अर्घाखाँचीका पालिकामा १० करोड बेरुजु


पालिका पत्र

१६ जेष्ठ २०८१, बुधबार १९:४३ मा प्रकाशित

अर्घाखाँची, जेठ १६ । अर्घाखाँची जिल्लामा आर्थिक वर्ष २०७८ / ७९ को तुलनामा २०७९ / ८० मा बेरुजु घटेको छ । महालेखाले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा बेरुजु घटेको देखिएको हो । महालेखापरीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा १८ करोड ४ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको थियो भने ६१ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा १० करोड ३२ लाख, ८ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो रकम गत वर्षको तुलनामा ७ करोड ७२ लाख ७५ हजार रुपैयाँले कमी हो ।

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको अर्घाखाँचीमा जम्मा ११ अर्ब २० करोड ९८ लाख ४८ हजार रुपैयाँको लेखा परिक्षण गर्दा १० करोड ३२ लाख, ८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिकामा गत आर्थिक वर्षमा १ अर्ब १९ करोड ८१ लाख ७२ हजारको लेखा परिक्षण गर्दा ५ करोड ७९ लाख ६३ हजार रुपैयाँ बेरुजु देखिएको हो । जुन ४.४८ प्रतिशत थियो । महालेखा सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनमा पाणिनि गाउँपालिकाको १ अर्ब ६८ करोड ५० लाख २५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ०.६१ प्रतिशत अर्थात १ करोड तीन लाख ६ हजार रुपैयाँ अर्थात ०.६१ प्रतिशत बेरुजु रहेको छ ।

छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिकामा १ अर्ब ४७ करोड ७१ लाख ४ हजार रुपैयाँको लेखा परिक्षण गर्दा १ करोड २५ लाख ६८ हजार रुपैयाँ अर्थात ०.८५ प्रतिशत बेरुजु देखिएको हो ।

मालारानी गाउँपालिका
मालारानी गाउँपालिकामा १ अर्ब ७१ करोड १८ लाख १८ हजारको लेखा परिक्षण गर्दा २ करोड ४८ लाख ६२ हजार रुपैयाँ अर्थात १.४५ प्रतिशत बेरुजु देखिएको हो ।

सन्धिखर्क नगरपालिका
सन्धिखर्क नगरपालिकामा २ अर्ब ३३ करोड २७ लाख २९ हजारको लेखा परिक्षण गर्दा ९५ लाख ७३ हजार रुपैयाँ अर्थात ०.४१ प्रतिशत बेरुजु देखिएको हो ।

भूमिकास्थान नगरपालिका
भूमिकास्थान नगरपालिकामा २ अर्ब १३ लाख ८९ हजारको लेखा परिक्षण गर्दा १ करोड ६६ लाख ३३ हजार रुपैयाँ अर्थात ०.८३ प्रतिशत बेरुजु देखिएको हो ।

शितगंगा नगरपालिका
शितगंगा नगरपालिकामा २ अर्ब १७ लाख ८३ हजारको लेखा परिक्षण गर्दा २ करोड ९२ लाख ६६ हजार रुपैयाँ अर्थात १.४६ प्रतिशत बेरुजु देखिएको हो ।

प्रचलित कानुनबमोजिम पुर्याउनु पर्ने रीत नपुर्याइए कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको वा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको तथ्य तथा तथ्याङ्कलाई बेरुजुका रुपमा परिभाषित गरिएको छ ।

बजेट र योजना कार्यान्वयन, राजस्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखाङ्कन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेबार व्यक्ति तथा संस्थाले जबाफदेहीता बोध नगर्ने र उक्त अनुशासनमा नरही लापरवाही तरिकाले कार्य सम्पादन तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने महालेखा परीक्षक टंकमणि शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्