कपिलवस्तुको माटोमा अम्लियपना प्रमुख समस्या: प्रयोग गर्दैनन् किसानले प्रांगारिक मल


पालिका पत्र

२० मंसिर २०८०, बुधबार ०९:२४ मा प्रकाशित

मंसिर २० गते । कपिलवस्तुको माटोमा अम्लियपना बढ्दै गएको छ । ८१ हजार कृषियोग्य क्षेत्र रहेको जिल्लामा अधिकांश क्षेत्रका माटोमा अम्लियपना देखिएसंगै किसान लगायत सरोकारवालाहरुको प्रमुख समस्याका रुपमा देखिएको हो । यद्यपि, नेपालमा माटोको अम्लीयपना प्रमुख समस्या रहेको छ ।

जमिनमा रासायनिक मलको असन्तुलित प्रयोगले जिल्लाको कृषि योग्य जमिनको माटो कमजोर बन्दै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिदा यहाँको भूमीको उर्वरा शक्तिमा ह्रास आउदै गएको हो ।

रासायनिक मल मनपरी ढंगले प्रयोग गरिएकाले माटोमा रहने बिभिन्न तत्वहरुमा गम्भीर असर परेको कृषि प्राबिधिकहरुको भनाई छ । प्राङ्गारिक मलको साटो अहिले रासायनिक मललाई कृषकहरुले अंगालेकाले माटोको सन्तुलनमा नकारात्मक असर भएको उनीहरुको ठहर छ ।

यता, जिल्लाका ८५ प्रतिशत कृषकले प्राङगारिक मलको प्रमुख स्रोतको रुपमा रहेको गाईबस्तुको गोबरको गुईठा बनाउने गरेका छन् । ती गुईठालाई यहाँका कृषकहरुले खाने पकाउने उर्जाको रुपमा प्रयोग गर्ने गरेकाले माटोलाई चाहिने आवश्यक तत्व परिपूर्ति हुन नसकी भूमीको उर्वरा शक्ति क्षीण बनेको बताईएको छ ।

गाईबस्तुको मलमूत्रमा माटोलाई चाहिने बिभिन्न १६ तत्व नै रहने भए पनि गोबरको गुईठा बनाईने तथा परम्परागत तरिकाबाट बनाईएका प्राङ्गगारिक खेतमा हालिनाले समेत माटो स्तरमा खासै सुधार आउन सकेको छैन ।

यहाँ गाईवस्तुको मल मुत्र बनाईने मललाई घाँम र पानीबाट नबचाई खुला ठाँउमा राख्ने चलन छ । जस्ले गर्दा सो मलमूत्रमा रहेका तत्वहरु उडेर, चुहिएर तथा बगेर खेर जाने गरेका छन् । त्यो मल माटोमा हालिदा खसै उपलब्धी नहुने कृषि प्राबिधिकहरुले बताएका छन् । त्यस्तै खेतबारीमा रहेको झाँरपात र ठुटालाई आँगो लगाई हटाउने चलनले समेत माटोको उर्वराशक्ति घटदै गएको छ ।

एक बर्षमा एक जोर गाईबस्तुको मलमूत्रबाट ५८ किलो नाईट्रोजन उत्पादन गर्न सकिने प्राबिधिकहरु बताउछन् । तर सो मलमूत्रको खाल्टो बनाएर उचित ब्यवस्थापन नगरिदा त्यस्मा रहेका ९० प्रतिशत तत्वहरु चुहावट भई खेर जाने गरेको उनीहरुको भनाई छ ।

स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ । माटोको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन बिना खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि बिकास, जैविक विविधता संरक्षण, प्राङ्गारिक कृषि लगायतका विषय सम्बन्धी बहसहरु हुने गरेका छन् ।

यहाँको माटो र कृषिक्षेत्रको बिकासका लागि कृषकमै जागरुकता आउनुपर्ने र कार्यालयले समेत अम्लियपनलाई न्यूनीकरणका काम गरिरहेको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल बताउछन् ।

‘माटो र पानी जीवनको थालनी’ भन्ने नाराका साथ दशौँ विश्व ‘माटो दिवस’ मनाइरहँदा माटोमा अम्लियपना न्यूनीकरणमा भने चाँसो कम देखिएको छ । माटोको महत्व दर्शाउँदै यसको संरक्षण, संवर्धन र उचित व्यवस्थापनका लागि जनचेतना बढाउन विविध कार्यक्रम गरी माटो दिवस मनाईएको हो । यसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, जलथलको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ ।

तर पछिल्लो समय नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्बराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो छ । त्यसैले यो समस्यालाई विश्वको साझा समस्याको रुपमा लिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्