कपिलवस्तु, १ जेठ ।
कपिलवस्तुमा जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी मुद्दालाई जग्गा विवाद देखाएर मिलापत्र गराएको आरोपमा प्रहरीले एक पूर्ववडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यशोधरा गाउँपालिका–५ का पूर्ववडाध्यक्ष लइस पठान, मिलापत्रको कागज लेख्ने लेखनदास रामवृक्ष कोहार, आरोपितका बुवा मोहम्मद सफिक पठान र पीडित महिलाकी आमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार यशोधरा गाउँपालिका–५ निवासी ३३ वर्षीया महिलामाथि गत वैशाख २१ गते जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले दुई दिनपछि प्रहरीमा उजुरी दर्ता गराएको थियो । उजुरी दर्तापछि प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउँदै आरोपितविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो ।
तर, कानुनी कारबाही छल्न घटनालाई अर्कै स्वरूप दिँदै जग्गासम्बन्धी विवादका नाममा मिलापत्र गराइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडित महिलाकी आमा र आरोपितका बुवा मोहम्मद सफिक पठानबीच जग्गा विवाद सल्ट्याउने बहानामा आपसी सहमतिको कागज बनाइएको थियो । सो प्रक्रियामा पूर्ववडाध्यक्ष पठानले मुख्य रूपमा मिलापत्रको वातावरण मिलाउने तथा सहमति पत्रमा हस्ताक्षर गराउने भूमिका खेलेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको मुद्दा कानुनी रूपमा मिलापत्र गर्न नमिल्ने र यसलाई दबाउने वा मिलाउने प्रयास नै गैरकानुनी हुने स्पष्ट व्यवस्था रहेकाले यस घटनामाथि गम्भीर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।
घटना लुकाउन मिलापत्र भइरहेको सूचना पहिल्यै प्राप्त गरेपछि प्रहरीले उक्त समूहमाथि निगरानी राखिरहेको थियो । मिलापत्रको कागज तयार गरेपछि पीडितकी आमा र मोहम्मद सफिक पठान पूर्ववडाध्यक्षसहित जिल्ला प्रहरी कार्यालय पुगेर “मुद्दा फिर्ता पाउँ” भनी निवेदन दिएका थिए ।
गम्भीर र संवेदनशील मुद्दामा गैरकानुनी रूपमा मिलापत्र गराउने प्रयास भएको ठहर गर्दै प्रहरीले उनीहरू चारै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

