अन्धकारमा मायादेवी रंगशाला: अपार सम्भावना तर नेताको उपेक्षा


पालिका पत्र

३० श्रावण २०८१, बुधबार १२:१६ मा प्रकाशित

बाणगङ्गा, साउन ३०  । कपिलवस्तुको बाणगङ्गा नगरपालिकास्थित बाणगङ्गा खोलाको पुलमुनि एउटा त्यस्तो गुमनाम रङ्गशाला छ, जसलाई व्यवस्थित बनाउन सके राष्ट्रिय र अन्तर्राष्ट्रियस्तर सम्मका खेलहरू सजिलै आयोजना गर्न सकिन्छ । तर विडम्बना प्रशस्त सम्भावना हुँदाहुँदै पनि यो रङ्गशाला कहिल्यै नेता र जनप्रतिनिधिको प्राथमिकतामा परेन । न नेताहरूले त्यो रङ्गशालाको महत्व नै बुझ्न सके, न त्यसको पर्यटकीय सम्भावनाको विश्लेषण गरे । प्रसङ्ग हो, वडा नम्बर ८ स्थित बाणगङ्गा खोलाको पुलमुनि रहेको मायादेवी रङ्गशालाको प्रसङ्ग ।

रङ्गशालाको मुनि ओशो तथागत ध्यान आश्रम छ । त्यहाँबाट उत्तरकेन्द्रित फोटो र भिडिओ लिँदा यति मनमोहक दृश्यहरू देखिन्छन् कि मानौँ यो कुनै विदेशी रङ्गशाला हो । उत्तरतर्फको माथितिर निलो आकाश, त्यसमुनि ठूलाठूला पहाड र हरियो जंगल, सलल बगेको बाणगङ्गा खोलो, पूर्वपश्चिम राजमार्गमा बनेको त्यो लामो पुल र त्यसका खम्बा, अनि त्यसैमाथि ओहरदोहर गरिरहेका गाडीहरूको त्यो आकर्षक दृश्य । मौसम खुलेको बखत यस्तो दृश्य देखिन्छ ।

यस्तो खाले दृश्य टिभीमा देखिने ठूलाठूला रङ्गशाला हेर्दा मात्र देख्न सकिन्छ । रङ्गशालाको लागि पर्याप्त जग्गा, वरिपरि कम्पाउण्ड, पार्किंङ, र प्याराफिट निर्माणको लागि दायाँबायाँ उत्तरदक्षिण प्रशस्त ठाउँ, दक्षिणतिर हरियो त्यो ओशो आश्रम, बस्तीबाट केही टाढा हुनु इत्यादि रङ्गशालाको विशेषता हो । यी सबै सुविधा र पर्याप्तताले मायादेवी रङ्गशालाबाट खेल पर्यटन प्रर्वद्धन गर्न सकिन्छ भने ठूलाठूला खेलकुदका प्रतियोगिता आयोजना गरेर पनि आयआर्जन गर्न सकिन्छ । यहाँको प्राकृतिक सुन्दरताले खेल पर्यटनको अपार सम्भावना देखिन्छ ।

तर यहि राम्रो र अपार सम्भावना बोकेको त्यो रङ्गशाला अहिले नेताको छायामा परेको छ । गुणनिधि भुसाल वडा अध्यक्ष हुँदा लाखौँ लगानी गरेर बनाइएको डिपिआरको कागजलाई एउटा बाकसमा थन्काएर यसबारे नेताहरूले अहिले कुरा गर्नै छाडेका छन् । जसले गर्दा डिपिआरमा भएको लाखौँ लगानी बालुवामा पानी भएको स्थानीय बुद्धिजीवी समीर सायरले बताए ।

यतिसम्म हुन थालेको छ कि रङ्गशालाको लागि विनियोजन भएको बजेट पनि जनप्रतिनिधिले आआफ्नो क्षेत्रतर्फ सार्ने काम गरेका छन् । नेताहरूले निर्माण र मर्मतमा ध्यान नदिँदा बनेको पर्खाल पनि जीर्ण हुन लागेको छ । कतिपय स्थानमा वरिपरिको कम्पाउण्ड ढल्ने स्थितिमा छ । रङ्गशाला निर्माण गर्ने भनेर जिल्ला खेलकुद विकास समितिको भवन पनि त्यहीँ बनाइयो । तर राजनैतिक आग्रह पूर्वाग्रहका कारण त्यो भवन अलपत्र छ भने सीमित व्यक्ति र मान्छेको दबाबमा परेर जिल्ला खेलकुद विकास समितिले पनि अहिले रङ्गशालाको विकासमा पटक्कै ध्यान दिन सकेको देखिदैन ।

नगरपालिका र वडा पनि यस रंगशालामा बजेट छुट्याएर बनेको डिपिआर अनुसार काम गर्नुपर्नेमा उदासिन देखिन्छन् । वडा अध्यक्ष बाबुराम अर्याललाई यसबारे वास्तै छैन । शक्तिशाली नेताको केन्द्र वडा नम्बर ८ भए पनि ती शक्तिशाली नेताले यस रङ्गशालाको महत्व बुझ्न नसकेको बोडगाउँका युवा तथा खेलप्रेमी माधव पौडेल बताउँछन् ।

आफ्नै वडाको सुगन्ध नेताहरूले थाहा नपाएर उपेक्षा गर्नु विडम्बनापूर्ण भएको वडा सदस्य विश्वास जिसीको भनाई छ ।
‘धेरै बल गरेपछि अहिले नगरले २० लाख बजेट छुट्याए पनि संघ, प्रदेश, खेलकुद विकास समितिको मोटो लगानी भने त्यहाँ छैन’ जिसी भन्छन् ‘मापदण्ड नपुगेको ठाउँमा मोटो लगानी देखिन्छ ।’

मायादेवी रङ्गशालाको यति धेरै सम्भावना हुँदा हुँदै पनि दुनियाँ ठाउँको प्रचार र प्रसार गर्ने प्रदेश सांसद विष्णु पन्थी पनि यसबारे बेखबर छन् । नगरप्रमुख चक्रपाणी अर्याल एउटा समुहको घेरामा छन् जसका कारण मायादेवी रंगशालामा बजेट विनियोजन गर्न उनलाई सकस र त्रास छ ।
तर तिनै नेताहरु भने हाइटेन्सनमुनिको रंगशालामा आँखा चिम्म गरेर बजेट खनाइरहेका छन् । त्यो भनेको बुद्ध रङ्गशाला जितपुर हो । हरेक बर्षको हिसाब गर्ने हो बुद्ध रंगशालामा आजसम्म करोड लगानी भित्रिएको तथ्य निकाल्न सकिन्छ ।

हुन त त्यहाँ राष्ट्रिय तहका दुईतिन खेलहरू भए, तर मापदण्डको हिसाबले हाइटेन्सनकै कारण त्यहाँ जोखिम उत्तिकै छ । जति नै लगानी गरे पनि मापदण्डको हिसाबले यहाँ राष्ट्रिय अन्तराष्ट्रिय खेलहरू खेलाउन सम्भव नदेखिने खेल क्षेत्रका पण्डितहरु बताउँछन् ।

संघ, प्रदेश र स्थानीय तहबाट अहिलेसम्म बुद्ध रंगशालामा लाखौँ बजेट आयो तर त्यो रकमले के गरिएको छ कुनै नतिजा देख्न सकिन्न । रङ्गशालाको नाम पोलेर आएको बजेटको अत्तोपत्तो छैन । अहिलेसम्म आएको बजेटको हिसाब हुन्थ्यो र नेताका भाषण अनुसार हुन्थ्यो भने दशरंगशालाजस्तो बन्नु पर्ने थियो बुद्ध रङ्गशाला ।

तर अहिले गएर हेर्ने हो भने वाणगंगा वेलफेयर सोसाइटीको भवन र कभर्ड हलबाहेक त्यहाँ कुनै प्रगति छैन । खेलमैदान अहिले भद्रगोल अवस्थामा छ । राष्ट्रियस्तरका केही खेल हुनु सुखद् भए पनि स्टेजसम्मको संरचना छैन, न प्याराफिट बन्न सुरु गरेको छ, न बाउन्डी । गत बर्ष गरिएको तिलौराकोट गोल्डकपकको खेल चलिरहेको बखत मंच हावाले उडाएको घटनाले राष्ट्रिय खेलाडी र क्लव जोडिएको खेलले नगरकै बेइज्जत भएको थियो ।


जितपुरस्थित बुद्ध रङ्गशाला माथि हाइटेन्सन तार

यति मात्र होइन यहाँ फुटवलका बिभिन्न प्रतियोगिताहरु हुँदा खेलाडीले प्रहार गरेको बलले धेरैपटक हाइटेन्सनको तार नै छुन पुग्दा खेल नै प्रभावित भएका उदाहरण छन् । त्यति नजिक छ हाइटेन्सनको तार ।

हरेक बर्ष मेला र महोत्सव पनि यही स्थानमा हुने भएकाले यसलाई व्यवस्थित बनाउनतर्फ कसैको पनि ध्यान छैन र कठिन पनि छ । मेला र महोत्सवबाट राम्रो आम्दानी र नाफा हुने भएका कारण यो मैदानलाई आधुनिक गराउन स्थानीय बाणगङ्गा वेलफेयर सोसाइटी, जनप्रतिनिधि, कपिलवस्तु उद्योग बाणिज्य संघ कसैले पनि ध्यान दिन चाहँदैनन् ।

हाइटेन्सन छलेर प्रथम तिलौराकोट गोल्डकपको लागि रंगशालामा अहिले पूर्वतिर खेल मैदान बनाउने भनिएको छ । त्यसको लागि चारैतिर तारबार गरिएको छ, बजेट पनि विनियोजन भएको छ, तर विद्यूतका इन्जिनियर र राष्टिय रेफ्रीहरु मैदान पर सरे पनि त्यहाँ अझै पनि जोखिम नै हुने बताउँछन् ।

उनीहरुको भनाई छ कि बुद्ध रंगशालालाई आधुनिक र सुविधा सम्पन्न बनाउने हो, राष्ट्रिय, अन्र्तराष्ट्रिय खेलहरू आयोजना बनाउने हो भने पहिले हाइटेन्सन तार हटाउनुपर्दछ । हाइटेन्सन नहटाउँदासम्म जति लगानी गरिए पनि खेर जाने सम्भावना छ ।
तर यहाँको सरकार र योजना निर्माताले यस तथ्यतर्फ एकपटक पनि सोच्न भ्याएका छैनन् आँखा टालेर बजेट थोपरीरहेका छन् ।
यही रङ्गशालाको विषयले वडा नम्बर ४ र १ को विवाद छ ।

दुवैले वडाको प्रतिष्ठा रंगशालासंग दाँजेर गतिविधि गरिरहेका छन् । उनीहरुलाई पनि यहाँ लगानी गर्दा के हुन्छ केहि पनि थाहा छैन । तर यसैलाई वडाको प्रतिष्ठा बनाएर वडा नम्बर १ को भवन बन्दा नै वडा नम्बर ४ संग विवाद चर्किएको थियो । अर्को यहाँ वनको विषय पनि पेचिलो छ । रंगशालाले वनको जगा अतिक्रमण गरेको भन्ने खबरले डिभिजन वनले पनि बेलाबखत ध्यानाकर्षण गराउने गर्दछ । त्यसकारण पनि बुद्ध रंगशालामा करोडौँ लगानी बढाउन जोखिम रहेको छ ।

बुद्ध रङ्गशालाको यो स्थिति हुँदा पनि नेताहरूले भने मायादेवी रंगशालामा बजेट बढाउन चाहाँदैनन् । यसको पछाडी खास कारण छन् । बुद्ध रंगशालाभन्दा माथि रहेर मायादेवी रङ्गशाला अघि बढ्यो भने चार नम्बर क्षेत्र ओझेलमा पर्ने र रंगशालाले पुल पारी आकर्षण तान्ने भनेर पनि केही जनप्रतिनिधि, क्लव र चार नम्बर क्षेत्रका युवाहरुले दबाब बढाएको वडा सदस्य विश्वास जिसी बताउँछन् । जिसी भन्छन्, ‘त्यसैकारण सांसद, मेयर पनि चेपुवामा छन् । यसरी नगरस विकास हुँदैन । पुलवारी र पारी जहाँ मैदान बने पनि नगरकै परिचय बढ्ने हो । जहाँ राम्रो सम्भावना छ त्यहाँ लगानी बढाउने हो, लघुताभासमा रहनू विकास विरोधी काम हो जस्तो लाग्दछ मलाई ।’

बुद्ध रंगशालालाई खेल मैदानकै रुपमा अघि लैजाने हो भने त्यहाँ मेला महोत्सव बन्द गर्ने र विजुलीको हाइटेन्सन तार सार्नुपर्ने राष्टिय रेफ्री विष्णु पौडेलको भनाई छ । उनी भन्छन् ‘मैदान ठिक छ तर विजुलीको हाइटेन्सन तारले बारबार समस्यामा पारेको छ ।’ पौडेल कपिलवस्तुमा अधिक खेल खेलाउन रेफ्रीमा पर्दछन् । उनलाई यस मैदानको बारेमा धेरै थाहा छ ।

बुद्ध रंगशालामा मेला महोत्सव भइरहने भएकाले त्यहाँ मेला महोत्सवको स्थायी संरचना बनाएर अघि बढ्नु पर्ने र मायादेवी रंगशालालाई मुलुककै नमुना रङ्गशाला बनाउने रणनीतिले काम गर्दा उपयुक्त हुने स्थानीय जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्