बाणगंगामा नदीजन्य पदार्थको चोरी निकासी बढ्दो, दुई महिनामै सात ट्याकटरमाथि कारबाही


पालिका पत्र

9 October, 2026 9:29 am मा प्रकाशित

बाणगंगा। कपिलवस्तुको बाणगंगा नगरपालिका–२, राजपुरस्थित नहरमा अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा प्रहरीले एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ। नगरपालिकाले उक्त ट्र्याक्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले लु. ४ त. ९६१२ नम्बरको ट्र्याक्टरलाई नहरमा बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको हो।

प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको थियो। त्यसपछि बाणगंगा नगरपालिकाको राजस्व शाखाले ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

नगरपालिकाले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने सवारीसाधनमाथि कारबाही गर्दै आएको छ। यसअघि भएका कारबाहीमा कतिपय ट्र्याक्टर पटके कारबाहीमा समेत परेका थिए।

नगरपालिकाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै सातवटा ट्र्याक्टर नियन्त्रणमा लिई जरिवानाबापत ३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो। पछिल्लो घटनासमेत जोड्दा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारीसाधनमाथि नगरपालिकाले कारबाहीलाई निरन्तरता दिएको देखिन्छ।

यता, चाडपर्व नजिकिँदै जाँदा बाणगंगा नदी आसपासका क्षेत्र तथा नहरहरूमा नदीजन्य पदार्थको चोरी निकासी बढ्ने गरेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न नियमित अनुगमन र प्रभावकारी कारबाही आवश्यक छ।

अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी बढाए पनि यस्ता गतिविधि दोहोरिनुले नदीजन्य पदार्थको संरक्षण र राजस्व चुहावट नियन्त्रणमा थप प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्