अदालतलाई टेर्दैनन् कपिलवस्तुका स्थानीय सरकार, अपनत्व समेत लिन पनि चाहदैनन् !

छाडा चौपाया ब्यवस्थापनको नाममा खर्च मात्रै


२६ भाद्र २०८१, बुधबार १४:१४ मा प्रकाशित

भदौ २६ गते । कपिलवस्तुका दशवटै स्थानीय तहले अदालतको आदेशको बर्खिलाप गर्दै अदालतकै अपहेलना गरेको पाइएको छ । गत साउनमा जिल्ला अदालत कपिलवस्तुले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न १० वटै स्थानीय तहलाई निर्देशन दिएको थियो ।

अदालतले छाडा पशु चौपायाको उचित व्यवस्थान गरी राजमार्गलाई निर्वाध रुपमा सञ्चालनको व्यवस्था मिलाउन आदेश दिएको थियो । छाडा चौपायाको नियन्त्रणका लागि पालिकाहरूलाई अदालतले पहिलो पटक यस्तो आदेश गरेको हो । छाडा चौपाया व्यवस्थापनका लागि एक महिना अघि आदेश गरेको कपिलवस्तु अदालतले छाडा चौपाया व्यवस्थापनमा गरेको प्रगति विवरण बुझाउन कपिलवस्तुका १० वटै पालिकालाई अर्को आदेश समेत गरेको थियो । आदेशको कार्यान्वयन नभएको भन्दै चौतर्फी कुरा उठेपछि अदालतले यस अघि (साउन) दिइएको निर्देशन अनुसार के कस्ता काम सम्पन्न भएका छन् ? त्यसको जवाफ लेखी पठाउन आदेश गरेको थियो ।

तर जिल्लाका स्थानीय तहले उक्त अदालतको आदेशको बर्खिलाप गर्दै उल्टै अदालतको अपहेलना गरेको पाइएको हो । कुनैपनि स्थानीय तहले आफुले गरेका प्रगतिको बारेमा अदालत समक्ष कुनै बिबरण पेश समेत नगर्नु नै अदालतको अपहेलना बुझ्न सकिने कानुनविद्को भनाइ छ ।

२०८० साउन ४ गते मध्यरातमा बसले ठक्कर दिँदा बुद्धभुमी नगरपालिका २ पानी पोखरीमा १० वटा गाईगोरु मरेपछि चालक दाङ तुलसीपुर उप महानगरपालिका ३ का भुप बहादुर विक विरुद्ध प्रहरीले पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । सोही मुद्दाको फैसलाका क्रममा चालक विकलाई ३ लाख धरौटी लिई तारेखमा छाड्ने अदालतले आदेश दिँदै छाडा चौपायाको नियन्त्रण गर्न १० वटै पालिकालाई निर्देशन दिएको थियोे ।

तत्कालिन जिल्ला न्यायधिश तेज नारायण पौडेलको एकल ईजलासले सो आदेश गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७७ को दफा ११ (२) ञ अनुसार छाडा चौपायाको नियन्त्रण गर्ने जिम्मा पालिकाहरूको रहेकाले पालिकाहरूले आफ्नो कर्तव्य निर्वाह नगरी छाडा गाईवस्तुहरूलाई राजमार्गका छाडी दुर्घटनाको स्थिति उत्पन्न भएको देखिएको आदेशमा उल्लेख रहेको छ । स्थानीय तहले आफनो क्षेत्रभित्रका राजमार्गहरूमा कानुनले निर्धारण गरेको कार्य सम्पादन गरी राजमार्गलाई खुला रुपमा आवागमनको व्यवस्था मिलाउन भनी निर्देशन दिईएको अदालत प्रशासनले जनाएको छ ।

जिल्ला सरकारी वकील कार्यालयमार्फत जिल्लाका पालिकाहरूलाई छाडा चौपायाको नियन्त्रण गर्न निर्देशन सहितको आदेश भएको हो । सो आदेश अनुसार कार्य सम्पादन नभएमा कानुन बमोजिम कारबाही हुने पनि आदेशमा उल्लेख गरिएको छ ।
आदेश पालना नभएको खण्डमा अब पालिकाका जनप्रतिनिधिहरूलाई कसैले पनि अदालतमा मानाहानीको मुद्दा समेत दायर गर्न सक्ने बाटो खुला नै छ । गत असोज ९ गते तत्कालित जिल्ला न्यायधिश रामानन्द प्रसाद अधिकारीले छाडा चौपाया व्यवस्थापनमा पालिकाहरूले हाल सम्म के कस्ता काम सम्पन्न गरेको छन् ? त्यसको जवाफ यथाशीघ्र पठाउन निर्देशन दिएका थिए ।

यता, जिल्लाका सबै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौती बनेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन् । जसले बालीनाली मात्र नाश गरेका छैनन्, पशु चौपायाकै कारण सडक यात्रा जोखिमपूर्ण बनेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का कृषक जनार्दन यादवका अनुसार खेतमा लगाइएको धानबाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । आफ्नो खेतबारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाले खेतमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल हुने गरेको उनको दुखेसो छ ।

ट्राफिक प्रहरीले समेत सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको दाबी गर्दछ । जिल्लाका बाणगंगा, शिवराज, महाराजगंज, शुद्धोधन लगायतका स्थानीय तहले अल्पकालिन छाडा चौपाया ब्यवस्थापन गरेको दाबी गर्दै आएका छन् । यद्यपि, जिल्लामा खुला सिमाना र उपभोगहिन भएपछि छाडाचौपाया यत्रतत्र छाड्ने प्रवृत्तिका कारण समस्या ज्यूँका त्यूँ देखिएको छ । अहिले यहाँको दक्षिणी सीमाका पालिकामा छाडाचौपायाले दैनिकी प्रभावित बनाएका छन् ।

लुम्बिनी-तौलिहवा सडक खण्डको लवनी, पकडी, बर्रोहिया र दोहनी चोकमा छाडा चौपाया सडकमै बस्दा हिँडडुलमै समस्या हुने गरेको छ । सदरमुकामको बजार क्षेत्र जमुवार, जिल्ला प्रशासन, नयाटोल, गौढी चौक, आनन्दबाग र भिक्षु चोकका सडकमा पनि हुलकाहुल छाडा चौपाया सडकभरि छरिएर बस्ने गरेका छन् । जताततै गोबरै गोबरले सडक फोहर बनेको छ । साना सवारीसाधनलाई आउजाउ गर्न उस्तै गाह्रो छ । ‘चौपाया उस्तै अटेरी छन् । हर्न लगाउदा पनि उठ्दैनन्,’ मिनि बसचालक श्याम चौधरीले भने, ‘सहचालक गएर बाटोबाट उठाएर धपाउनु पर्छ ।’

छाडाचौपायाले सदरमुकाम तौलिहवाका सडक, चोक, गल्ली र हाटबजार छाडा चौपायाले निकै समस्या थपेका छन् । राति परेपछि धानबाली खान खेतमा जान खोज्छन् । कृषकले धपाउदै सहर, नदी चौरतिर पठाउछन् । एक त साँघुरो बाटो त्यसमाथि सडकमै राखिएका ठेला पसलले सास्ती भोगेका सर्वसाधारणलाई हिँडडुल गर्न छाडा चौपायाले समस्या थपेका छन् । बाटोमा चौपाया जुध्ने, बिक्रीकालागि राखिएको फलफुल र तरकारी खाइदिने समस्याले तौलिहवाका ब्यवसायी हैरानी परेका छन् । ‘एकछिन आखा चिम्ल्यो कि गाईगोरुले तरकारी खाई दिन्छन्,’ गौढी चोकका एक ब्यापारीले भने,‘ गोबरले बजारमा दुर्गन्ध बढ्दै गएको छ ।’

समस्या बजार हँदै गाउँसम्म बढ्दै गएको छ । कपिलवस्तु नगरपालिकासहित शुद्धोधन, मायादेवी र यशोधरा गाउपालिका तथा महाराजगन्ज, बुद्धभूमि र कृष्णनगर नगरपालिकामा यो समस्या बढ्दो छ ।

र यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्