एनएसवाइसी लाई पराजित गर्दै ब्रदर्श एफसीले उचाल्यो दोश्रो फुलबारी कपको उपाधि


पालिका पत्र

३० आश्विन २०८०, मंगलवार १९:३९ मा प्रकाशित

कपिलवस्तु, असोज ३० । ‘दोस्रो मोतिपुर फूलबारीकप फूटबल प्रतियोगिता’ को उपाधि ब्रदर्श क्लव चप्परगाउँले हात पारेको छ । वडा नम्बर ७ को फुलबारी रंगशालामा भएको निकै रोमाञ्चक खेलमा वडा नम्बर ८ बाट प्रतिनिधित्व गरेको एनएसवाइसी क्लवलमाथि संघर्षपूर्ण जित निकाल्दै ब्रदर्शले उपाधि जितेको हो ।

ब्रदर्शको जितमा खेलको पहिलो हाफमा फागुराम थारुले एक मात्र निर्णायक गोल गरे । खेलमा ‘म्यान अफ दि म्याच’ बनेका उनले हेडमार्फत् आकर्षक गोल गरेका थिए । उनले प्रहार गरेको बललाई विपक्षीका गोल रक्षकले नियन्त्रण गर्ने प्रयास गरे पनि चिप्लिएपछि बलले जाली चुम्न सफल भएको थियो ।

पहिलो हाफमा विपक्षीमाथि हावी बनेको ब्रदर्श दोश्रो हाफमा भने कमजोर देखिएको थियो । दोश्रो हाफमा ब्रदर्शका एक खेलाडीले रातो कार्ड पाएपछि भने चौवा हावी भयो । ब्रदर्शले रातो कार्ड पाएपछि एकै छिन् खेलमा तनावको स्थिति सिर्जना भएको थियो । खेलको अन्तिमतिर गोल गर्ने केहि मौका सिर्जना गरे पनि नतिजा नआउँदा चौवा उपविजेतामा सिमिति हुन पुगेको हो ।

उपाधिसंगै ब्रदर्शले नगद ८१ हजार शिल्ड, मेडल र प्रमाण पत्र हासिल गर्यो । दोश्रो स्थान हासिल गरेको चौवाले ३५ हजार शिल्ड मेडल र प्रमाण पत्र हासिल गरेको थियो । उनीहरुलाई प्रदेश सांसद विष्णु पन्थी, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

करिब १ हजार ५ सय बढी दर्शकले साथ दिएको खेल निकै रोचक बनेको थियो । रंगशालाको चौतर्फी दर्शकले घरेका थिए । खेल हेर्नको लागि जिल्लाका बिभिन्न स्थानबाट खेलप्रेमीको सहभागिता थियो । समापन कार्यक्रमको संचालन पत्रकार पत्रकार राजेन्द्र खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्