भड्किलो कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव 


पालिका पत्र

२७ माघ २०८०, शनिबार १९:१६ मा प्रकाशित


बाणगङ्गा, माघ २७  । कपिलवस्तु उद्योग वाणिज्य संघको नवौँ नेतृत्वको लागि भएको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । बाणगङ्गा नगरपालिकास्थित बुद्ध रङ्गशालामा भएको निर्वाचन शनिबार बिहान ९ बजे सुरु भएर अपरान्ह चार बजे सम्पन्न भएको थियो । २ हजार ८० मतदातामध्ये २ हजार मतदानमा सरिक भए ।

प्रमुख निर्वाचन अधिकृत गुणनिधि भुसालले आजको मतदान शान्तीपूर्ण तरिकाले सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले भने तोकिएको समयमा सुरु भई सकिँदासम्म मतदाताको उत्साहपूर्वक सहभागिता थियो । यो बिचमा विवाद तथा अशान्ति मच्चाउने कुनै गतिविधि भएनन् ।

९५ प्रतिशत मत खस्नुले आफ्नो नेता छान्न मतदाता उत्साहित थिए भन्ने बुझिन्छ । चुनावी मैदानमा एमाले समर्थित प्यानलको नेतृत्व मोहन न्यौपानेले गरेका थिए भने काँग्रेस, माओवादी लगायतको गठबन्धनबाट गणेश बहादुर क्षेत्री र स्वतन्त्रमा लक्ष्मण कँडेलको प्यानल थियो ।

मतदान शान्तिपूर्ण तवरले सम्पन्न भए पनि मतदानस्थलमा भएको भीडभाड र तामझामले उद्योग वाणिज्य संघको निर्वाचनले स्थानीय तहको लागि भएको २०७९ को निर्वाचनको झल्को दिएको छ ।

अध्यक्ष लगायतका उम्मेदवारहरूले जताततै पोस्टर, पम्प्लेट र ब्यानर टाँगेका थिए । केही दिन अघि नै संघका सदस्य रहेका क्षेत्र चार नम्बर, बनगाई, वैरिया, गजेहडा, ओदारी, पिपरा लगायतका ठाउँ प्रचार सामाग्रीले रंगिएका थिए भने चुनावको दिन रङ्गशालाका बिभिन्न ठाउँ पार्टीका नेता र कार्यकर्ताले भरिभराउ थिए । चौरभरि साना ठूला गाडीले भरिएका थिए ।

भुइँभरी पर्चा थिए भने पर्चा, पोष्टर, पप्लेट नटाँगिएको खाली ठाउँ थिएन । गाडी घोडा ओहरदोहर गरिरहेका थिए । नेता र व्यवसायीहरू बिभिन्न टिममा  छलफल गरेको देखिन्थे । व्यवसायीको यो खालको चर्तिकला र भड्काउ देखेर मतदानस्थलमा सहभागी सर्वसाधारणले यो चुनावले स्थानीय र आम चुनावमा भएका गतिविधिको झल्को दिएको प्रतिक्रिया दिए । ठ्याक्कै यस्तै हुने गर्दथ्यो स्थानीय, प्रदेश र संघको चुनावमा पनि ।

आफ्नो मन परेको उम्मेदवारलाई जिताउन समर्थकहरू गेटदेखि मतदानस्थल सम्म नमस्कार गरी बसेका देखिन्थे । यी गतिविधिले संघीय चुनावको नै झल्को आएको सहभागिले  बताए ।
मतदाताहरू बिहानैबाट अपरान्ह ४ बजेसम्म घाँटीभरि मतदाताका फोटा तथा पोस्टर टाँसेर मत माग्न तल्लिन देखिन्थे, चार नम्बरका व्यवसायी विष्णु गैरेले भने ‘मत पेटिका, मत खसाल्ने ठाउँ, त्यहाँको सजावट, बाहिरको चहलपहल आदिले ७९ को चुनावको झल्को आयो ।’

मतदान स्थलमा सहभागि विष्णु घिमिरेले यो तामझाम त्यति मन नपरेको बताए । व्यापारीको संस्था उद्योग संघको चुनावमा यस प्रकारको राजनीति हुनु र खर्च हुनुले राम्रो भन्दा पनि नराम्रो सन्देश दिने उनको भनाई छ ।

बिभिन्न होटलका बसाइँ, प्रचार सामाग्रीको छपाई लगायतको हिसाब गर्दा सबैबाट यो चुनावमा ३० लाख बढी खर्च भएको हुनसक्ने अनुमान गरिएको छ । सहभागिले यो खर्च बेकारको खर्च भएको भन्दै नगराउने चुनाव गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्