भारतको सहयोगमा बुद्धभूमिमा विद्यालय भवन निर्माण


पालिका पत्र

११ मंसिर २०८०, सोमबार १८:५७ मा प्रकाशित

कपिलवस्तु, मंसिर ११। भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

उक्त भवनमा सोमबार एक कार्यक्रमबीच भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा दुईतले विद्यालय भवन, तीनतले प्रयोगशाला भवनको निर्माण र फर्निचर एवं प्रयोगशाला उपकरण खरिद गरिएको दूतावासले जनाएको छ । “भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो,” दूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गौतम बुद्ध माध्यमिक विद्यालय सन् १९७८ मा सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापना भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयले शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ । यस विद्यालयमा प्ले ग्रुपदेखि प्लस टू लेभलसम्मको पढाइ हुन्छ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन्, जसमा पाँचवटा परियोजना कपिलवस्तुमा छन् ।

प्रतिक्रिया दिनुहोस्