अवध संस्कृति संरक्षणमा जुट्दै -‘नेपाल भारत अवध मैत्री समाज’


पालिका पत्र

२० चैत्र २०८०, मंगलवार २०:०० मा प्रकाशित

चैत्र २० गते । नेपाल भारत अवध मैत्री समाजले कपिलवस्तुमा होली मिलन तथा सांस्कृतिक एकता समारोह कार्यक्रम गर्ने भएको छ । बुधबार कृष्णनगर नगरपालिका वडा नम्बर ६ करमामा आयोजना गरिने समारोहमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, जिल्लाका पूर्वमन्त्रीहरु, पूर्वसांसदहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधी, भारतको उत्तर प्रदेश संस्कृति मन्त्रालयका प्रतिनिधी, भारतीय दुतावासका प्रतिनिधी लगायतको सहभागितामा कार्यक्रम गरिने बताइएको छ ।

नेपाल भारत बीचको सम्बन्ध थप मजबुद बनाउने तथा सांस्कृतिक बिविधता कायम गर्ने उदेश्य अनुरुप समारोह आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको छ । नेपाल भारत अवध मैत्री समाजका अध्यक्ष तथा पूर्वमन्त्री इश्वर दयाल मिश्रले अवध संस्कृतिको उत्थान, साँस्कृतिक जर्गेना र नेपाल भारत बीचको आपसी सम्बन्ध थप मजबुद बनाउनका लागि कार्यक्रम गरिने बताए ।

कार्यक्रममा पूर्व राष्टिय सभा सदस्य दीर्घनारायण पाण्डेले नेपाल भारत बीचमा सांस्कृतिक समानता कायम गर्ने, अपनत्व रहने हुनाले आपसी भातृत्व र सांस्कृतिक बिनिमयका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने बिश्वास ब्यक्त गरे ।

बर्तमान अवस्थामा सामाजिक सुदृढीकरणका लागि संस्कृतिको संरक्षण र जर्गेना गर्नु आवश्यक रहेको सहभागिताहरुले बताए । राष्टिय मुक्ति अभियानका जिल्ला संयोजक रविदत्त मिश्र, युवा नेता राशिद मिर्जा, दिपक शुक्ला, श्याम सुन्दर चौधरी, सचितानन्द शुक्ला, गंगेशनाथ तिवारी लगायतले सामाजिक सौन्दर्यता खल्बलिएको अनुभूति रहेको भन्दै कार्यक्रमको आयोजना गरिएको बताए ।

उनीहरुले धार्मिक, राजनैतिक, सामाजिक र रगतको समेत सम्बन्ध अवध संस्कृति र परम्परागत मान्यतालाई यथावत राख्नका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्