भारत केरलाको कोची र बाणगङ्गा नगरपालिकाबीच महत्वपूर्ण शिष्टाचार भेट 


पालिका पत्र

५ आश्विन २०८१, शनिबार १९:३४ मा प्रकाशित

कपिलवस्तु, ०५ असोज । नेपालको बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्याल र भारतको केरला राज्यको कोची नगरपालिकाका मेयर एम अनिल कुमार बीच शुक्रबार महत्वपूर्ण शिष्टाचार भेटघाट सम्पन्न भएको छ। कोची नगरपालिकाको कार्यालयमा सम्पन्न यस भेटमा दुबै मेयरले दुई देशका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे गहन छलफल गरे।

कोची नगरपालिकाका मेयर अनिल कुमारले बाणगङ्गा नगरपालिकाका मेयर अर्याल र टोलीका अन्य सदस्यहरूको स्वागत गर्दै, केरला राज्यका सामाजिक उत्तरदायित्वका परियोजना, उद्यमशीलता, रोजगारीका अवसरहरू, र फोहोर व्यवस्थापन प्रणालीको बारेमा जानकारी गराए। उनले विशेष गरी गरिब तथा विपन्न वर्गका परिवारलाई लक्षित गर्दै संचालित सहयोगका कार्यक्रमहरूमा जोड दिए।

मेयर चक्रपाणि अर्यालले न्यानो स्वागतका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र भारतबीचको ऐतिहासिक तथा घनिष्ट सम्बन्धको महत्त्वलाई उल्लेख गरे। उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतीय कम्युनिस्ट पार्टीका महासचिव सिताराम याचुरीको योगदानको चर्चा गर्दै, उनको निधनप्रति गहिरो दुःख व्यक्त गरे। साथै, चन्द्रशेखरको योगदानको समेत स्मरण गरे।

भेटका क्रममा, मेयर अर्यालले लुम्बिनी र प्राचीन कपिलवस्तुको भ्रमणको निम्तो दिए। साथै, नेपालका सुन्दर धार्मिक पर्यटन स्थलहरूको बारेमा पनि जानकारी गराउँदै दुई नगरपालिकाबीच आगामी दिनमा आपसी समन्वय र सहयोगका लागि उत्साहित रहेको बताए।

यस शिष्टाचार भेटले दुई नगरपालिकाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। भेटमा कोची नगरपालिकाका उपमेयर केए अन्सिया, मेयरको सचिवालयका सदस्यहरू, इन्जिनियर, र राजस्व विभाग प्रमुखको उपस्थिति रहेको थियो भने बाणगङ्गा नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, योजना प्रमुख शान्ताराज आचार्य, वडा अध्यक्षहरू सन्जु कुमार सारु र छविरेश्मी मगर, सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सुर्य कुमारी शाही लगायतका व्यक्तिहरू सहभागी थिए। सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा विभिन्न क्षेत्रका २८ जना भ्रमणमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्