिशत प्रगति हासिल गरेको हो ।

शिवराज नगरपालिकाका लेखा अधिकृत रामचन्द्र मरासिनीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको र चालु आर्थिक वर्षको वित्तीय प्रगति ८३.७९ प्रतिशत खर्च भएको बताए ।

नगरपालिकाले आर्थिक बर्ष २०७९/८० का लागी १ अर्व ३१ करोड ७ लाख ७३ रुपैयाको बार्षिक स्वीकृत बजेट मध्ये १ अर्व ९ करोड ८३ लाख ६४ हजार ९ सय ८८ रुपैया अर्थात ८३.७९ प्रतिशत प्रगती भएको जनाइएको छ ।

नगरले स्वीकृत गरेको चालु तर्फ ९३ करोड ३९ लाख ४८ हजार २ सय ३५ मध्ये ८१ करोड ६२ लाख ९५ हजार ९ सय ७७ अर्थात् ८७.४० प्रतिशत खर्च गरेको छ । त्यस्तै पुजिगत तर्फ ३७ करोड ६७ लाख ५१ हजार ८ सय ३८ मध्ये २८ करोड २० लाख ६९ हजार ११ अर्थात् ७४.८७ प्रतिशत खर्च गरेको हो ।

विभिन्न क्षेत्रमा विनियोजित भएको रकम मध्ये पुरा खर्च भएको एउटा मात्र शीर्षक रहेको छ । सडक बोर्ड तर्फ विनियोजन भएको पुजिगत खर्च शत प्रतिशत खर्च भएको छ । उक्त शीर्षकमा विनियोजित ३८ लाख ७१ हजार ८ सय ३८ मध्ये सबै रकम खर्च भएको बताइएको छ । यस्तै प्रदेश भाषा तथा संस्कृति तर्फको बिनियोजित ७५ लाख मध्ये ७३ लाख २४ हजार ८६५ रुपैया पुँजिगत खर्च भएको छ ।

बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दै नगरपालिकाले असार २४ गते राती १२ बजे देखि सम्पूर्ण वित्तीय कामकाज बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताए।

साथै चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक निती तथा कार्यक्रम र बार्षिक बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधी कर्मचारी तथा सरोकारवाला सबैमा प्रमुख प्रशासकीय अधिकृत पाण्डेले धन्यबाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्