आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा : स्वास्थ्य बिमाको शुभारम्भ


१६ भाद्र २०८१, आईतवार १०:३३ मा प्रकाशित

भदौ १६ गते । शिवराज नगरपालिकाद्वारा सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा स्वास्थ्य बिमाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । नगर प्रमुख अजय थापाले स्वास्थ्य बिमा सेवाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । सेवा शुभारम्भ गर्दै नगर प्रमुख थापाले स्वास्थ्य बिमाको सेवालाई झन्झटरहित र सहज बनाउँदै स्थानीयस्तरमा नै गुणस्तरीय सेवा प्रदान गरिने बताए ।

उनले नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको महत्व र फाइदाबारे जानकारी गराउँदै यो पहललाई नगरको समग्र स्वास्थ्य सुधारको महत्वपूर्ण कदम सुरु भएको बताउदै नगर बासीको स्वास्थ्यका सवालमा पालिका गम्भीर भएर लागेको बताए । उनले उपचारका लागि बुटवल जानू पर्ने बाध्यता हटेको समेत बताए ।

उनले भने, ‘यस कार्यक्रमको माध्यमबाट नगरका नागरिकहरूलाई आवश्यक स्वास्थ्य सेवामा पहुँच पुर्याउनेछ र स्वास्थ्य समस्याबाट जोगाउने उद्देश्य रहेको छ ।’

कार्यक्रमका अध्यक्ष तथा शिवराज नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नेत्र बेल्बासेले स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई उजागर गर्दै नगरवासीलाई यस कार्यक्रमको पूर्ण फाइदा उठाउन आग्रह गरे । उनले भने, “स्वास्थ्य बीमा कार्यक्रमले नगरवासीलाई स्वास्थ्य सेवामा अधिक पहुँच र सुरक्षित जीवन जीउनका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने छ।”

वडाध्यक्ष बेल्बासेले यो कार्यक्रमले नगरको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै, सबै नागरिकलाई स्वास्थ्य सेवामा सुरक्षित र समृद्ध भविष्यको लागि सक्रिय सहभागी बन्न पनि अनुरोध गरे ।

स्वास्थ्य बीमा कार्यक्रमले नगरवासीलाई स्वास्थ्य सेवामा विशेष सुविधा प्रदान गर्ने मात्र होइन, समग्र स्वास्थ्य व्यवस्थामा सुधार ल्याउने दृष्टीकोण राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्