तौलिहवा-भैरहवा बस ब्यवसायीको ‘दादागिरी’, यात्रुसहित पर्यटक मर्कामा


१९ जेष्ठ २०८१, शनिबार ११:४९ मा प्रकाशित

जेठ १९ गते । कपिलवस्तु सदरमुकाम तौलिहवादेखि रुपन्देही सदरमुकाम भैरहवा रुटमा चल्ने बस ब्यवसायीको मनोमानी र ‘दादागिरी’ ले यात्रु तथा पर्यटकहरुलाई मर्का परेको छ । तौलिहवा–भैरहवा रुटमा चल्ने पश्चिम नेपाल बस ब्यवसायी प्रालि, सिद्धार्थ यातायात प्रालि र प्राचीन कपिलवस्तु यातायात प्रालिका बसहरु संचालनमा रहेता पनि आपसी मनोमानी र ‘दादागिरी’ले यात्रुहरुले सास्ती खेप्न बाध्य भएका हुन् ।

पुरातात्विक मार्गका रुपमा रहेको तौलिहवा-लुम्बिनी-भैरहवा सडक खण्डमा देशकै सबैभन्दा ठूलो यातायात ब्यवसायी संस्था पश्चिम नेपाल बस ब्यवसायी प्रालिका ब्यवसायीको दादागिरीका कारण अन्य ब्यवसायी समेत मारमा परेका छन् ।

उक्त खण्डमा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका दैनिक १८ वटा बस संचालनमा रहेका छन्, भने सिद्धार्थ यातायात प्रालिका १२ वटा र प्राचीन कपिलवस्तु यातायात प्रालिका मात्र ८ वटा बस संचालनमा रहेका छन् ।


बिबादको चुरो
पर्यटकको बाक्लो उपस्थिती रहने रुटका रुपमा रहेको तौलिहवा-लुम्बिनी-भैरहवा सडक खण्डमा दैनिक हजार बढि यात्रु आवत-जावत गर्छन् । देशकै सबैभन्दा ठूलो यातायात ब्यवसायी संस्थाका रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिका बस ब्यवसायीहरुले रुट-परमिटमा बिवाद सिर्जना गर्दा समस्या चुलिएको बस चालक बताउँछन् ।

भैरहवा-लुम्बिनी-तौलिहवा सम्मको ४१ किलोमिटर लामो सडकको यात्रा समय न्युनतम डेढघण्टा निर्धारण गरेर बस संचालन गर्ने गरेको भएतापनि हाल अधिकतम समय लगाउने गरेको यात्रुको गुनासो छ । हुलाकी राजमार्ग समेत यहि खण्डमा पर्ने गरेको छ ।

सिद्यार्थ यातायात र पश्चिम नेपालका मात्रै २७ वटा बस दैनिक यो रुटमा कुद्ने गरेका छन् । टाइम सेडुल समेत निश्चित नहुँदा यात्रुहरु मर्कामा पर्ने गरेका छन् । तौलिहवा स्थित गौतमबुद्ध बसपार्कबाट भैरहवा सम्म प्रत्येक बस एकघण्टा ४० मिनेटमा पुग्नुपर्ने र भैरहवाबाट तोलिहवासम्म एकघण्टा २५ मिनेट समय सेडुल तोकिदैं बस संचालनमा रहेका थिए । तर, जेठ ९ गतेदेखि समयसिमा तोकिएको छ, यस्को मूख्य जिम्मेवार पश्चिम नेपाल यातायात ब्यवसायी प्रालि रहेको छ, प्राचीन कपिलवस्तु यातायात प्रालिका सचिव राजु श्रेष्ठले बताए ।

पहिलेदेखि संचालन रुट रहेको प्राचीन कपिलवस्तुको लवनी-मुडफुटवा-जयनगरा हुँदै रुपन्देहीको खुनगाइ सम्म यातायात सेवा दिंदै आएको श्रेष्ठ बताउँछन् । तर हाल आएर उक्त रुटमा आफुहरुका बस संचालन गर्न नदिने अडान पश्चिम नेपाल बस ब्यवसायी प्रालिले राखेपछि बिवाद उत्पन्न भएको उनले बताए ।

पुर्वनिर्धारित समयसिमा र रुट पश्चिम नेपालले भंग गरेको आरोप श्रेष्ठको छ । तीन वटै बस ब्यवसायी बीचमा तौलिहवामा पहिलो चरणको छलफल गर्दा समेत कुनै निश्कर्ष नभएको बुझिएको छ । पश्चिम नेपाल बस ब्यवसायी प्रालि र सिद्धार्थ यातायात प्रालिका बस ब्यवसायीले आफ्नो अडान नछोडेपछि यस्तो समस्या उब्जिएको ठहर अधिकांश बस चालकहरुको छ ।

समयसिमा समेत निर्धारण गरिसकेर अहिले बसहरु सम्बन्धित गन्तब्यमा पुग्न करिब ३ घण्टा लगाउने गर्दछन् । सार्वजनिक यातायात प्रयोजन गर्ने जो कोहीलाई पनि सडक तौलिहवा-लुम्बिनी-भैरहवा खण्डमा चल्ने व्यवसायिक सार्वजनिक यातायातले प्रारम्भदेखि हालसम्म नै यात्रुको हकमा कुनै पनि सुबिधा दिन नसकेको स्थानीय कृष्ण कुमार केसीको भनाइ छ ।

उता, सिद्धार्थ यातायात प्रालिका शंकर कार्कीका अनुसार तीनवटै बस ब्यवसायीका कारण बस संचालनमा असहजता पैदा भएको छ । मुख्यगरि रुटका कारण बस संचालनको समयसिमा र रुटमा समस्या देखिएको उनको तर्क छ ।

बिमिहादेखि हुलाकी सडकसम्म बस संचालनका लागि सहमती गरिएको भएतापनि हाल खुनगाईदेखि डुमरा बस निकाल्दा समस्या देखिएको पश्चिम नेपाल बस ब्यवसायी प्रालिका कर्मचारी अकबर अलि रंगरेज बताउँछन् । अब्यवस्थित रुपमा बस संचालन गर्दा प्रतिस्पर्धात्मक बातावरणले समयसिमा बिग्रिएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्