नागरिकका आवाज र अधिकार बोल्ने नागरिक समाज कपिलवस्तु नै अवैध !


पालिका पत्र

१० कार्तिक २०८०, शुक्रबार १४:४० मा प्रकाशित

कपिलवस्तु, १० कात्तिक । कुनै पनि सामाजिक संस्थाको अधिवेशन कति बर्षसम्म नहुन सक्छ ? मान्छेले भन्न सक्छन् एक, दुई, तिन, चार यस्तै । तर कपिलवस्तुमा एउटा यस्तो संस्था छ जसको न कहिल्यै अधिवेशन हुन्छ, न साधारण सभा न, नविकरण छ, न यसको वैधानिकता नै । त्यो संस्थाको नाम हो ‘नागरिक समाज कपिलवस्तु’ । संस्थाको यस्तो हविगतबारे सिमित मान्छे बाहेक सायदैलाई थाहा होला ।

नागरिकका आवाज र अधिकार बोल्ने, मानव अधिकारको बारेमा आवाज उठाउने, जनता पीर मर्कामा पर्दा सारथी बन्ने उद्धेश्यले स्थापना भएको यस्तो महत्वपूर्ण संस्थामै संस्थागत शुसासन शुन्य देखिन्छ ।


सयौ नागरिक संगठनहरुको साझा मञ्च, जिल्लामा शान्ति र सद्रभाव विकास र विभिन्न संकटकालिन अवस्थामा बिशेष योगदान गरेको संस्थाको यस्तो अवस्था थाहा पाएपछि सरोकारवालाले चोकचोकमै संस्थाको खिसीट्युरी गर्न थालेका छन् ।
संस्थाको यस्तो हविगत भएको थाहा पाएपछि अपिटाइम्सले सोधखोज गरेको छ ।आम जनगुनासाको आधारमा यस संस्थाको आन्तरिक जीवन खोतल्दा यतिसम्म भद्रगोल र अस्तव्यस्तता भेटिन्छ कि मान्छेले यस्तो सोँच्नसम्म सक्दैनन् ।

पहिलो कुरा संस्थाको न अधिवेशन छ, न साधारण सभा । दोश्रो कुरा नविकरण नभएपछि संस्था खारेज छ । तेश्रो कुरा संस्थाको आफ्नै कार्यालय छैन । चौथो संस्थाका पदाधिकारी पद ओगटेर बसेका छन् । अध्यक्षबाहेक यो संस्थाको ११ जनाको कार्यसमितिमा कोको छन् कसैलाई पनि थाहा छैन । पाँचौँ कुरा संस्थापकदेखि अहिलेसम्मका ब्यक्तिले यस्तो भद्रगोल हुनुमा एक अर्कालाई दोष थुपारेर बसेका छन् ।

संस्था कहिले दर्ता भयो ?

माओवादी द्धन्द्धकालमै संस्था दर्ता भयो । माओवादी द्धन्द्ध लगायतमा नागरिकहरु समस्यामा परेपछि आवश्यकता ठानेर स्वर्गीय टोप बहादुर शाहीले ५८ । ५९ सालमा संस्थाको परिकल्पना गरेको जानकारी आएको छ ।

साविक गजेहडा गाविसको ‘गजेहडा’ मै यसको कार्यालय राख्ने अवधारणामा संस्था जन्मियो । संस्था जन्मिएको केहि समयपछि शाहीको स्वर्गारोहण भयो । त्यसपछि ठाकुरापुर घर भएका कृष्णप्रसाद भट्टराई कार्यवाहक अध्यक्ष भए । केहि बर्ष उनकै नेतृत्वमा संस्था चल्यो ।
त्यसपछि दोश्रो अध्यक्षमा आए दोर्णराज सुवेदी । ६१ सालतिर संस्थाको नेतृत्व लिएर उनले जिल्ला प्रशासनमा पनि दर्ता गरे । करिब ३ कार्यकाल उनले सम्हाले । त्यसपछि अधिवेशन गरेर अध्यक्ष पछाईलाई सुम्पिए ।

यसरी हेर्दा लगभग २५ बर्षको इतिहास बोकेको संस्थामा अहिलेसम्म मात्र ३ जना नेतृत्वमा आएको देखिन्छ । बीचबीचमा नेतृत्व फेरिँदा पनि टालेटुले पारामा फेरिएको देखिन्छ । सुवेदीपछि न संस्था नविकरण भयो न समयमा अधिवेशन र साधारण सभा नै हुन्छ । धेरैलाई त यो संस्थाको अधिवेशन नै कहिल्यै हुँदैन भन्ने लाग्न थालेको छ ।

यस संस्थाले अहिले के गरिरहेको छ ?

नागरिक समाज कपिलवस्तुका वर्तमान अध्यक्ष हुन् रिटायर्ड शिक्षक दोलख बहादुर पछाई । नागरिक समाज अध्यक्ष पछाईको काँधमा अडेको ८ बर्ष बढि भयो । यो समयमा उनी दैनिक ८ वटा कार्यक्रममा नागरिक समाजको प्रतिनिधित्व गर्दै औपचारिक कार्यक्रममा सहभागि हुने, खादा माला लगाउने र चर्को स्वरमा भाषण ठोक्ने गर्दछन् ।

यस्तै जिल्लाको उच्चस्तरीय वैठकमा सहभागि हुने, मानव अधिकारका विषय, गाउँघरका स(साना समस्या सुल्झाउने लगायतका काममा पनि उनको उस्तै सक्रियता रहेको बुझिन्छ ।


तर संस्थागत रुपमा यो संस्थाले आफ्नै कार्यक्रम गरेको कहिल्यै थाहा छैन । मुलुकमा महंगी बढ्दा, बिभिन्न नगरपालिकामा बेथिति मच्चँदा, जिल्लाबासी करको मारले च्यापिँदा, नागरिकहरु अन्यायमा पर्दा ११ जनाको कार्यसमिति रहेको यस संस्थाले संस्थागत रुपमा एउटा काम पनि गरेको पाइँदैन ।

नागरिक समाजबारे चासो राख्ने सरोकारवाला भन्छन् ‘यो संस्थामा अध्यक्ष दोलख पछाई मात्रै छन् कि अरु पनि ?’ ‘गतिविधिले यो संस्था एक जनाले मात्र चलेको देखिन्छ । अरुले गरेको कार्यक्रममा अध्यक्षले चर्को स्वरमा हजारौँ भाषण ठोकेका छन् तर संस्थागत रुपमा एउटा कार्यक्रम पनि भएको कसैलाई थाहा छैन ।

यी अध्यक्ष दोलख पछाईबाहेक पद धारण गरेका अरु कसैलाई पनि यसबारे मतलब नै छैन । जिल्लाभरका नागरिकको अधिकारीको लागि बोल्ने–लड्ने संस्थामा पद ओगटेर बसेका सबै एउटा(एउटा पार्टीको झोले कार्यकर्ता भएर बसेको देखिन्छ ।
अध्यक्ष यो पार्टीका हुन् नै भनेर हिँडेको त देखिन्न तर सक्रियताको हिसाबले उनी एमालेसंग नजिक छन्, पूर्व कार्यवाहक अध्यक्ष कृष्ण भट्टराईले भने ‘अध्यक्ष पछाईजिले एमालेको संस्था बनाइदिनुभयो । हामीले दुख गरेर निर्माण गरेको संस्था बदनामजस्तै छ । कसैले यसमा अपनत्व ग्रहण गर्न सकेका छैनन् । उहाँ आफै हिँड्नु डुल्नुभएको छ । सबैलाई समेटेर लैजान पनि सक्नुभएन ।’

वैधानिक छैन नागरिक समाज

६१ सालमा दर्ता भएर त्यसपछि नागरिक समाज जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म नविकरण भएको छैन । नविकरण नहुँदा संस्था खारेज छ । वैधानिकताको हिसाबले भन्ने हो भने संस्था छैन नै भन्न सकिन्छ । अब जसले नागरिक समाज दर्ता गरे पनि प्रशासनले बैधनिकता दिन्छ । किनकि नविकरणको लागि चाहिने साधारण सभा र अधिवेशन यो संस्थाले कहिल्यै गर्न जानेन । यसरी यो संस्था खारेज हुनुमा बर्तमान अध्यक्षको मात्र दोष नरहेर ३ जना नै दोषी रहेको बुझ्न सकिन्छ ।

आरोप र प्रत्यारोपमा अध्यक्ष र पूर्वअध्यक्षहरु

संस्थाको यस्तो हरिविजोग हुँदा अहिलेका अध्यक्ष र पुर्व अध्यक्षहरु भने आरोप र प्रत्यारोपमै लागेका छन् । संस्था यस्तो हुनुमा एकले अर्कोलाई दोष थोपरीरहेका छन् भने संस्थाको जस खाने काम पनि आफूआफू गरेको अपिटाइम्सले पायो ।

संस्थापक कार्यवाहक अध्यक्ष कृष्ण भट्टराईले अहिलेका अध्यक्षमाथि दोष थोपर्दै आफुले कार्यकालमा धेरै काम गरेको सुनाए । प्रशासनमा संस्था दर्ता गर्ने काम आफूले गरेको दावी गर्दै उनले अरु अध्यक्षहरुले खासै काम गर्न नसकेको जानकारी दिए ।
बुद्धाआवाजमा सिमित ब्यक्ति बसेर अधिवेशन गरेजस्तो गरेको र अध्यक्ष पछाइले आफ्ना मान्छे भर्ति गरेको भट्टराईको आरोप छ । अधिवेशन गर्न पटकपटक निर्देशन दिए पनि पछाइले नमानेको उनले बताए । उनले अहिले नागरिक समाजको अध्यक्षको भूमिका नै नभएको दावी गरे ।

अर्का पूर्वअध्यक्ष दोर्णराज सुवेदीले भने संस्था दर्ताको जस भट्टराईले खान नहुने बताए । उनले आफु नेतृत्वमा आउने वित्तिकै ६१ सालमा प्रशासनमा संस्था दर्ता गर्न पुगेको बताए । ‘त्यसपछिको मेरो ८ । ९ बर्षको अवधिमा जिल्लाभर संस्था चिनाएँ । पहिले मान्छेलाई यो संस्था छ कसैलाई थाहा थिएन । गजेहडाबाट जिल्लाभर चिनाउने काम पनि गरेँ । धेरै नागरिकको नागरिक समाज लागि पनि काम गरेँ, उनले भने ‘द्धन्द्धरत माओवादी, सातदल र नागरिक समाज वैठक बसेको याद छ । त्यो संस्थालाई पुर्याएको हुँ ।’

उनले थपे ‘तर अहिले दुख लाग्छ संस्थाले के गरिरेको छ, मान्छे भन्छन् बदनाम भयो । औपचारिक कार्यक्रममा सिमित भयो । अध्यक्षले के गरिरहनुभएको छ त्यो पनि थाहा छैन । मैले अधिवेशन गरेर विधिसम्मत हस्तान्तरण गरेको हुँ ।’
उनले संस्था अहिले अवैधनिक रहेको बताए । प्रशासनमा दर्ता नविकरण खारेज भएपछि अहिले जसले नागरिक समाज भनेर दर्ता गर्छ उसैले वैधानिकता पाउने स्थिति छ । २५ बर्षे इतिहास बोकेको संस्था यस्तो होला भनेर कल्पना पनि गरेको थिएन, उनले भने ।

अहिलेका अध्यक्ष दोलख पछाईले नागरिकका अधिकारको लागि आफूले जसरी काम कुनै अध्यक्षले नगरेको बताए ।
उनले आफैले नीजि खर्च गरेर नागरिकका दुखसुखमा जाने गरेको बताए । यसअघि पहिलो कार्यकाल सकेर अधिवेशन गरी दोश्रो कार्यकालमा अहिले आफू रहेको उनले बताए ।

अधिवेशन नै नगरी चल्नुभएको छ भन्ने प्रश्नमा उनले भने, ‘बकाईदा अधिवेशन गरेको हुँ । मिति पनि भन्न सक्छु ‘७६ । असोज ११ गते’ हो अधिवेशन गरेको । ३ बर्षअघि बुद्ध आवाजको हलमा अधिवेशन गरी साथीहरुले मलाई फेरि अध्यक्ष बनाए । केहि सदस्य थप पनि गर्यौँ । अधिवेशन भएन भन्नु निराधार हो । अब ४ बर्ष हुन लागेको छ । अब गर्ने तयारी छ ।’

उनले थपेका छन् ‘संस्था पनि बचाइदिएको छु । एक सुका नखाई दौडिएको छु । यहाँ लिनुदिनु केहि छैन । कसैले आरोप लगाउँछ भने दुनियासामु छर्लङ्ग छ । ममाथि आरोप लगाएर केहि हुँदैन । कसैलाई चाहिएको छ भने लैजाँदा हुन्छ । सक्ने र सही मान्छे आउँछ भने दिन तयार छु । आफूमाथि जसले आरोप लगाउँछ उसलाई मेरो चुनौति छ आरोप प्रमाणित गर्नुहोस् । पार्टीगत बनाएको देखाउनुहोस् । कुन पार्टीको झण्डा भएको ठाउँमा म गएँ । कतिजना एमालेलाई सदस्यता दिएँ । प्रमाणित गर्नुपर्दछ । प्रमाणित भएन भने उसलाई मैले पनि ठेगान लगाउन सक्ने मान्छे हुँ । यो पनि सोधिदिनुपर्र्यो कसले आरोप लगाएको हो ।’

उनले माघ या माघ फागुनमा अधिवेशन गर्ने बताए । छिटोमा मंसिर र ढिलोमा माघभित्र गर्ने अधिवेशन गर्ने आफ्नो तयारी रहेको उनी बताउँछन् । साथीहरुले फेरि विश्वास गरे अध्यक्ष लिन पनि तयार रहेको उनले बताए ।

किन नविकरण भएन संस्था ?

संस्थाले ६१ सालमै वैरियामा ठुलो नागरिक सम्मेलन गर्यो । त्यतिखेर केन्द्रबाटै अध्यक्षहरु आएका थिए । वर्तमान अध्यक्ष र पूर्व अध्यक्ष पछाई र सुवेदी उनीहरुको भनाई साभार गर्छन् ‘यो नागरिकको काम गर्ने संस्था हो । दर्ता गर्दा एनजिओ मोडलमा जान्छ । हामी एनजिओकर्मी होइनौँ । संस्था एनजिओ होइन । यसैगरी हामी चलेका छौँ । दर्ता आवश्यक छैन ।’

केन्द्रबाटै यस्तो आदेश आएपछि त्यसपछि संस्था नविकरण नगरिएको उनीहरु बताउँछन् । तर सरोकारवाला भने २५ बर्षे यतिहास बोकेको यति गरिमामय संस्थालाई यस्तो अवस्थामा नलगेको भए राम्रो हुने भनेर सुझाउँछन् । यहि दर्ता खारेज भएको हुनाले अर्को एउटा समुहले पनि नागरिक समाज दर्ता गरेको रेकर्ड भेटिन्छ ।

सर्वमान्य छैन नागरिक समाज

कपिलवस्तु जिल्लाको प्रतिनिधित्व गर्ने गरी संस्थाको नाम भए पनि यो समाज केवल वाणगंगा नगरपालिकाकै वरिपरि घुमेको देखिन्छ । वाणगंगाबाहेक जिल्लाका अरु ९ पालिकामा यसको प्रतिनिधित्व छैन । अहिलेसम्म अध्यक्ष भएका र कार्यसमितिका अरु पनि बाणगंगाकै छन् अधिकांस । नेतृत्व चयन गर्ने बेलामा पनि यहाँका मान्छे हावी हुने भएकाले अरु पालिकाका प्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका छन् । त्यसकारण नागरिक समाज कपिलवस्तु जिल्लको नभएर बाणगंगा नगरकै रहेको कतिपय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्