कपिलवस्तु, ०९ असोज । कपिलवस्तुको बाणगंगा नदीमा हामफालेका एक जना पुरुष बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब ३ बजे बाणगंगा नदीको पुलबाट कपडा खोलेर नदीमा हामफालेका पुरुष केही परसम्म बग्दै गरेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयको सूचनापछि प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजी सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषले पुलबाट नदीमा हामफालेका थिए । उनलाई केही परसम्म नदीमा बग्दै गरेको स्थानीयले देखेका थिए ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा बाणगंगा नगरपालिका–८, मधुवन निवासी नारायण बेल्वासे रहेका छन् । प्रहरीले उनको परिवारको घरमै पुगेर घटनाबारे सोधपुछसमेत गरेको जनाएको छ।
बेल्वासेको खोजीका लागि इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जना, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा मातहतका प्रहरीबाट प्रहरी नायब निरीक्षक इन्द्रप्रसाद सुवेदीको कमान्डमा १० जनाको टोली परिचालन गरिएको छ।
बेपत्ता बेल्वासेको खोजी कार्य आजका लागि स्थगित गरिएको र भोलि बिहान पुन खोज्ने जनाईएको छ ।

