बाणगंगाले आफ्नै लोगो बनाउँदै, गिरीको संयोजकत्वमा ५ सदस्य समिति गठन


पालिका पत्र

२२ कार्तिक २०८०, बुधबार २०:२२ मा प्रकाशित

कार्तिक २२ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरको आफ्नै लोगो बनाउने कार्यलाई मुर्तरुप दिने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले नगरको आफ्नै लोगो बनाउने यस अघिको निर्णय अनुसार संकलित लोगो छनोटका लागि समिति गठन गर्ने निर्णय गरेको हो ।

उक्त लोगो छनोटका लागि वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डन, वडा नं. १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल, कार्यपालिका सदस्य शान्ता पाण्डे र नगरपालिकाका सुचना प्रविधि अधिकारी मिलन पोख्रेल रहेका छन् ।

लोगो छनोट समितिका संयोजक विष्णु गिरीका अनुसार नगरपालिकाले गत असार १५ गते लोगो निर्माणका लागि सार्वजनिक सुचना जारी गरेको थियो । उक्त सुचनाका आधारमा नगरपालिकामा हाल ३२ जनाले आफ्ना विभिन्न कलाकौशलको प्रयोगका साथ डिजाइनहरु पेश गरेका छन् ।

नगरपालिकाको सामाजिक, आर्थिक, सांस्कृतिक पहिचान झल्किने र नगरको सर्वपक्षीय विषयलाई केन्द्रित गरी बनाइएको, र उत्कृष्ट कौशलता प्रर्दशन गरी आकर्षक रुपमा तयार गरीएको एक उत्कृष्ट लोगोलाई नगरको आफ्नो चिन्हको रुपमा छनोट गरिने संयोजक गिरीले जानकारी दिए । उनका अनुसार कार्यपालिका बैठकबाट गठित छनोट समितिले संकलित लोगोहरु मध्ये उत्कृष्ट पाँच लोगो छनोट गर्ने र ति लोगो बनाउने व्यक्तिहरुलाई नगरपालिकामा व्याख्या विश्लेषणका लागि बोलाइने छ ।

लोगो बनाउने व्यक्तिहरुको आफ्नो व्याख्या र लोगोको परिचयसहित उत्कृष्ट लोगो बाणगंगा नगरपालिकाको आफ्नो चिन्ह आर्थत लोगोको रुपमा प्रयोगमा आउने गिरीले जानकारी दिए। नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरको थियो । सोही अनुसार विभिन्न ३२ वटा लोगो नगरपालिकामा पेश भएका छन् ।

यसैबीच बुधबार सम्पन्न कार्यपालिका बैठकले छाडा पशुचौपाया नियन्त्रण, व्यवस्थापन तथा पुर्वाधार निर्माण कार्यविधि २०७९’ लाई संशोधनसहित पारित गरेको छ। यस्तै बैठकले पशुपंक्षी तथ्याङ्क संकलन निर्देशिका २०८० लाई स्वीकृत गरेको छ । यस्तै नगर युवा परिषद संचालन कार्यविधि २०८० लाई समेत बैठकले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्