वाणगङ्गामा संसदीय समितिको चासो, कृषकका समस्यामा सरकार उदासिन बनेको गुनासो


पालिका पत्र

१८ कार्तिक २०८०, शनिबार १४:०६ मा प्रकाशित

बाणगङ्गा कात्तिक, १८ । राष्ट्रिय सभाको विधायन समितिले बाणगङ्गाको प्राकृतिक श्रोत साधन सम्पदाको उपयोग र नागरिकको जीवनमा आएका परिवर्तन नगर पदाधिकारी समक्ष छलफल गरेको छ । 

सो समितिले नगरमा विभिन्न सरोकारवाला सँग अन्तरकृया समेत गरेको छ । सो क्रममा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका पदाधिकारी समक्ष बाणगङ्गाका किसानले विपदको क्षति राज्यले नदिएको बताएका छन् । 

उनीहरूले विभिन्न समयमा भएको विपदको घटनाबाट भएको क्षतिपुर्ति संघ प्रदेश वा नगरपालिकाले नदिएको गुनासो गरेका छन । 

शुक्रबार बाणगङ्गा नगरपालिकामा भएको जलवायु परिवर्तनका कारण विभिन्न समयमा देखिएका प्राकृतिक असरहरूको बारेमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषकहरूले यस्तो गुनासो पोखेका हुन ।


जुन सुकै सरकार आए पनि कृषकहरूका समस्या र क्षतिपूर्ति प्रदान गर्न सरकार उदासीन बनेको उनीहरूको आरोप छ । 

कृषकहरूले समयमा मल, बिउबिजन उपलब्ध नभएकाले आफूहरू समस्यामा पर्दै आएको दुखेसो पोखेका हुन् भने प्राकृतिक प्रकोपले पनि कृषकहरूलाई दुख दिइरहेको दुखेसो पोखेका हुन । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र बाणगङ्गाका कृषक, जनप्रतिनिधि, शाखा प्रमुख र कर्मचारीहरू सँग भएको अन्तरक्रियामा कृषकहरूले यस्तो गुनासो गरेका हुन ।

 कार्यक्रममा मल, बिउ, कीटनाशक औषधी लगायतका समस्या समाधान गर्न तिनै तहका सरकार असफल भएको कृषकहरूले बताएका हुन।

कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले जलवायु परिवर्तनका कारण बाणगङ्गा नगरपालिकामा विभिन्न समयमा देखिएका प्राकृतिक असरहरूको बारेमा प्रस्ट्याउनु भएको थियो ।

 कार्यक्रममा व्यवस्थापन समिति देवेन्द्र दाहाल, भगवती न्यौपाने, राधेश्याम पासवान, विमला राई पौडेलले नेपालमा कार्वन निक्कै कम उत्पादन भएपनि विश्वका अन्य मुलुकले उत्पादन गरेको कार्बनले नेपालमा निक्कै गम्भिर असर पारेको बताउनुभएको थियो । जलवायु परिवर्तन कै कारण बालिनालीमा विभिन्न प्रकारका रोग लाग्ने बताउनु भएको थियो । 

जलवायु परिवर्तनको पक्षमा केन्द्र सरकार मात्र नभएर स्थानीय सरकार विशेष गम्भीर बन्नुपर्ने बताउनु भएको थियो ।

यता पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले सरकारले बजेटमा ल्याएका कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न नहुने तर्फ जोड दिनुभएको थियो । 

एक वडा एक प्राविधिक लगायत कार्यक्रमलाई बजेटमा मात्र नभएर कृषक सम्म पुर्याउनु पर्नेमा जोडदार माग गर्नुभएको थियो । 

यस्तै नगर उपप्रमुख रिता कुमारी थारूले पनि कृषकहरूको समस्यामा नगर सचेत रहेको बताउँदै हरेक वर्ष विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको सञ्चालन तथा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्