अर्घाखाँचीमा बाँदर आतंक नियन्त्रण गर्न २० हेराला नियुक्त हुँदै


पालिका पत्र

22 July, 2026 8:58 pm मा प्रकाशित

अर्घाखाँची, ६ साउन । अर्घाखाँचीमा बाँदरबाट मकै तथा अन्य खेतीबाली जोगाउन २० जना बाँदर हेराला नियुक्त गरिने भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना प्रकाशित गर्दै बाँदर प्रभावित क्षेत्रमा हेराला नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।

डिभिजन वन कार्यालयका अनुसार जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरिरहेका समूहहरूको लागत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

नियुक्त हुने हेरालाले बाँदरको नियमित निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने, बालीमा भएको क्षतिको अभिलेख राख्ने तथा मानवीय र वातावरणमैत्री तरिकाबाट बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक बासस्थानतर्फ धपाउने जिम्मेवारी निर्वाह गर्नेछन् ।

कार्यालयका प्रमुख नारायणदेव भट्टराईका अनुसार हेरालाका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रको स्थायी बासिन्दा, १८ देखि ४५ वर्ष उमेर समूहभित्रका तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । सामुदायिक वन, वन हेराला, नर्सरी हेराला वा यस्तै प्रकृतिको काममा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने उनले बताए ।

नियुक्त हेरालाको कार्यअवधि साउन १० गतेदेखि असोज १० गतेसम्म (दुई महिना) रहनेछ । उनीहरूले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक कागजातसहित कार्यालय समयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार पछिल्ला वर्षहरूमा बाँदरका कारण मकै, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति हुँदै आएको छ। यही समस्यालाई न्यूनीकरण गर्दै किसानको उत्पादन जोगाउने, मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने तथा सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले हेराला नियुक्ति कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्