कृषिलाई प्रविधिसँग जोड्दै शिवराज नगर : किसानहरूलाई उपकरण वितरण


पालिका पत्र

२८ असार २०८०, बिहीबार १९:५५ मा प्रकाशित

असार २८ । कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले किसानहरूलाई कृषि सामाग्री वितरण गरेको छ । नगरभित्र रहेका ३६ जना व्यवसायीक किसानहरूलाई नगरले आधुनिक कृषि सामाग्री वितरण गरेको हो ।

बिहीबार नगरपालिकाको कृषि विकास शाखाले ब्रासकटर ४ थान, मिनिटिलर २६ थान र पावर टिलर ६ थान वितरण गरेको हो ।
आधुनिक प्रविधिको प्रयोगले किसानहरूलाई कृषि पेसा गर्न सहज हुने र उत्पादन पनि बढ्ने भएकोले सामाग्री वितरण गरिएको नगरप्रमुख अजय थापाले बताए ।

नगर प्रमुख थापाले किसानले उत्पादन बढाएमा नगर आत्मनिर्भर हुन सक्ने भएकोले कृषिलाई प्राथमिकता दिएको बताए । कृषि क्षेत्र, मल, विउविजन, सिचाई लगायत समस्या प्रति आफू अवगत रहेको भन्दै समाधानको लागि निरन्तर लागि परेको थापाले बताए ।

सिचाई सुविधाको लागि प्रदेश र केन्द्र सरकार सँग माग गरिएको मेयर थापाको भनाइ छ । जवाई सिचाइ योजनाको काम अब अघि बढ्ने भन्दै शिवराजको धेरै खेतीयोग्य जमिनलाई सिचाई व्यवस्था हुने उनले बताए ।

उपप्रमुख शिवकुमारी थारुले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताइन् । नगरले वितरण गरेको उक्त सामाग्री प्रयोगबाट कृषि उत्पादनमा बढ्ने अपेक्षा उनको छ । ‘प्रत्येक वर्ष कृषिमा प्रयोग हुने सामाग्री वितरण गरेका छौ, थारुले भनिन्, ‘कतिपयले कृषि सामाग्रीहरु घर थन्क्याउने गरेको पाइयो, त्यस्तालाई प्रदान गरेका सामाग्री फिर्ता गराएका छौ, ।’

कृषकको ५० प्रतिशत र नगरको ५० प्रतिशत लगानीमा उक्त सामाग्री वितरण गरिएको कृषि विकास शाखाका प्रमुख तारा चन्द चौधरीले बताए । किसानहरूलाई झाडी सफा गर्न, खेत जोत्नको लागि सहज होस भन्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको चौधरीले बताए ।

कृषि विकास समितिका संयोजक तथा वडा नं. ५ वडाध्यक्ष नेत्र बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि प्राविधिक केशव प्रसाद भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्